काठमाडौं । दैलेखको नारायण नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधारका लागि ‘उत्थानशील स्वास्थ्य प्रणाली परियोजना’ शुभारम्भ गरिएको छ। आइपास नेपालको आर्थिक सहयोग, नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा परियोजना सञ्चालन हुने भएको हो ।
नगरप्रमुख लोमन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नमराज शाहीले परियोजनामार्फत जनचेतना अभिवृद्धि गर्दै सबै वडामा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले किशोर–किशोरी, महिला र सीमान्तकृत समुदायलाई सुरक्षित र भरपर्दो प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउनु परियोजनाको मुख्य उद्देश्य रहेको जानकारी दिए। उपप्रमुख तप्ता कुमारी खड्का थापाले परियोजनामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन्।
परियोजना नगरपालिकाका सबै वडामा लागू हुने भए पनि पहिलो चरणमा तीन वडामा केन्द्रित हुनेछ । स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रदायकको क्षमता विकास, लैङ्गिक समानता प्रवर्द्धन र जलवायुजन्य विपद्को समयमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य रहेको छ।
सन् २०३० सम्म सञ्चालन हुने परियोजना दैलेखका नारायण नगरपालिका, डुङ्गेश्वर र नौमुले गाउँपालिकामा कार्यान्वयन हुनेछ। कार्यक्रममा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।






