काठमाडौं । पछिल्लो समय काठमाडौंमा भएका चलचित्र अध्यापन सम्बन्धी कलेजहरूले आफ्ना विद्यार्थीहरूका लागि लक्षित गरेर नाटक घर सञ्चालन गर्दै आएका छन् । यस्ता नाटक घरमा व्यावसायिक रूपमा एकपछि अर्को नाटक मञ्चन हुँदै आएको छ । जसका कारण कलेजका यी नाटक घरसँगै काठमाडौं मा रहेका आधा दर्जन व्यावसायिक नाटक घरहरूबिच प्रतिस्पर्धा हुन थालेको छ ।
यसै क्रममा काठमाडौंको गैरीधारामा रहेको कान्तिपुर फिल्म एकेडेमीले व्यावसायिक नाटक मञ्चनसहित ‘कान्तिपुर थिएटर’ सञ्चालन गर्दै आएको छ । सो एकेडेमीले आफ्नो थिएटरमा विगत एक वर्षबाट नियमित नाटक मञ्चन गर्दै आएको हो । सो थिएटरमा दुई दिन अघि मात्र नाटक ‘महाभारत’ मञ्चन सम्पन्न भयो । अहिले त्यहाँ अर्को नयाँ नाटक ‘सेतो धर्ती’को तयारी हुँदै छ । यो नाटक यसै हप्ताबाट त्यहाँ मञ्चन हुँदै छ ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका अनुसार सो एकेडेमीले चलचित्र निर्माण, निर्देशन, छायांकन, सम्पादनसँगै अभिनयको सम्बन्धी नियमित प्रशिक्षण दिँदै आएको छ । त्यहाँ अभिनय सम्बन्धी प्रशिक्षण लिएका विद्यार्थीहरूलाई आफ्नो अभिनय प्रस्तुतिका लागि थिएटर आवश्यक पर्ने भएकाले ‘कान्तिपुर थिएटर’ सञ्चालनमा ल्याएको पुरीले बताए । उनका अनुसार एक वर्ष यता मञ्चन भएका आधा दर्जन नाटक सबैले मञ्चनको खर्च उठाउनुका साथै कलाकार प्राविधिकहरूलाई राम्रो पारिश्रमिक पनि दिन सघाएको छ ।
उता काठमाडौं को सुकेधारमा रहेको ओस्कार इन्टरनेशल कलेज अफ फिल्म स्टडिजले पनि विगत दुई वर्ष यताबाट नाटक घर सञ्चालन गर्दै आएको छ । ओस्कार कलेजको ‘साधना घर’ नाटक घरमा नयमित रूपमा नाटक तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको सो कलेजको प्रिन्सिपल रामराजा दाहालले बताए । प्रिन्सिपल दाहालको अनुसार ‘साधना घर’मा वर्षमा कम्तीमा आधा दर्जन नाटक मञ्चन हुँदै आएका छन् । ‘साधना घर’मा व्यावसायिक नाटक मञ्चन हुँदा विद्यार्थीहरूले आर्थिक आम्दानी पनि गर्ने र आफ्नो अभिनयमा निखार पनि ल्याउने भएकाले यो नाटक घर सञ्चालनले सार्थकता पाएको उनले बताए ।
यता काठमाडौं का पिंगलास्थानमा रहेको नेपाल फिल्म क्याम्पसले पनि हालैबाट नाटक घर सञ्चालन गर्दै छ । कान्तिपुर फिल्म एकेडेमी र ओस्कार कलेज अफ फिल्म एकेडेमीले व्यावसायिक रूपमा नियमित नाटक घर सञ्चालन गरेपछि नेपाल फिल्म क्याम्पसले पनि ‘स्टुडियो थिएटर’ नाटक घर सञ्चालनमा ल्याएको हो । यो नाटक घर सञ्चालन’bout क्याम्पस प्रमुख शिशिर उप्रेतीले भने,‘ चलचित्रका विभिन्न विधाहरूको अध्यापन गराउँदै आएको नेपाल फिल्म क्याम्पसले विद्यार्थीहरूको संलग्नतामा नियमित रूपमा नाटक मञ्चन गर्ने योजनासहित स्टुडियो थिएटर सञ्चालनमा ल्याएको हो । अब यहाँ कलेजकै विद्यार्थीहरूको संलग्नतामा बाहिरी नाट्यकर्मीहरूलाई समेत समावेश गरेर नियमित रूपमा नाटक मञ्चन गरिने भएको छ ।’
क्याम्पस प्रमुख उप्रेतीका अनुसार नेपाल फिल्म क्याम्पसले यति बेला नयाँ नाटक ‘संशय’ मञ्चनको अभ्यास गरिरहेको छ । अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित रहेर यो नाटक तयार गरिएको हो । उप्रेतीका अनुसार सो अंग्रेजी नाटकलाई दिपल बरालले नेपालीमा अनुवाद तथा निर्देशन गरेका छन् । नाटकमा नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरू सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नि थापाको अभिनय रहेको छ ।
शेन्लीको यस नाटकले पुलिट्जर प्राइज, टोनी अवार्ड जस्ता प्रतिष्ठित पुरस्कार पाएको थियो । यसै नाटकमै आधारित रहेर शेन्ली आफैँले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ ओस्कारको विभिन्न पाँच विधामा मनोनीत समेत भएको थियो । सोही कारण यो नाटक आफूहरूले रोजेको पनि क्याम्पस प्रमुख उप्रेतीले जानकारी गराए ।
आफ्नो कलेजले नियमित नाटक मञ्चन गर्न लागेकोमा यो नाटकका निर्देशक बराल खुसी छन् । उनका अनुसार नाटकले क्याथोलिक विद्यालय भित्रको शक्ति सम्बन्ध, नैतिक दुबिधा साथै परम्परावाद र सुधारवादबिचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शंका, विश्वास र सत्यको विविध आयामहरू खोतल्ने छ ।
नाटक ‘संशय’ यही १९ असारदेखि २८ असारसम्म (बुधवार बाहेक) हरेक दिन साँझ ५ः१५ बजेबाट पिंगलास्थान स्थित ‘स्टुडियो थिएटर’मा मञ्चन हुनेछ । अहिले आफूहरू नाटक मञ्चन अभ्यासका अन्तिम तयारीमा रहेको पनि निर्देशक बरालले बताए ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा
रास्वपा सभापति रविमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको सहमति
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : बालेन्द्र शाह
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित






