काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्गको खोकना–डुकुछाप खण्डका कारण प्रगति सुस्ताएको छ । काठमाडौंतर्फको प्रस्थान बिन्दु पर्ने खोकना डुकुछाप खण्डमा मुआब्जा विवाद तथा सुरु विन्दुकै विवादका कारण काम नै सुरु गर्न नसकिएपछि नेपाली सेनाले कार्यान्वयन जिम्मा लिएको गौरवको आयोजनाको प्रगति निराशाजनक भएको हो ।
काठमाडौं तराई जोड्ने फास्ट ट्र्याकका १३ मध्ये १२ प्याकेजमा काम भइरहे पनि तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन समस्या भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले जिम्मा लिएको निर्माण कार्यमा २०८२ चैत सम्ममा ४६ दशमलव ८८ प्रतिशत भौतिक प्रगति भएको छ । फास्ट ट्र्याकमा पर्ने झण्डै ११ किलोमिटर सुरुङ र ८५ वटा पुलको निर्माण कार्यले गति लिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।
काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजनाले आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म ४६ दशमलव ८८ प्रतिशत भौतिक र ४६ दशमलव ५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बस्नेतले जानकारी दिए ।
राष्ट्रिय गौरवको यस आयोजनाअन्तर्गत सुरुङ, पुल तथा सडक संरचना निर्माणका कामहरू तीव्रगतिमा अघि बढिरहेको भए पनि खोकना–डुकुछाप खण्डले नेपाली सेनालाई मात्र नभई नेपाल सरकारलाई नै टाउको दुखाइ बनाएको छ । सरकारले जग्गा अधिग्रहण समस्या समाधान गर्न नसक्दा निर्माण कार्यको जिम्मेवारी दिएको नेपाली सेना अन्योलमा छ भने अर्कातिर निर्माण लागत बढिरहेको छ ।
नेपाली सेनाले निर्माण व्यवस्थापन गरिरहेको ७२ दशमलव ५ किलोमिटर लामो यस दु्रतमार्ग आयोजना सम्पन्न भएपछि काठमाडौं र तराई–मधेशबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेपनि अहिलेसम्म ७७ अर्ब ९७ करोड खर्च भएको नेपाली सेनाले जनाएको छ ।
१३ प्याकेजमध्ये १२ कार्यान्वयनमा
आयोजनाको समग्र कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म १२ वटा प्याकेज निर्माणाधीन अवस्थामा छन् । प्याकेज नम्बर १ देखि १० तथा ८ क, ८ ख, ९ क र ९ ख अन्तर्गतका काम सञ्चालनमा रहेको नेपाली सेनाको निर्माण निर्देशनालयले जनाएको छ । खोकना क्षेत्रको जग्गा अधिग्रहण विवाद आयोजना सुरु भएदेखि नै प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ । सरकार फेरबदलसँगै खोकना–डुकुछापको विषयले हरेक पटक चर्चा पाउने गरेको भए पनि ठोस निकास ननिस्कँदा कार्यान्वयन जिम्मा लिएको नेपाली सेना समेत अलमलमा परेको छ । ‘मुआब्जा विवाद समाधान गर्ने काम सरकारको भएकाले निर्विवाद काम गर्ने वातावरण भएमा तत्काल काम सुरु गर्न नेपाली सेना तयार नै रहेको प्रवक्ता बस्नेतले बताए ।
सुरुङ निर्माणमा उल्लेखनीय उपलब्धि
काठमाडौं तराई दु्रतमार्गअन्तर्गत रहेका सातवटा सुरुङमार्ग तीव्रगतिमा निर्माण भइरहेको प्रवक्ता बस्नेतले बताए । निर्माणाधीन ७ वटा सुरुङमा गरी १० दशमलव ९७९ लम्बाइ रहेको छ । नेपाली सेनाले हालसम्म महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रवक्ता बस्नेतले बताए ।
सबैभन्दा लामो महादेवटार सुरुङमा दुवै ट्युबको खन्ने काम सम्पन्न भइसकेको प्रवक्ता बस्नेतले बताए । ‘बायाँ ट्युबमा ८३ प्रतिशत र दायाँ ट्युबमा ७२ प्रतिशत सेकेन्डरी लाइनिङको काम सम्पन्न भएको छ, सुरुङको बायाँ ट्युब ३ हजार ४८६ मिटर र दायाँ ट्युब ३ हजार ४२२ मिटर लम्बाइको छ,’ बस्नेतले भने ।
चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीर सुरुङहरूमा भने पोर्टल निर्माण तथा प्रारम्भिक उत्खनन कार्य जारी रहेको छ । विशेषगरी चन्द्रामभीर सुरुङमा बायाँतर्फ ३९८ मिटर र दायाँतर्फ ३२० मिटर उत्खनन सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
