सुरु भयो पानी ओताउने घर निर्माण
इलाम । इलाम नगरपालिका–५, भोर्लेनीका कृष्णबहादुर लिम्बुको घर ठड्याइदिन स्थानीयले श्रमदान गरिरहेका छन् । दिनहुँ ६० भन्दा बढी गाउँले कृष्णबहादुरको ‘छानो नचुहिने र बतासले नउडाउने’ घरको ‘सपना’ पूरा गरिदिन श्रमदानमा जुटेका हुन् ।
कृष्णबहादुर लिम्बु ५८ वर्ष पुगे । उनी अपांगता भएका व्यक्ति हुन् । उनको बोली प्रस्ट आउँदैन, तर चाहना भने आफ्नो परिवारका लागि पानी ओतिने घर बनाउने छ । उनको यही सपना र्पूरा गरिदिन स्थानीय जुटेका हुन् ।
कृष्णबहादुर श्रीमती र ९ वर्षकी कान्छी छोरीसँग भाटाको टाटीले ’boutको जीर्ण घरमा बस्दै आएका छन् । हावाहुरी चल्दा टाटी उडाउने हो कि भन्ने चिन्ता हुन्छ भने वर्षासँगै घरको छानोबाट पानी चुहिने समस्या त छँदै छ । हिउँदमा हुरी र बर्खामा झरी, जसले गर्दा उनीहरूको दिनरात घरकै छानो हेरेर बितेको छ । गाउँ घरमा जोसँग भेट हुँदा पनि सधैँ उनी घर बनाउनु छ भन्ने गर्छन् । तर अब उनको सपना पूरा हुने भएको छ । अहिले कृष्णबहादुरको घर बनाउन दिनहुँ ६० भन्दा बढी गाउँले भेला भइरहेका छन् । कोही झम्पल हान्दै छन्, कोही बेल्चा चलाउँदै छन्, कोही माटो सोहोर्दै छन् त कोही बाँस, काठ, गिटी, बालुवा र सिमेन्ट जम्मा गर्दैछन् ।
घर बनाउने सपना पूरा गर्न कृष्णबहादुरले आफ्नो इमानदारीलाई कहिल्यै बन्धक राखेनन् । गाउँमा बदनामी कमाएनन् । पैसाका लागि समाज बिर्सेनन् । आफ्नै पसिनामा बाँचे, कहिले आधा र कहिले पेटभरि खाए । स्थानीय युवक ठाकुर श्रेष्ठ भन्छन्, ‘आज कृष्णबहादुरको त्यही इमानदारीलाई गाउँलेले पूरा गरिदिँदै छन् ।’
दैनिक ज्याला मजदुरी गरेर जसोतसो जीवन निर्वाह गर्दै आएका कृष्णबहादुरले गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्ने जस्ता कामबाटै परिवार चलाउँदै आएका छन् । योसँगै उनले एउटा गाई, बाख्रा र सुँगुर पनि पालेका छन्, जसले परिवार चलाउन केही सहयोग पुगेको छ ।
कृष्णबहादुरका तीन सन्तान छन् । दुई छोरीमध्ये एकको विवाह भइसकेको छ भने छोरा आफन्तकोमा छन् । साथमा ९ वर्षकी कान्छी छोरी सँगै दैनिक संघर्ष गरिरहेका छन् । कान्छी छोरी कक्षा ६ मा पढ्दै छिन् । दैनिक जीविकोपार्जनका लागि कृष्णबहादुर गाउँघरमा जे काम पाइन्छ, त्यही गर्छन् । दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्ने जस्ता काम गरेर परिवार चलाउँदै आएका उनी कामप्रतिको लगनशीलता र मेहनतले गाउँघरमा सबैको प्यारो छन् । गाउँमा सबैको माया र सहयोग पाएका कारण उनको दैनिकी जेनतेन चलेको छ ।
यसरी सुरु भयो सपनाको घर
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू र नेकपा एमाले इलाम नगर कमिटी अध्यक्ष ठाकुर श्रेष्ठले कृष्णबहादुर बस्दै गरेको घरलाई भिडियो सामग्री बनाएर मिडियामा पोस्ट गरिदिए । यसैमा थपिए उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेल । त्यसपछि देश–विदेशबाट सहयोग जुट्न थाल्यो ।
कृष्णबहादुरको घर बनाउन एकै व्यक्तिले ५ सयदेखि ३५ हजार रुपैयाँसम्म दिए । कसैले गिटी, कसैले बालुवा, कसैले रड र आवश्यक अन्य सामग्री सहयोग गरे । कृष्णबहादुरको घर बनाउन करिब ४ लाख रुपैयाँ नगदै जम्मा भयो । ‘हुन त हामीले न यसरी सहयोग जुट्छ भन्ने सोचेका थियौँ, न उनको घर बनाउने हाम्रो आँट नै थियो,’ पत्रकार जबेगू भन्छन्, ‘यो कुनै योजनाबद्ध अभियान थिएन, छिमेकी भएकै नाताले पनि कृष्णबहादुरलाई सहयोग गर्न पाउँदा ज्यादै खुसी छौं । उठेको रकम कृष्णबहादुरकै खातामा छ ।’
सो रकमबाट घर बनाउने सामग्री किन्न र दक्ष मिस्त्री लगाउन खर्चिने योजना रहेको उनले बताए ।
सम्बन्धित समाचार
पहिचानको खोजीमा आठपहरिया समुदाय : आदिवासी जनजातिमा सूचीकरणको माग
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास






