सुर्तीजन्य पदार्थ र मदिराको कर सिधै स्वास्थ्य बीमामा लगाउनुपर्ने

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ, मदिरा र चिनीयुक्त पदार्थबाट उठ्ने करलाई सिधै स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने गरी नीतिगत पुनर्संरचना गर्नुपर्नेमा सांसदहरु एकमत भएका छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आइतवार आयोजना गरेको आगामी बजेटमा सुर्ती, मदिरा तथा चिनीयुक्त पदार्थमा कर र अन्तःशुल्क विषयक कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एकमत राखेका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई धराशायी अवस्थाबाट बचाउन यो हेल्थ ट्याक्स मोडेल अपनाउन अपरिहार्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वस्वास्थ्यमन्त्री डा. तोसिमा कार्कीले बताइन् । ‘स्वास्थ्य बीमा कार्यक्रम अहिले धराशायी अवस्थामा छ । यसलाई बचाउन सुर्तीजन्य पदार्थ, मदिरा र अस्वस्थकर खाद्यान्नबाट उठ्ने करलाई सिधै बीमा कोषमा लगानी गर्ने मोडेल तयार पारिँदै गरेको र यसलाई परिणाममुखी बनाउन आºनो जोडबल रहने धारणा उनको रहेको छ ।

उनका अनुसार अर्थ मन्त्रालयसँगको छलफलमा यो प्रस्ताव सकारात्मक रूपमा अघि बढेको छ र आगामी बजेटमा यसलाई उच्च प्राथमिकता दिइने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले स्वास्थ्य कर जनसरोकारका विषय भएकाले सुर्ती, मदिरा तथा पेयपदार्थमा कर वृद्धि गर्दा समग्र अर्थतन्त्रलाई जनतालाई फाइदा हुने बताइन् ।

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ६० प्रतिशत मृत्युको कारण नसर्ने रोग र यसको कारक तत्वमा सुर्ती, मदिरा र पेय पदार्थ नै भएको स्पष्ट पारे । कार्यक्रममा एमालेका सांसद गुरु बराल, राप्रपाका सांसद भरत गिरीले स्वास्थ्यलाई नकारात्मक असर पार्ने तत्वमा कर वृद्धि गर्नैैपर्नेमा जोड दिए ।

कार्यक्रममा कर विज्ञ, अर्थशास्त्री र सांसदहरूले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा सुर्तीजन्य पदार्थ र मदिरामा कर उल्लेखनीय रूपमा बढाउनुपर्ने माग गरेका थिए । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा कम्तीमा ७५ प्रतिशत कर लगाउन सिफारिस गरेको छ । तर नेपालमा यो दर मात्र ४१ प्रतिशत छ जुन दक्षिण एसियाकै सबैभन्दा कम हो । श्रीलंका, बंगलादेश, भारत जस्ता देशको तुलनामा नेपाल निकै पछाडि छ ।

कर विज्ञ डा. रुप खड्काले हालको प्रतिशतमा आधारित कर प्रणालीले कर छली बढाएको बताए । उत्पादकले मूल्य कम देखाएर कर कम तिर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । उनले परिमाणमा आधारित निश्चित दर वा निश्चित दर र प्रतिशतको मिश्रित प्रणाली लागू गर्न सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले सुर्ती र मदिरामा लाग्ने करलाई रोगबाट जोगाउने सहयोगी करको रूपमा हेर्नुपर्ने बताए । यो करले समाजलाई रोगबाट बचाउँछ र राज्यको स्वास्थ्य उपचार खर्च घटाउँछ । राजस्वभन्दा जनस्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव