कालिकोट । कालिकोटका १७ जना र बाजुराका एक जना दैलेखका एकजना गरी १९ जना कोरोना संक्रमितलाई तिलागुफाबाट उपचारका लागि जिल्ला सदरमुकाम मान्मको एकीकृत्र भवनको आइसोलेशनमा राखिएको छ । जिल्ला सदरमुकामस्थित निर्माणाधिन एकीकृत भवनमा सुरक्षित राखेर उपचार गर्नका लागि उनीहरुको तिलागुफाबाट सदरमुकाम मान्म ल्याइएको प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।
उनका अनुसार जिल्ला सदरमुकामस्थित निर्माणाधिन एकीकृत भवनमा सुरक्षित राखेर उनीहरुको उपचार गर्ने तयारी गरिएको हो । शनिबार मात्र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गर्दा जिल्लाको शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाँउपालिकाका ५ जना र एक जना बाजुराका व्यक्तिमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । उनीहरु सबै तिलागुफा नगरपालिकास्थित सत्यदेवी माविमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएका थिए । उनीहरु सबै भारतबाट एउटै गाडीमा आएका थिए ।
कोरोना पुष्टि हुनेहरुमा कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै हाल तिलागुफा नगरपालिकाको सत्यादेवी माविमा क्वारेन्टाइनमा रहेका बाजुराको जगनाथ गाँउपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । जिल्लामा हालसम्म जम्मा १ हजार ४ सय ८ जनाको कोरोना संखास्पत मानिसहरुको स्वाब संकलन गरिएको छ ।
जिल्लाको ९ वटै स्थानिय तहबाट शनिबारसम्म कोरोना परिक्षणका लागि १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरिएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुुर महतका अनुसार स्वाब संकलन गरिएका मध्य ७ सय ३५ जनाको कोरोना शंखास्पत मानिसहरुको पिसिआर रिपोर्ट नेगेटिभ आईसकेको छ । सूचना अधिकारी महतका अनुसार १८ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकीको स्वाब परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । जिल्लामा हालसम्म भारतबाट आएका मात्र १ हजार ६ सय ९४ मानिसहरु क्वारेन्टाइनमा राखिएका छन् । करिब ४ सय जना बीचबाटोमा आई रहेका छन् । उनीहरु सबैको स्वाब संकलन गर्नका लागि भिटीमको अभाव छ । सूचना अधिकारी महतका अनुसार जिल्ला अस्पतालमा चार बेडको मात्र आइसोलेशन छ । प्राथमिक स्वास्थ्य केन्द् कुमालगाँउमा ५ बेडको छ । रास्कोट सामुदायीक अस्पतालमा ४ बेड र महाँवै गाउँपालिकामा २ बेड गरी १५ बेडको आइसोलेशन छ ।
जिल्ला सदरमुकामस्थित एकीकृत भवनमा ५० बेडको आइसोलेशन बनाउने तयारी छ । प्रदेश सरकारले एक करोड बजेट पनि उपलब्ध गराइ सकेको छ । यति बजेटले पुग्दैन । बजेट थप गर्नुपर्ने अवस्था छ । उक्त रकमबाट सामाग्री खरिदका लागि ठेक्का प्रक्रिया सुरुवात गर्ने तयारी छ । जिल्लामा भेन्टिलेशन र आइस्यूको सुविधा छैन ।






