उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तलब माग्दै आन्दोलित

उदयपुर । गैडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा कार्यरत मजदुरहरु तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग लामो समयदेखि बन्द छ । उद्योग बन्द भएपछि कामबिहिन भएका मजदुर तलब, सञ्चयकोष, नागरिक लगानी कोष तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगको मुख्य गेटमा शुक्रबार बिहान धर्ना दिँदै पत्रकार सम्मेलन गरेर मजदुरले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापन समक्ष आग्रह गरेका हुन् ।

सम्पूर्ण मजदुर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण झाले उद्योगका मजदुरलाई १४ महिनादेखिको तलब–ज्याला उपलब्ध नगराइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । उनले भने, ‘४५ महिनादेखि कर्मचारीको तलबबाट कट्टा गरिएको सञ्चय कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन, ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम समेत रोकिएको छ । हामी काम गर्दै आन्दोलनमा होमिएका छौं ।’

संघर्ष समितिले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘उद्योगले तीन वर्षदेखिको बीमा प्रिमियम रकम पनि उपलब्ध नगराएको जानकारी दिएको छ । उद्योगबाट अवकाश प्राप्त कर्मचारी तथा मजदुर मध्ये ८ जनाको मृत्यु हुँदा पनि अवकाशबापत पाउनुपर्ने सेवा–सुविधा पाएका छैनन् ।’

२०७८ सालदेखि अनिवार्य अवकाशमा गएका १३९ जना कर्मचारी तथा मजदुरले हालसम्म अवकाशबापत पाउनुपर्ने सेवा–सुविधा नपाएको उल्लेख गरिएको छ । साथै, सुरक्षा गार्ड तथा दैनिक ज्यालादारीमा कार्यरत श्रमिकहरूको बाँकी तलब समेत भुक्तानी नभएको जनाइएको छ । कर्मचारी तथा मजदुरहरूले तालुक मन्त्रालयमा पुगेर पटक–पटक ध्यानाकर्षण गराइसके पनि समस्या समाधानका लागि विश्वसनीय वातावरण नबनेको गुनासो गरेका छन् । सम्बन्धित निकायबाट समस्या समाधानतर्फ कुनै ठोस पहल नभएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको संघर्ष समितिको भनाइ छ ।

संघर्षरत कर्मचारी तथा मजदुरहरूले १४ महिनाको तलब–ज्याला, सञ्चयकोष तथा नागरिक लगानी कोषमा कट्टा गरिएको रकम, बीमा प्रिमियम, अवकाश प्राप्त कर्मचारीहरूको सेवा–सुविधा तथा दैनिक ज्यालादारी र सुरक्षाकर्मीहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् । उदयपुर सिमेन्ट उद्योग गएको फागुनदेखि बन्द रहेको छ ।

उदयपुर सिमेन्ट उद्योगले गत बैशाख ११ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लेखेको पत्रअनुसार १ अर्ब ४ करोड २४ लाख १३ हजार २८२ रुपैयाँ ६१ पैसा कर्मचारीको भलब भत्ता तिर्न बाँकी रहेको देखिन्छ । अहिले त्यही रकम नपाएर उद्योगका मजदुरहरू आन्दोलित बनेका छन् ।

कार्यरत कर्मचारीहरूको (२०८१ चैतदेखि २०८२ चैतसम्मको तलब) बाँकी दायित्व ८ करोड ८० लाख ५३ हजार ६६ रुपैयाँ, कर्मचारीहरूको दाखिला गर्न बाँकी सञ्चयकोष रकम ९ करोड ५० लाख ९९ हजार १३४ रुपैयाँ, कर्मचारीहरूको दाखिला गर्न बाँकी नागरिक लगानी कोषको रकम ३ करोड ६९ लाख ६६ हजार २२२ रुपैयाँ, उद्योग सञ्चालन भएको अवस्थामा अतिरिक्त कार्यसमय लगाई सो बापतको अतिरिक्त कार्य समय भत्ता वापत बाँकी ७६ लाख ४ हजार ३०९ रुपैयाँ रहेको छ ।

त्यस्तै, कर्मचारीहरूको दाखिला गर्न बाँकी ३ वर्षको बीमा रकम ६ करोड ६० लाख ८१ हजार ७४५ रुपैयाँ ९० पैसा, २०८० र २०८१ को बिदा मुआब्जा वापत बाँकी रकम १ करोड १५ लाख ३ हजार ७६६ रुपैयाँ, २०८० र २०८१ को सट्टा बिदा वापत बाँकी रकम ८ करोड १७ लाख ५८८ रुपैयाँ, २०८२ साउनदेखि २०८२ चैतसम्मको महँगी भत्ता ५४ लाख रुपैयाँ तथा गोरखाली योद्धा सेक्युरिटी प्रालिलाई २०८१ चैतदेखि २०८२ चैतसम्मको १ करोड ७१ लाख ८६ हजार ३५७ रुपैयाँ ६० पैसा गरी ३२ करोड ८७ लाख १२ हजार १८८ रुपैयाँ ५० पैसा दायित्व रहेको छ ।

यता, अवकाशप्राप्त कर्मचारीहरूको दायित्व मात्र ७१ करोड ३७ लाख १ हजार ९४ रुपैयाँ ११ पैसा रहेको जनाइएको छ । अन्य दायित्व पनि भुक्तानी गर्न बाँकी रहेको उद्योगको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती