काठमाडौं । अग्रज गायिका मिरा राणाले ‘मिरा क्यान्सर समाज’ स्थापना गरेकी छन् । काठमाडौंमा एक समारोहबिच गठित यस समाजको उपाध्यक्षमा सिद्धार्थ राणा, सचिवमा हेमा मानन्धर, सह सचिवमा नबिना शाक्य, कोषाध्यक्ष सुरक्षा सिजापति रहेका छन्। त्यस्तै समाजको सल्लाहकारमा गीतकार श्री पुरुष ढकाल, राजाराम पौडेल, मनोहर सुनामलगायत रहेका छन् ।
‘सेवा, सहयोग र सद्भावका साथ क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’ भन्ने नारासहित यो समाज गठन गरिएको हो । यस संस्थामार्फत क्यान्सर प्रभावितलाई सहयोग र हौसला प्रदान गर्ने उद्देश्य राखिएको राणाले बताएकी छिन् ।
करिब सात दशकको उमेर र ६ दशक लामो सांगीतिक यात्रापछि राणाले क्यान्सरसँग लाड्नु परेको थियो । सो अनुभव साझा गर्दै उपचारमा चिकित्सकको व्यवहार र परिवारको साथ अत्यन्त महत्त्वपूर्ण हुने उनले बताइन् । यो समाजको ’bout जानकारी दिने कार्यक्रममा बोल्दै मिराले विदेशमा उपचारका क्रममा चिकित्सकको सकारात्मक व्यवहारले आधा रोग निको भएको अनुभूति सुनाइन् । नेपालमा भने धेरै बिरामीले सहज वातावरण नपाउने गरेको उल्लेख गर्दै उनले चिकित्सकहरूलाई बिरामीप्रति मानवीय व्यवहार गर्न आग्रह गरिन् ।
समाजकी सचिव हेमा मानन्धरले क्यान्सरपछि पनि जीवन आशावादी बनाउन सहयोग गर्नु संस्थाको लक्ष्य हो भनिन् । कार्यक्रममा कलाकार, चिकित्सक तथा सामाजिक अभियन्ताहरूले संस्थालाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।






