काठमाडौं । सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी कसुरमा चर्चित व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतको अनुमतिमा बिहीबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले जानकारी दिए । ब्युरोका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ को सिफारिसमा उनी पक्राउ परेको केसीले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छाले हिमालयन रिमार्फत गरेको धितोपत्रसम्बन्धी कसुरका विषयमा राजधानी दैनिकले निरन्तर समाचार प्रकाशन गरिरहेको छ ।
यस प्रकरणमा गोल्छाका अतिरिक्त अन्य ११ व्यवसायी र व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई पक्राउ गर्ने तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डको सिफारिस, नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत अनुसन्धानबाट सेयरलगायतका कारोबारमार्फत अपराध गरेको अभियोगमा सरकारले व्यवसायीहरूमाथि कडा निगरानी थालेको थियो । हिमालयन रि–इन्स्योरेन्स कम्पनीबाट सुरु आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले अभियोगबाट बच्न यसअघि अर्थमन्त्रीलाई समेत प्रभावमा परेका थिए ।
उनीहरूकै प्रभावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबार गरेकै आधारमा कसैमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा नचलाइने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । अर्थमन्त्री वाग्लेलाई समेत प्रभावमा पारेका व्यवसायीमाथि गम्भीर अनुसन्धान गर्ने अडानसहित अनुसन्धान प्रक्रिया अघि बढाउन निवर्तमान गृहमन्त्री सुधन गुरुङले सक्रियता देखाएका थिए । निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्समा सबैभन्दा बढी सेयर लगानी रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएपछि हिमालयन रिका अध्यक्ष शेखर गोल्छा र सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिइसकेका छन् ।
गुरुङलाई प्रभावमा पार्न नसकेका व्यवसायीले यसअघि अर्थमन्त्री वाग्लेलाई भेटेर आफूमाथि अनुसन्धान भए निजी क्षेत्रको लगानी धराशायी हुने, बै ंकहरूले निजी क्षेत्रमा गरेको लगानी डुब्नेलगायतका तथ्यांक देखाएर ‘व्लाकमेलिङ’ गरेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । शेखर गोल्छाले छाडेपछि अहिले हिमालयन रिको अध्यक्षमा अर्का लगानीकर्ता उदयकुमार निरौलालाई मनोनीत गरिएको छ भने सञ्चालकमा साहिल अग्रवालको स्थानमा दीपेन्द्रकुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई मनोनीत गरिएको छ ।
हिमालयन रि–इन्स्योरेन्सको झन्डै पौने तीन अर्ब रकम हिनामिना विषयमा नेपाल धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले गत ३ वैशाखमा बोर्डलाई प्रतिवेदन बुझाएको थियो । बोर्डले सो प्रतिवेदन कार्यान्वयन लागि प्रहरीलाई पठाएलगत्तै गोल्छा पक्राउ परेका हुन् ।
व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाहलगायतका व्यवसायीले सेयर कारोबारमा बदमासी गरेको भन्दै समितिले प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीसमक्ष पठाउन सिफारिस गरेको थियो । धितोपत्र बोर्डले गठन गरेको दीपेश ताम्राकार नेतृत्वको प्रारम्भिक जाँचबुझ समितिको २७ पृष्ठ लामो प्रतिवेदन र कार्यकारी निर्देशक रुपेश केसी नेतृत्वको समितिले तयार पारेको ६६ पृष्ठ लामो प्र तिवेदनले शेखर गोल्छासहितका १२ व्यवसायीमाथि गम्भीर अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको छ ।
राजधानी दैनिकलाई प्राप्त प्रतिवेदनमा धितोपत्रसम्बन्धी ऐनविपरीत सेयर कारोबार गरेको किटान छ । शेखर गोल्छा, राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता, सन्दीप चाचनलगायतको मिलेमतोमा कम्पनीको २ अर्ब ७३ करोड ३३ लाखभन्दा बढी रकम दीपक भट्टको नाममा सेयर खरिदमा प्रयोग भएको जाँचबुझ प्रतिवेदनमा समेत उल्लेख छ ।
नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीमा सेयर खरिद गर्दा हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, हिमालयन सेक्युरिटिज बैंकर (हिमालयन रि–इन्स्योरेन्सकै सहायक कम्पनी) को २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँ, एचएलआई (हिमालयन लाइफ इन्स्योरेन्स) लार्ज क्याप फन्डको २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
शेखर गोल्छा सञ्चालक समिति अध्यक्ष र रोहित गुप्ता सञ्चालक समिति सदस्य भएकै बेला हिमालयन रि–इन्स्योरेन्सको यति ठुलो रकम रकम हिनामिना भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिमा प्राधिकरणमा गरेको पत्राचारअनुसार हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ खर्च गरेर अर्का सेयरधनी दीपक भट्टको नाममा नेपाल रि–इन्स्युरेन्सलगायत कम्पनीको सेयर खरिद गरिएको छ ।
उच्च निगरानीमा शाह, मोर, गुप्ता
धितोपत्र कारोबार ऐनविपरीत सेयर कारोबार गरेको, अवैध सम्पत्ति वैध बनाउन संगठितरूपमा ठुलो रकमको कारोबार गरेकोलगायत प्रमाण भेटिएपछि प्रहरीले हिमालयन रिका मुख्य सेयरधनीसमेत रहेका बिचौलिया व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान, प्रहरी अनुसन्धान र धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका दुई प्रतिवेदनका आधारमा प्रहरीले अन्य ११ व्यवसायी र उद्योग सञ्चालकलाई पक्राउको तयारी गरिरहेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार गोल्छालगत्तै अब प्रहरी हिरासतमा रहेका सुलभ अग्रवालपत्नी शुभी अग्रवाल, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, क्रेस्ट माइक्रोलाइफ इन्स्युरेन्सका पूर्वअध्यक्ष ऋषिराज मोर, रमेश कर्पका सञ्चालक रोहित गुप्ता र भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचानलाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी छ ।
गुप्ताको रमेश कर्पअन्तर्गत बैंकिङ, सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत्, बैंकिङ, ई–कमर्स र इन्स्योरेन्स, रियल स्टेटदेखि खेलकुद र सूचना प्रविधिलगायत २० भन्दा बढी उद्योग र व्यापार सञ्चालनमा छन् । प्रहरीले हिमालयन रि–इन्स्युरेन्स, हिमालयन क्यापसर्व लिमिटेड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडका सञ्चालकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
कांग्रेसका कारण ७ संवैधानिक निकायका नियुक्ति अवरुद्ध
कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने
सूचनामा कठोर बन्दै सरकार
ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय
रास्वपाले टुंग्यायो संसदीय समितिको सभापतिका उम्मेदवार
मिनी संसदका १२ समितिले पाए नेतृत्व, विशेषाधिकार देखाएर सभामुखले गरे सदस्य हेरफेर
सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक






