एक करोड मेट्रिक टन नाघ्यो खाद्य उत्पादन

काठमाडौं । नेपालको प्रमुख खाद्यान्न बालीहरूको कुल उत्पादन १ करोड १६ लाख ७ हजार १२१ मेट्रिक टन पुगेको छ । यो उत्पादन कुल ३२ लाख ७५ हजार ५९२ हेक्टर क्षेत्रफलबाट भएको हो ।

धानको हिस्सा सबैभन्दा बढी, आत्मनिर्भरतर्फ तरकारी उत्पादन

कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो कृषि तथ्यांक अनुसार नेपालको मुख्य बालीको रूपमा रहेको धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ । धान बालीले कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल ओगटेको छ भने यसको उत्पादकत्व ४ दशमलव १९ मेट्रिक टन प्रति हेक्टर छ । प्रादेशिक आधारमा हेर्दा मधेश प्रदेश धान उत्पादनमा सबैभन्दा अगाडि देखिएको छ । मधेशबाट मात्रै १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको छ ।

दोस्रो मुख्य बालीको रूपमा रहेको मकैको उत्पादन ३२ लाख ७५ हजार ५९२ मेट्रिक टन पुगेको छ । मकैले ९ लाख १२ हजार ६३१ हेक्टर क्षेत्रफल ओगटेको छ भने यसको उत्पादकत्व ३ दशमलव ५९ मेट्रिक टन प्रति हेक्टर रहेको छ । त्यसैंगरी, गहुँको उत्पादन २८ लाख ४ हजार ३५२ मेट्रिक टन रहेको छ । मन्त्रालयका अनुसार कुल ६ लाख ८३ हजार ९७७ हेक्टर क्षेत्रफलमा गहुँको बाली लगाइएको थियो । मन्त्रालयका अनुसार गहुँको उत्पादकत्व ४ दशमलव १ मेट्रिक टन प्रति हेक्टर देखिएको छ । अन्य बालीहरूमा कोदो २ लाख २२ हजार २५४ मेट्रिक टन, फापर २२ हजार २५४ मेट्रिक टन र जौ १३ हजार ६३६ मेट्रिक टन उत्पादन भएको छ ।

नगदे बालीतर्फ आलुको उत्पादन ३६ लाख ८१ हजार ५१७ मेट्रिक टन पुगेको छ । यो २ लाख २० हजार ५९९ हेक्टर क्षेत्रफलमा गरिएको बालीको उत्पादन हो । आलुको उत्पादकत्व १६ दशमलव ६९ मेट्रिक टन प्रति हेक्टर छ । यस्तै, उखु उत्पादन २६ लाख ९४ हजार ५० मेट्रिक टन भएको छ । तेलहन बालीको कुल उत्पादन २ लाख ७३ हजार १९७ मेट्रिक टन छ ।

तरकारी खेतीतर्फ नेपाल आत्मनिर्भरतातर्फ उन्मुख देखिएको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल ताजा तरकारी उत्पादन ४५ लाख ७२ हजार २६७ मेट्रिक टन पुगेको छ । यो उत्पादन ३ लाख २९ हजार ७२९ हेक्टर क्षेत्रफलको हो । मन्त्रालयका अनुसार यसको औसत उत्पादकत्व १३ दशमलव ८७ मेट्रिक टन प्रति हेक्टर छ ।

प्रदेशगत रूपमा मधेश प्रदेशले सबैभन्दा धेरै १३ लाख ८५ हजार ८२३ मेट्रिक टन तरकारी उत्पादन गरेको छ भने बागमती प्रदेश ८ लाख ९६ हजार २३४ मेट्रिक टनका साथ दोस्रो स्थानमा छ ।

फलफूल र मसला बालीको बजार विस्तार फलफूलतर्फ नेपालमा कुल उत्पादन १५ लाख १२ हजार ८०५ मेट्रिक टन पुगेको छ । यस वर्ष फलफूलले कुल १ लाख ८१ हजार ६३७ हेक्टर क्षेत्रफल ओगटेकोमा १ लाख ४३ हजार ३८३ हेक्टर उत्पादनशील क्षेत्रफल छ । सुन्तला जातका फलफूलको उत्पादन ३ लाख १८ हजार २१ मेट्रिक टन छ । हिउँदे फलफूल १ लाख ८४ हजार ६ मेट्रिक टन र वर्षे फलफूल १० लाख ४५ हजार ८८ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ ।

मसला बालीतर्फ अदुवाको उत्पादन ३ लाख ४६ हजार २० मेट्रिक टन पुगेको छ । बेसारको उत्पादन ९५ हजार ३९६ मेट्रिक टन र लसुनको उत्पादन ७४ हजार २७४ मेट्रिक टन छ । अलैंचीको उत्पादन ८ हजार ३५७ मेट्रिक टन छ, जुन १८ हजार ४७० हेक्टर क्षेत्रफलमा लगाइएको थियो ।

पशुपालनमा पनि आत्मनिर्भर बन्दै
पशुपालनको क्षेत्रमा पनि नेपालले राम्रो प्रगति गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल दुध उत्पादन २७ लाख १८ हजार १७७ मेट्रिक टन पुगेको छ । यसमध्ये गाईको दुध १३ लाख २ हजार ९४ मेट्रिक टन र भैंसीको दुध १४ लाख १६ हजार ८३ मेट्रिक टन रहेको छ ।

मासु उत्पादनतर्फ कुल खुद उत्पादन ४ लाख ५६ हजार ४३० मेट्रिक टन पुगेको छ । यसमध्ये राँगाको मासु १ लाख ४१ हजार ६४९ मेट्रिक टन, बाख्राको मासु ८१ हजार ६२९ मेट्रिक टन र कुखुराको मासु २ लाख २३ हजार २८९ मेट्रिक टन छ । अण्डा उत्पादनमा पनि देश निकै अगाडि बढेको छ । यस वर्ष कुल १ अर्ब ६३ करोड २२ लाख ८९ हजार गोटा अण्डा उत्पादन भएको छ ।

मत्स्यपालन र अन्य उत्पादन मत्स्यपालन क्षेत्रमा नेपालले निरन्तर वृद्धि हासिल गरिरहेको छ । यस आर्थिक वर्षमा कुल माछा उत्पादन ८८ हजार २५४ मेट्रिक टन पुगेको छ । १० वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२–०७३ मा ५५ हजार मेट्रिक टन हाराहारी रहेको उत्पादन अहिले झन्डै दोब्बर नजिक पुगेको हो । उत्पादकत्व पनि बढेर ५ दशमलव ६२ मेट्रिक टन प्रति हेक्टर पुगेको छ । त्यसैगरी, मह उत्पादन ५ हजार १५१ मेट्रिक टन, च्याउ उत्पादन १५ हजार मेट्रिक टन र रेशम खेतीको कोया उत्पादन ३ मेट्रिक टन छ ।

कृषि निर्यात बढ्दो
नेपालले केही कृषिजन्य वस्तुहरू उल्लेख्य मात्रामा निर्यात गर्न सफल भएको छ । आव २०८१–८२ मा चियाको निर्यात १ करोड ३२ लाख १० हजार २९० किलो भएको छ, जसको मूल्य ५ अर्ब ५४ करोड ४३ लाख ६३ हजार रुपैयाँ रहेको छ । अलैंचीको निर्यात पनि उत्साहजनक छ ।

आव २०८१–८२ को प्रारम्भिक अनुमान अनुसार कृषि, वन र मत्स्यपालन क्षेत्रको मूल्य अभिवृद्धि प्रचलित मूल्यमा १३ खर्ब ५३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ रहने देखिएको छ । रासायनिक मलको आपूर्ति र बीउ विस्थापन दरमा अझै सुधारको आवश्यकता रहेको देखिएको छ । आव २०८१–८२ मा रासायनिक मलको कुल बिक्री २ लाख ७० हजार १५१ मेट्रिक टन भएको छ, जसमा युरिया १ लाख ५४ हजार ४३९ मेट्रिक टन र डीएपी १ लाख ६ हजार ७१५ मेट्रिक टन छ । बीउ विस्थापन दर धानमा २६ दशमलव ३९ प्रतिशत र गहुँमा २७ दशमलव ८७ प्रतिशत छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन