मुस्ताङ। मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन् ।
मे महिनामा मात्रै ६५ हजार ९९४ जना विदेशी पर्यटक यहाँ आउँदा तीमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ रहेका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
अघिल्लो वर्षको जनवरीदेखि मेसम्म ५५ हजार ७५३ जना विदेशी पर्यटक यहाँ भित्रिएकामा सन् २०२६ को सोही अवधिमा ८६ हजार ९८६ जना विदेशी पर्यटक भ्रमणमा आएको एक्यापले जनाएको छ ।
सन् २०२६ को पाँच महिनामा सार्कका ९१ प्रतिशत र अन्य राष्ट्रका नौ प्रतिशत पर्यटक मुस्ताङ आएका हुन् । सार्कतर्फ भित्रिएका पर्यटकको सङ्ख्यामध्ये करिब शतप्रतिशत भारतीय रहेको एक्याप प्रमुख गुप्ताले जानकारी दिए । मे महिनामा मात्रै सार्कतर्फ ९४ प्रतिशत र अन्यतर्फ छ प्रतिशत विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका उनले बताए ।
गर्मी बिदाको अवसर पारेर यहाँ आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शन गर्न जाने गरेको गुप्ताले जानकारी दिए । सन् २०२५ मा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
सम्बन्धित समाचार
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम






