काफल फालिएकी महिलालाई नगरपालिकाको क्षतिपूर्ति

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको नगर प्रहरीले सडक पेटीमा काफल बेच्दै गरेकी महिलाको डालो सडकमा पल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले सार्वजनिक रूपमा माफी माग्दै संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।

मंगलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापनका क्रममा नगर प्रहरीले काफल बेचिरहेकी धमिला चौलागाईंमाथि दुव्र्यवहार गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । भिडियोमा नगर प्रहरीको गाडीबाट ओर्लिएका प्रहरीले काफलको डालो सडकमा फालिदिएको दृश्य देखिएको थियो ।

घटनापछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले सूचना जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने बताएका छन् ।

नगर प्रमुख मोहनमाया ढकालले पीडित धमिला चौलागाईंलाई आफ्नो कार्यकक्षमा बोलाएर नगद क्षतिपूर्ति प्रदान गरेकी छन् । नगरपालिकाले चौलागाईंलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ भने जनप्रतिनिधि र कर्मचारीले करिब १ हजार ५ सय रुपैयाँ बराबरको काफल खरिद गरेर साथ दिएका छन् ।

नगर प्रमुख ढकालले घटना नियतवश नभएको दाबी गरिन् । उनले भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन नगर प्रहरीलाई थप संवेदनशील र जिम्मेवार बनाउन निर्देशन दिइएको पनि उल्लेख गरिन् । नगरपालिकाले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएपछि सामाजिक सञ्जालमा भइरहेको तीव्र आलोचना मत्थर हुनुका साथै नगरपालिकाको निर्णयको प्रंशसा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान