कपिलवस्तु । कपिलवस्तु कारागारको २ नम्बर ब्लक लगातार दोस्रो दिन पनि कैदीबन्दीकै नियन्त्रणमा रहेको छ। सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार पनि जारी रहँदा कारागार प्रशासन र सुरक्षाकर्मीहरू अझैसम्म ब्लकभित्र प्रवेश गर्न सकेका छैनन्।
शनिबार चार जना कैदीबन्दीमाथि भएको भनिएको कुटपिट, सरकारले निर्धारण गरेअनुसारको राशन तथा सुविधा नपाएको, कारागारभित्र सञ्चालित क्यान्टिनमा अत्यधिक मूल्य लिइएको र विरोध गर्ने कैदीबन्दीमाथि दमन गरिएको आरोप लगाउँदै आन्दोलनरत पक्षले ब्लक नियन्त्रणमा राखेको हो।
यसैबीच आन्दोलनका क्रममा नियन्त्रणमा राखिएका मूलनाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको समन्वयमा मुक्त गरिएको छ। आन्दोलनरत कैदीबन्दीले सोमबार राति जिल्ला सुरक्षा समितिसँग वार्ता गर्न अस्वीकार गर्दै पत्रकारमार्फत संवाद गराइदिन आग्रह गरेका थिए।
आन्दोलनरत कैदीबन्दीले आफूहरूले अघि सारेका १८ बुँदे माग तत्काल सम्बोधन हुनुपर्ने, साथै हाल कार्यरत चौकीदार तथा नाइकेहरूलाई हटाएर नयाँ जिम्मेवारी तोकिनुपर्ने माग दोहोर्याएका छन्।
आन्दोलनको नेतृत्व गरिरहेका कैदीबन्दी नारायण वलीका अनुसार कारागार प्रशासनले विवादमा तानिएका चौकीदार र नाइकेहरूलाई नै पुन परिचालन गर्न खोजेकाले दोस्रो दिन पनि ब्लक नियन्त्रणमा राख्न बाध्य भएको हो। उनले कारागार प्रमुख मानबहादुर सारुले मागप्रति गम्भीरता नदेखाएको, बरु सुरक्षाकर्मी परिचालन गरेर बल प्रयोग गर्ने चेतावनी दिएको आरोप लगाए। जबर्जस्ती हस्तक्षेप गरिए आत्मदाहसम्म गर्न बाध्य हुने चेतावनी पनि आन्दोलनरत पक्षले दिएको छ।
यता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले घटनाको समाधानका लागि जिल्ला सुरक्षा समितिको बैठक निरन्तर बसिरहेको र आन्दोलनरत कैदीबन्दीसँग समन्वय भइरहेको बताए। उनका अनुसार वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी छ र अवस्था समाधानउन्मुख रहेको छ।
तर सुरक्षा स्रोतका अनुसार प्रशासनले घटनालाई सामान्य रूपमा लिएको देखिएको छ। वार्ताबाट सहमति नभए बल प्रयोग गर्ने विकल्पसमेत छलफलमा रहेको र त्यसो भए अप्रिय घटना हुन सक्ने जोखिम रहेको सुरक्षा स्रोतको आकलन छ।
कपिलवस्तु कारागारमा दुईवटा ब्लक रहेका छन्। तीमध्ये हाल आन्दोलन भइरहेको २ नम्बर ब्लकमा करिब १९० जना कैदीबन्दी रहेका छन्। घटनाको समाधानका लागि प्रशासन, सुरक्षा निकाय र आन्दोलनरत पक्षबीच छलफल जारी रहेको छ।
सम्बन्धित समाचार
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मगरको जिप दुर्घटनामा मृत्यु
समाचारको विषयमा पालिका अध्यक्ष थापाले दिए पत्रकारलाई धम्की
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगियो
सत्ता पक्षकै सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
राष्ट्रपतिले गरे विकास वित्त विधेयक प्रमाणीकरण
महामन्त्रीमा विपिनलाई पाँच नेताको समर्थन






