काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको छ। सरकारद्वारा जारी निर्देशिका कार्यान्वयन गर्दै शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त वडालाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको हो।
पछिल्लो दुई वर्षदेखि वडा कार्यालय, नगरपालिका, बाल संरक्षण संस्था तथा राधा पौडेल फाउण्डेसनको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आएको थियो । अभियानअन्तर्गत महिनावारीसम्बन्धी विभेद तथा छुवाछुत अन्त्य गर्ने, घर, विद्यालय र समुदायमा खुला छलफल गर्ने, महिला तथा पुरुष दुवैलाई विषय’bout सचेत बनाउने, विद्यालय तथा कार्यालयलाई महिनावारीमैत्री बनाउने, साथै भित्ते लेखनमार्फत जनचेतना अभिवृद्धि गर्ने लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।
बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेका अनुसार यी प्रयासहरूको परिणामस्वरूप समुदायमा महिनावारीप्रति सकारात्मक सोच विकास भएको छ । जब्दीस्थित बाल क्लबकी शिवानी चौधरीले घर तथा समुदायमा महिनावारीका बेला कुनै प्रकारको विभेद नरहेको उल्लेख गर्दै महिनावारीलाई प्राकृतिक प्रक्रिया रूपमा स्वीकार गर्ने चेतना वृद्धि भएको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य नीतिमा भण्डारी कार्कीले महिनावारीलाई बार्ने प्रथाभन्दा सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिइन् । मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरले आफ्नो समुदायमा महिनावारीका कारण विभेद गर्ने चलन नरहेको बताउँदै यस्तो अभियानले सकारात्मक सन्देश फैलाएको उल्लेख गरिन् ।
यसैबीच, लालबन्दी नगरपालिका वडा नं. ३ जब्दीपछि वडा नं. ९ बस्तीपुर र वडा नं. १० चन्द्रपुरलाई पनि मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित वडा, नगरपालिका तथा विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा सचेतनामूलक अभियानलाई तीव्रता दिएको बताइएको छ ।
वडाध्यक्ष बुद्धदेव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
पालिकामा बजेट बढाउन तुरहाको माग
नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड
वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान






