जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना भाइरसबाट उत्पन्न भएको सो रोगलाई कोभिड–१९ भनिनेछ । ‘हामीसँग अब सो रोगको नाम छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले स्वीट्जरल्यान्डको जेनेभामा पत्रकारहरुलाई भने, ‘त्यो कोभिड–१९ हो ।’
संयोगवश चीनमा कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या एक हजार एक सय १६ पुगेको दिन डब्लुएचओले सो रोगको औपचारिक नामकरण भएको हो । यसैगरी ४५ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ५ हजार ३० जना कोरोना भाइरस संक्रमित भएर पनि संक्रमण मुक्त भएका छन् ।
डा.गेहब्रेयससले सो भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन् । कोरोना भाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न विषाणुको समूहलाई जनाउँछ । इन्टरनेशनल कमिटी अन ट्याक्सनमी अफ भाइरसेसले नयाँ भाइरसलाई सार्स कोभ–२ नामकरण गरेको छ ।
यसअघि कसैकसैले सो भाइरसलाई २०१९–एनकोभ भन्ने गरेका थिए । सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो संकट हो । यो संकट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य संगठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेको छ ।
अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर सो भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औंल्याएका थिए । ‘हामीले कुनै भौगोलिक स्थान, जीव, व्यक्ति वा समुदायलाई इंगित नगर्ने तर उच्चारण गर्न सकिने र रोगसँग पनि सम्बन्धित नाम जुराउनुपर्ने थियो,’ डा. गेहब्रेयससले भने ।
नयाँ नाम तीनवटा शब्द कोरोना, भाइरस र डिजीज (रोग) र साल २०१९ को संयोजनमा बनाइएको हो । विश्व स्वास्थ्य संगठनले ३१ डिसेम्बर, २०१९ मा सो कोरोना भाइरस फैलिएको औपचारिक सूचना पाएको थियो ।
चीनमा अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसमा कोभिड–१९ भएको पुष्टि भइसकेको छ । सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपछि चीनले हुबे प्रान्तका वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको थियो । विश्वभरीका वैज्ञानिकहरू यो रोगको प्रकोप नियन्त्रण गर्ने उपाय’bout छलफल गर्न जेनेभामा भेला भएका छन्