मकवानपुर । नागरिकता पहिचान व्यक्तिको जन्मसिद्ध अधिकार हो । तर ६ दशक उमेर नाघ्दै गर्दासमेत सुन्तलीमायाको आफ्नो पहिचान बनेन् । अर्थात उनले आफ्नो देशको नागरिक हुँ भन्ने आधार पाइनन् । उनले जीवनको ६४ औं वसन्त पार गर्दैगर्दा पनि नागरिकता पाइनन्, अर्थात उनको राष्ट्रिय पहिचान बनेन । यति मात्रै हैन उनले राज्यबाट प्राप्त हुने सुविधामा समेत प्राप्त गर्न सकिनन् ।
मकवानपुर राक्सिराङमा २०१८ सालमा जन्मिएकी सुन्तलीमाया नगरकोटीको ६४ वर्ष पार गर्दैगर्दा नागरिकता प्राप्त गर्ने रहर पूरा भएको छ । नागरिकताको खाँचो त पथ्र्यो तर उनले चासो खास दिइनन् । आमा बुवा र श्रीमान् गुमाइसेकी नगरकोटीलाई नागरिकता बनाइदिने कोही भएनन् । १० वर्ष अघिदेखि एकल महिलाको रुपमा जीवनयापन गर्दै आएकी उनले सरकारले प्रदान गर्ने समाजिक सुरक्षा भत्तासमेत पाइनन् ।
राक्सिराङ गाउँपालिका–४ घोरकोटेकी ५० वर्षकी सुन्तलीमाया परियारको परिस्थिति पनि उस्तै छ । उन पनि नेपालको भूमिमा पसिना बगाउँछिन् तर नेपाली हुँ भन्ने पहिचान नागरिकता थिएन । उनका श्रीमान्को दुईवर्ष अघि मृत्यु भयो । ८ सन्तानकी आमा सुन्तलीमायाको नागरिकता नहुँदा उनले राज्यबाट प्राप्त हुने एकल महिलाले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता लिन पाएकी थिइनन् । सामाजिक सुरक्षा भक्तासँगै उनले आजसम्म कुनै पनि निर्वाचनमा मतदान गर्न पाएकी छैनन् ।
सुन्तलीमायाकै जस्तै अवस्था हो राक्सिराङ–९ लैबाङकी ६५ वर्षीया सुकुमाया प्रजाको पनि । नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर धाइन् तर कागजात नपुगेको कारण प्राप्त गर्न सकिनन् । सुकुमाया र सुन्तलीमायाहरु जस्ताले घरदैलोमै नागरिकता पाएपछि हर्षको स्वास लिए ।
यसै साता जिल्लाको राक्सिराङ गाउँपालिका खैराङमा पुगेको सरकारी टोलीले एकैदिन नागरिकताविहीन स्थानीय ३० जनालाई नागरिकता प्रदान ग¥यो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको समन्वयमा सुन्तलीमायाको घर पुगेका राष्ट्रिय पञ्जिकरण विभागका अधिकारीहरू र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले उनीहरुलाई नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता नहुँदा राज्यको नागरिक हुँ जस्तो पनि लाग्थेन सुकुमायाले भनिन्, ‘नागरिकता नहुँदा कति समस्या भोग्यो । सरकारले भत्ता दिन्थो रे, त्यो पनि लिन पाएन, यही नागरिकताको लागि कति पटक हेटौँडा धाइयो । त्योबेला कहिलो के पुगेन, कहिला के । आज धेरै खुसी छु ।’
श्रीमान्का नाममा छोराछोरीको जन्मदर्ता भए पनि आफ्नो नागरिकता बनाउन नसक्दा उनी सधैँ चिन्तामा थिइन् । तर अब भने ढुक्क भएको उनी बताउँछिन् । स्थानीय तहको समन्वयमा उनको हातमा पहिलो पटक नागरिकता प¥यो । आफ्नै फोटो टाँसिएको नयाँ नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन्, ‘नागरिकता नभएको कुरा वडाअध्यक्ष सरलाई भनेको थिएँ । उहाँले हामी मिलाउँदै छौँ भन्नुभएको थियो । अहिलेसम्म मेरो नागरिकता नभएर छोराछोरीको पनि नागरिकता बनाउन पाएको थिएन । मेरो बनेपछि मात्रै छोराछोरीको बन्छ भन्नुभएको थियो ।’
विभिन्न कारणले नागरिताबाट वञ्चित भएका नागरिकहरूलाई आफ्नो अधिकार सुनिश्चित गराउने उद्देश्यसहित पञ्जिकरण विभागका अधिकारीसहित आफू घरदैलोमै हिँडेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
राक्सिराङ गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयका अधिकारीसहितको टोली निरीक्षण गर्न आउँदा जेष्ठ नागरिक, अपांगता भएकालगायत नागरिकहरूले विभिन्न कारणले नागरिकता नपाएको भन्ने पुष्टि भएपछि टोली पुगेर वितरण गरिएको उनले बताए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार पालिकाभर ३० जनालाई नागरिकता र १ हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो । विभिन्न मितिमा जिल्ला प्रशासन पुगेर फारम भरेर आएका स्थानीयको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अधिकारीले खैराङमै पुगेर प्रिन्ट गर्दै वितरण गरिदिएका हुन् । गाउँपालिकाले स्थानीय सरकार, घर–घरमा सेवा कार्यक्रममार्फत् स्थानीयहरूको लागि यो सुविधा प्रदान गरेको हो ।
शिविरमा प्रधानमन्त्री रोजगार कार्यक्रम, महिला विकास कार्यक्रम, लघु उद्यम कार्यक्रम, एलोपेथिक स्वास्थ्य कार्यक्रम, बहुक्षेत्रीय पोषण योजना तेस्रो कार्यक्रम, आयुर्वेद स्वास्थ्य कार्यक्रम, पशु स्वास्थ्य र कृषि विकास कार्यक्रम सञ्चालन गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचिकरणको लागि निवेदन फारम भर्ने, वैदेशिक रोजगारसम्बन्धी परामर्श र एकीकृत रोजगार सेवासम्बन्धी जानकारीसमेत प्राप्त भएको स्थानीय शंकरलाल लामाले बताए ।
एलोपेथिक स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, ब्लड प्रेसर, क्षयरोग, परिवार नियोजन (इन्प्लान्ट राख्ने र झिक्ने) सहित सबै रोगहरूको विशेषज्ञ डाक्टरद्वारा परीक्षणसहित औषधि उपचार र सर्ने तथा नसर्ने रोगको परामर्श सेवा दिइएको थियो । शिविरमा पुगेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पहुँच नभएका र सदरमुकाममा नागरिकता बनाउन जान नसक्ने समुदायलाई सम्बोधन गर्नु राज्यको दायित्व भएको बताए ।
गाउँपालिका अध्यक्ष मल्लले नागरिकले सेवा लिन समय, श्रम र धन खर्च गरेर गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न टोलबस्ती र वडामा पुगेर सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिए । शिविरमा स्वास्थ्य शिविर, सामान्य सेवा लिन पालिका जानुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै टोलबस्ती र वडाबाट सेवा दिन अभियान सुरु गरिएको उनले बताए ।






