धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमबाट पछिल्लो तीन वर्षमा ९१७ जना विद्यार्थी लाभान्वित भएका छन् ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको तथ्याङ्कअनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या वर्षेनी वृद्धि हुँदै गएको देखिएको छ । सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८१ मा २७६, २०८२ मा २८३ र २०८३ मा ३५८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।
तीन वर्षको अवधिमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या ८२ ले बढेको छ । संकायगत रूपमा हेर्दा विज्ञान र व्यवस्थापन संकायमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या अत्यधिक रहेको छ ।
तीन वर्षमा विज्ञान संकायका ४७५ जना तथा व्यवस्थापन संकायका ३४३ जना विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका छन् । यी दुई संकायमा मात्र कुल छात्रवृत्ति प्राप्तकर्तामध्ये करिब ८९ प्रतिशत विद्यार्थी समेटिएका छन् ।
त्यस्तै, होटल म्यानेजमेन्ट संकायमा पनि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ । २०८१ मा ११ जना रहेको संख्या २०८३ मा २६ पुगेको छ । पर्यटन तथा आतिथ्य क्षेत्रप्रति बढ्दो आकर्षणका कारण यस संकायमा विद्यार्थीको रुचि बढ्दै गएको देखिन्छ ।
त्यसैगरी, कानून संकायमा तीन वर्षमा २७ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा संकायमा १७ जना र मानविकी संकायमा जम्मा ३ जना विद्यार्थी मात्र छात्रवृत्तिबाट लाभान्वित भएका छन् ।
धनगढी उपमहानगरपालिकाले विपन्न, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । छात्रवृत्ति वितरणको बढ्दो दायराले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन थप सहयोग पुगेको अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
एसइई २०८२ : उत्कृष्ट नतिजा ल्याउने धनगढीका २० विद्यालय सम्मानित
दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
शिक्षा सन्देश इङ्गलिस कलेजमा ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुने
सुन्दरहरैंचामा बाल सञ्जालद्वारा लागूऔषध दुर्व्यसनी चेतना
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
अमरगढी–७ मा सेवा प्रवाहको नयाँ अध्याय






