कपिलवस्तु । कपिलवस्तुको शिवराज अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्यांकनमा लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालमध्ये सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको छ।
न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक
सार्वजनिक गरिएको MSS ड्यासबोर्डअनुसार शिवराज अस्पतालले ६२ अंक प्राप्त गर्दै प्रदेशका सबै प्राथमिक अस्पताललाई पछि पारेको हो। अस्पतालका डा. दुर्गेश चौधरीका अनुसार पिपरा अस्पतालले ६०, चिसापानी अस्पतालले ५९ तथा लमही अस्पतालले पनि ५९ अंक प्राप्त गरेका छन्। यस उपलब्धिसँगै शिवराज अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट प्राथमिक अस्पतालका रूपमा स्थापित भएको उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्ने न्यूनतम सेवा मापदण्ड मूल्यांकनअन्तर्गत अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, जनशक्ति, भौतिक पूर्वाधार, औषधि तथा उपकरण व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा अस्पतालको कार्यसम्पादन मूल्यांकन गरिने व्यवस्था छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि प्रसाद पाण्डेले यो सफलता अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीको सामूहिक मेहनतको परिणाम भएको बताए। सेवाग्राहीप्रति आभार व्यक्त गर्दै उनले प्राप्त उपलब्धिले थप जिम्मेवारी थपिएको उल्लेख गरे। आगामी दिनमा सेवा गुणस्तर, व्यवस्थापन र बिरामीमैत्री स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसैबीच, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शिवराज अस्पतालले लुम्बिनी प्रदेशमै उत्कृष्ट अंक हासिल गर्नु सम्पूर्ण क्षेत्रकै गौरवको विषय भएको प्रतिक्रिया दिए। उनले अस्पतालको यो सफलता चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा व्यवस्थापनको निरन्तर समर्पण र सामूहिक प्रयासको प्रतिफल भएको उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि नगरपालिकाको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालमध्ये सर्वाधिक अंक प्राप्त गर्दै शिवराज अस्पतालले हासिल गरेको यो सफलता स्थानीय स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
उजुरीपछि अख्तियारको छापा
टरिगाउँ विमानस्थललाई हालसम्मकै ठूलो बजेट विनियोजन
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मगरको जिप दुर्घटनामा मृत्यु






