अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ

राजविराज । कुनै बेला इनारै इनार र पोखरीले भरिभराउ गाउँको रूपमा परिचित सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिम्रहा गाउँ अहिले पोखरी र इनारविहीन गाउँको रूपमा परिणत हुन थालेको छ ।

यसको प्रमुख कारण बनेको छ, स्थानीय केही व्यक्तिद्वारा भइरहेको अतिक्रमण । गाउँलेका अनुसार यस गाउँमा सुरुमा ४२ वटा सार्वजनिक पोखरी र करिब दुई दर्जन इनार थिए । तर अतिक्रमणको चपेटामा पर्दै गएपछि पोखरी घटेर अहिले २०–२१ को संख्यामा पुगेको छ । यस्तै अवस्था इनारको पनि रहेको छ ।

अतिक्रमणमा परेर अहिले इनारको संख्या पनि एक दर्जनमा सीमित हुन पुगेको छ । स्थानीयवासी नवलकिशोर यादवका अनुसार पोखरी र इनार अतिक्रमण गरी मासिँदै गएपछि गाउँको सौन्दर्यीकरण पनि घट्दै गएको छ ।

पछिल्लो समय गाउँको ऐतिहासिक वीरबल पोखरी पनि अतिक्रमणको चपेटामा परेको स्थानीयवासी शत्रुघन ठाकुरले बताए । उनले सो पोखरीमा विगतमा गाउँलेहरू नुहाउने, पशु चौपायालाई पानी खुवाउने, आगलागीका बेला पानी निकाल्ने तथा छठ पर्वका बेला घाट बनाई पूजापाठलगायतका कार्य हुने गरेको थियो । तर अहिले पोखरीमा माटो भर्दै तथा पोखरी डिलमा केही स्थानीय व्यक्तिले कब्जा गरी घर निर्माण गर्दा ती सबै कार्य प्रभावित भएको छ ।

अर्का स्थानीयवासी सत्यनारायण बाबाले यसरी गाउँको सौन्दर्यता तथा मौलिकता नै लोप हुने गरी सार्वजनिक पोखरी र इनार अतिक्रमण गर्ने तथा मास्ने कार्य तीव्र बनेपछि केही जागरूक युवा विरोधमा उत्रेको बताए ।

उनले पछिल्लो पटक वीरबल पोखरीको डिलको जग्गा अतिक्रमण गर्ने किसन ठाकुर, पलट ठाकुर, विन्देश्वर ठाकुर र दिनेश ठाकुरलगायतका व्यक्तिउपर सप्तरी जिल्ला अदालतमा मुद्दा नै चलेको बताए ।

कतै कुनै सुनुवाइ नभएपछि आफूहरूले ती व्यक्तिउपर सार्वजनिक ऐलानी पोखरी डिल जग्गाको अतिक्रमण खिचौला मेटाई घर उठाई चलन मुद्दा चलाएको उनको भनाइ छ ।

उनले सार्वजनिक पोखरीमा माटो भर्ने र डिलमा रहेको जग्गामा भवन निर्माण गर्न थालेपछि विरोध गर्दा उल्टै ती व्यक्तिबाट दुव्र्यवहार र हातपात भएको सुनाए ।

स्थानीयवासीहरुका अनुसार ठाकुर परिवार र केही अन्य व्यक्तिले कित्ता नं. ४४९ भित्रको सो पोखरीको डिलको अधिकांश जग्गा कब्जा गरी पक्की भवन नै निर्माण गरिसकेका छन् । उनीहरूको देखासिकी केही थप व्यक्तिहरूले पनि बाकी रहेको जग्गा घेरवार गर्दै घर भवन निर्माण गर्ने तयारीमा जुटेको स्थानीयवासी जलेश्वर ठाकुरले बताए ।

स्थानीयका अनुसार अतिक्रमणकारीहरूले अदालतको आदेशविपरीत सार्वजनिक पोखरीको जग्गा मास्ने र अतिक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि अहिले अदालतको आदेशको अवज्ञा गरेको भन्दै अवहेलनाको अर्को मुद्दा पनि हालिएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्नेमा सरोकारवाला निकाय मौन बसिरहँदा अतिक्रमणकारीको मनोबल बढ्दै गएको भन्दै स्थानीयले अविलम्ब ऐतिहासिक पोखरीमा भएको कब्जा खिचौला मेटाई र घर उठाई गरी गाउँको मौलिकता जोगाउन र सार्वजनिक सम्पत्तिको रक्षा गरिनु पर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