सशस्त्रको ३७ हजार फौजको कमान्ड अब पौडेलले गर्ने


काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ वैशाखदेखि लागू हुने पौडेललाई सशस्त्र प्रहरीको १३ औं महानिरीक्षक नियुक्त गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम पौडेल आईजी नियुक्त भएका हुन् । सो नियममा ज्येष्ठता र कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता एवं तल्लो तहका कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्यका आधारमा आईजी नियुक्त गर्ने व्यवस्था छ ।

वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको महानिरीक्षकको चार बर्से कार्यकाल आगामी १८ वैशाखको राति १२ बजे सकिँदै छ । त्यसको भोलिपल्टदेखि ३७ हजार फौजको नेतृत्व पौडेलले गर्नेछन् ।
वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र १३औं महानिरीक्षकमा नियुक्त पौडेल एकसाथ प्रहरी सेवामा भर्ना भएका थिए । अर्याल र पौडेल मात्र होइन, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की पनि उनीहरुसँगै प्रहरी सेवामा भर्ना भएका थिए ।

यसरी एउटै ब्याचका तीन जना प्रहरी अधिकृतहरु प्रहरी संगठनको सर्वाेच्च पदमा पुगेको सम्भवतः यो नै पहिलो हो । तीन जनामध्ये अर्याल महानिरीक्षकको चार वर्षे पदावधिका कारण ३० बर्से सेवा अवधिभन्दा दुई वर्षअघि नै अवकाशमा जाँदा पौडेल भने अब दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्वमा रहनेछन् । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ । बीचमा ऐन आएको अवस्थामा उनको आईजीपीको कार्यकाल लम्बिने छ ।

अर्याल, पौडेल र कार्की २०५४ साल चैत १८ गते प्रहरी सेवामा भर्ना भएका थिए । अर्याल र पौडेलसहितका ५ जना अधिकृत भने ४ वैशाख २०५८ मा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । उनीहरु नेपाल प्रहरीको १११ औं टोलीका अधिकृत हुन् ।

नेपाल प्रहरीको १११औं टोलीका ५ जना सशस्त्र प्रहरीमा स्थानान्तरण भएकोमा अर्याल र पौडेल महानरीक्षक बन्न सफल भए भने वंशीराज दाहाल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । शम्भु सुवेदी गत २३ पुसमा नायव महानिरीक्षक (डीआईजी) बाटै अनिवार्य अवकाश गए भने एक जना बीचमै सेवाबाट अलग भएका थिए ।

अहिलेको बढुवामा पौडेल र अर्का एआईजी दाहाल पनि प्रतिस्पर्धामा थिए । तर, एआईजी बढुवा हुँदा पौडेल अगाडि भए । उनी ६ जेठ २०७९ मा एआईजी बढुवा भएका थिए भने दाहाल चाहिँ २८ असोज २०७९ मा नयाँ दरबन्दी ल्याएर एआईजी भएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसबेला सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप गरेको थियो । हाल सशस्त्रमा एआईजीको तीनवटा दरबन्दी रहेको छ । एआईजीको दरबन्दी थप नभएको भए दाहाल डीआईजीको चार जोड एक पदावधिका कारण २०८१ को माघमै अवकाशमा जाने थिए ।

दााहालभन्दा पौडेल डीआईजीमा पनि पहिला नै बढुवा भएका थिए । पौडेल १३ कात्तिक २०७५ मा १३ मा डीआईजी बढुवा भएका थिए भने दाहाल २२ माघ २०७६ मा बढुवा भएका थिए ।
डीआईजीमा १६ महिना र एआईजीमा ५ महिनापछि बढुवा भएका दाहालले आफू ‘जुनियर’ हुँदाहुँदै पनि आईजीपी बन्न ठूलै ‘चलखेल’ गरेका थिए ।

दाहालको एआईजीको चार बर्से कार्यकाल आगामी २७ असोजमा सकिँदै छ । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सरकारले चाहेको खण्डमा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा उनको एक वर्ष म्याद थप हुन सक्छ । तर उनको एक वर्ष म्याद थप हुने सम्भावना न्यून मात्र होइन, सशस्त्र प्रहरी ऐन आएको दिन नै उनले अवकाश पाउने छन्, किनकी प्रस्तावित सशस्त्र प्रहरी ऐनमा एआईजीको कार्यकाल पनि तीन वर्ष उल्लेख छ । सशस्त्र प्रहरी मुख्यालयले प्रस्तावित ऐनमा सशस्त्र प्रहरी महानिरीक्षकको तीन वर्ष र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्न सुझाव दिँदा दाहालले ‘चलखेल’ गरेर तीन वर्षमा झारेका थिए । यसको प्रमुख उद्धेश्य नै अहिले आईजीपीमा नियुक्त पौडेललाई एआईजीबाटै घर पठाएर आफ्नो लागि बाटो खुलाउने थियो ।

को हुन् पौडेल ?

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाका स्थायी बासिन्दा हुन् । हाल उनी काठमाडौंको टोखामा बसोबास गर्छन् । रेश्मीलाल पौडेल र नन्दकुमारी पौडेलको सन्तानका रुपमा उनी ९ मंसिर २०३० मा जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) गरेका छन् ।

पौडेलले नेपाल प्रहरीबाट करियर प्रारम्भ गरी सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरणपश्चात् विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन् । नेपाल प्रहरीमा रहँदा उनले रोल्पामा स्ट्राइकिङ टोली कमान्डरको रूपमा तत्कालीन संवेदनशील सुरक्षा अवस्थामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गरी आफू मातहत कर्मचारीलाई प्रोत्साहन प्रदान गरेका थिए । जसका कारण प्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरी पुरस्कृत गरेको थियो ।

यस्तै उनले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापाको प्रमुख भई शान्ति सुव्यवस्थालगायत सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेका थिए । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकको रूपमा जिम्मेवारी निर्वाह गरेका उनले जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरीक्षक हुँदा प्रभावकारी कार्यसम्पादन गरेका थिए । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रहँदा उनले सुरक्षा बेस तुलसीपुर दाङमा प्रमुख रही शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै, सशस्त्र प्रहरी उपरीक्षक दर्जामा सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबराही गण र बगलामुखी विशेष कार्यदल गणको गणपति भई सफल नेतृत्व प्रदान गरेका थिए । सशस्त्र प्रहरी उपरीक्षक रहँदा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनी (इन्ट)मा रही फिल्ड डिउटी तथा स्टाफिङ डिउटीमा उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भएपछि पौडेलले प्रधान कार्यालयमा प्रशासन विभाग, व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालय (इन्ट) मा रही नीतिगत तथा रणनीतिक योजनाहरू निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, ककनीको समादेशकको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली र सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनीमा सहायक बाहिनीपतिका रूपमा उनले उत्कृष्ट समन्वय र सहकार्य गरी उच्च व्यावसायिकता प्रदर्शन गरेका थिए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक रहँदा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग तथा मानवश्रोत विभागमा रही नीतिगत तथा रणनीतिक योजनाहरू निर्माणमा विशेष भूमिकामा रहेका उनले सशस्त्र प्रहरी नायब महानिरीक्षक रहँदा बाहिनीपतिको रूपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा सफल नेतृत्व प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा उनले मानवश्रोत, सीमा तथा कार्य विभागका विभागीय प्रमुखको रूपमा रणनीतिक तथा नीतिगत निर्माण र कार्यान्वयनमा अहम् भूमिका निर्वाह गरेका थिए ।
उनले आफ्नो उत्कृष्ट सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिण बाहु (चौथो), प्रदेश सेवा पदक, संयुक्त राष्ट्रसंघ पदक प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन सर्वोच्चको आदेश