धमाधम बन्दै पुल
दु्रतमार्गमा अन्तर्राष्ट्रिय गुणस्तरका पुल धमाधम बनिरहेका छन् । फास्ट ट्र्याकमा निर्माण हुने ८९ मध्ये ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई निर्माण कार्य अघि बढिरहेको सैनिक प्रवक्ता बस्नेतले बताए । बस्नेतका अनुसार हालसम्म ५६ पुलको फाउन्डेसन, ३८ पुलको सब–स्ट्रक्चर तथा १६ पुलको सुपर–स्ट्रक्चर निर्माण सम्पन्न भएको छ । खोकना क्षेत्रमा ४ वटा पुल पर्ने भएकाले तिनीहरू सुरु नभएको नेपाली सेनाले जनाएको छ ।
सडक निर्माण अझै प्रारम्भिक चरणमै
सडक संरचनातर्फ ११ दशमलव ०२ किलोमिटर क्षेत्रमा सब–बेस निर्माण सम्पन्न भएको छ भने ५ दशमलव ५ किलोमिटर क्षेत्रमा बेस निर्माण गरिएको छ । मुख्य मार्गमा ० दशमलव २ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ भने सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
यससँगै विभिन्न स्थानमा स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट तथा विद्युतीकरणका लागि आवश्यक संरचना निर्माण भइरहेको छ । वन्यजन्तु आवतजावतलाई सुरक्षित बनाउन निजगढ क्षेत्रमा निर्माण गरिएको ‘एनिमल अन्डरपास’को सुपर–स्ट्रक्चर निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी द्रुतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य पनि जारी छ । यी संरचनाले भविष्यमा दु्रतमार्गको सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
८५ अर्बभन्दा बढी खर्च
आयोजनामा हालसम्म ८५ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ । यसमा जग्गा खरिदका लागि दिइएको १ अर्ब ६५ करोड रुपैयाँ पेस्की, निर्माण व्यवसायीलाई दिइएको ८२ करोड ३७ लाख रुपैयाँ पेस्की तथा नेपाल विद्युत् प्राधिकरणलाई दिइएको ९ करोड ८१ लाख रुपैयाँ अग्रिम रकम समेत समावेश रहेको नेपाली सेनाले जनाएको छ । साथै २ अर्ब ५७ करोड रुपैयाँ राजस्व दाखिला गरिएको रकम पनि खर्च विवरणमा समेटिएको छ ।
चुनौती र अपेक्षा
राष्ट्रिय गौरवको यस आयोजनाले पछिल्ला वर्षमा सुरुङ र पुल निर्माणमा उल्लेखनीय गति लिए पनि जग्गा अधिग्रहण, लागत वृद्धि तथा प्राविधिक जटिलता अझै चुनौतीका रूपमा रहेका छन् । विशेषगरी खोकना खण्डको विवाद समाधान हुन नसक्दा आयोजना पूर्णतामा पुग्ने समयरेखा प्रभावित हुन सक्ने देखिन्छ ।
यद्यपि सुरुङ निर्माणमा ब्रेकथ्रु भएका खण्डहरू, पुल निर्माणको बढ्दो प्रगति तथा निजगढ क्षेत्रमा देखिएको तीव्र निर्माण गतिविधिले आयोजना क्रमशः निर्णायक चरणतर्फ अघि बढिरहेको संकेत गरेको छ । देशकै सबैभन्दा महत्वाकांक्षी सडक पूर्वाधार आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग सम्पन्न भएपछि राजधानी र मधेशबीचको आर्थिक, औद्योगिक तथा व्यापारिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।
– द्रुतमार्गको खोकना–डुकुछाप खण्डबाहेकमा काम
– ११ किलोमिटर सुरुङ तयार
– ८५ पुल निर्माण प्रक्रियामा
– ८५ अर्ब १४ करोड रुपैयाँ खर्च
– ४६ दशमलव ८८ प्रतिशत भौतिक प्रगति
– अझै सुल्झिएन मुआब्जा विवाद
सम्बन्धित समाचार
‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’
आधा शताव्दीदेखि सीमित व्यापारीको कब्जामा सयौं रोपनी सरकारी जग्गा
अन्तर–सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्बभन्दा बढी रकम
सन नेपाल लाइफ डुबाउने गरी केयाल ग्रुपद्वारा सुपर मादी हाइड्रोको सेयर खरिद–बिक्री
सरकारको नयाँ करले उपभोक्ता र उद्योगमा महँगीको त्रास
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?






