पहिचानको खोजीमा आठपहरिया समुदाय : आदिवासी जनजातिमा सूचीकरणको माग

धनकुटा । पूर्वी पहाडको सुन्दर नगर धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले लामो समयदेखि आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग गर्दै आएको छ ।

२०५८ सालमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिमा सूचीकृत नगरेपछि आठपहरिया समुदायले सूचीकृतको पटक पटक माग राख्दै आएको छ । यतिबेला आठपहरिया
समुदाय सरकारलाई पुनः झकझक्याउन सडकमा उत्रिएको छ ।

आफ्नै भाषा, संस्कार र सांस्कृतिक परम्पराले भरिपूर्ण भए पनि राज्यको आधिकारिक आदिवासी जनजातिको सूचीमा समावेश हुन नसकेको पीडा उनीहरूले वर्षौंदेखि पोख्दै आएका छन् । यही असन्तुष्टि र अपेक्षाको मिश्रणसहित मंगलबार धनकुटाको बिही’bout हटियामा परम्परागत भेसभुसामा सजिएका सयौँ आठपहरियाहरू भेला भए । विभिन्न प्लेकार्ड र मौलिक पहिचान झल्काउने पोसाकसहित उनीहरू ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । उनीहरूले आठपहरियालाई आदिवासी जनजातिको रूपमा राज्यले मान्यता दिनुपर्ने माग राखेका थिए ।

¥यालीपछि समुदायका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री बालेन्द्र शाह समक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा आठपहरियाको आफ्नै भाषा, मौलिक संस्कृति, परम्परा र सामाजिक संरचना हुँदाहुँदै पनि राज्यले आफूहरुलाई अदृश्य बनाएको उल्लेख छ ।

यस्तै राणा शासनका बेला धनकुटामा मारिएका रामलिहाङ आठपहरिया र रिदामा आठपहरियालाई पहिलो सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गरेका थिए । राणा शासनका बेला शासकहरूले दसैँ मनाउन उर्दी जारी गरेपनि आफ्नो भिन्दै संस्कार र संस्कृति रहेको भन्दै दसैँ मनाउन नमानेपछि रामलिहाङ र रिदामालाई झुन्ड्याएर मारिएको इतिहास छ ।

किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार यो माग कुनै नयाँ होइन । २०५८ सालदेखि निरन्तररूपमा सरकारसमक्ष आवाज उठाउँदै आएको भएपनि कुनै सुनुवाइ नभएपछि अहिले बनेको करिब दुईतिहाइको सरकारले सुनुवाइ गर्छ कि भनेर ज्ञापन पत्र बुझाएको अष्टमानले बताए । उनका अनुसार पटक–पटकको निवेदन, संवाद र पहलका बाबजुद राज्यले चासो नदेकाले फेरि झकझक्याउन काम गरिएको हो ।

धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको आठपहरिया समुदायको करिब ६ हजारको हाराहारीमा जनसंख्या रहेको छ । आठपहरिया समुदायले आफ्नो छुट्टै पहिचान बोकेको दाबी उनीहरूको छ । उनीहरूको भाषा, जीवनशैली र सांस्कृतिक अभ्यास अन्य समुदायभन्दा फरक रहेको उनीहरूको भनाइ छ ।

आठपहरिया समुदायको पहिचान केवल नाममा सीमित छैन, उनीहरूको जीवनशैलीमा गहिरो रूपमा गाँसिएको छ । वर्षभरि मनाइने विभिन्न चाडपर्वले उनीहरूको सांस्कृतिक समृद्धि झल्काउँछ । कात्तिक वा मंसिर महिनामा मनाइने ‘वाडाङमेट’ चाड उनीहरूको मुख्य चाड हो । वाडाङमेट वर्षभरिमा परेको मृत्युशोक सामूहिक रूपमा उकास्नेसँगै पहिलो सन्तान जन्मेको अवसरमा सामूहिक रूपमा खुसीयाली मनाउने चाड हो ।

त्यसैगरी, चैत वा वैशाखमा ‘विसु’ र भदौ वा असोजमा ‘न्वागी’ चाड मनाउने परम्परा छ । विसु चाड बाली लगाउने बेला र बाली पाक्ने बेलामा न्वागी चाड मनाउने चलन रहेको छ ।
किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले अरू जातिभन्दा संस्कार र संस्कृति जोगाउन निकै संघर्ष गरिरहेको आठपहरिया जातिलाई राज्यले अपेक्षित संरक्षण र मान्यता नदिएको गुनासो गरे । उनले आदिवासी जनजातिको सूचीमा समावेश हुनु केवल नामको मान्यता नभई यसले विभिन्न संवैधानिक अधिकार, अवसर र संरक्षणसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । शिक्षा, रोजगारी, सांस्कृतिक संरक्षण र राज्यका विभिन्न कार्यक्रममा पहुँचका लागि यस्तो सूचीकरण महत्वपूर्ण मानिने उनको भनाइ छ । आदिवासी जनजातिमा सूचीकरण भएमा भाषा, संस्कृति र पहिचान जोगाउन सहज हुने आठपहरियाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

सन्देश बुढा मगरलाई शिवम् सिमेन्टको शैक्षिक सहयोग