काठमाडौं । स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले चालु आबमा २५० घरधुरीमा गोबरग्यास ‘प्लान्ट’ जडान गरेको छ ।
दाउरासँगै एलपी ग्यासको खपत घटाउनुका साथै वातावरण संरक्षण, स्वास्थ्य सुधारमा टेवा पु¥याउनका लागि गोबरग्याँस प्लान्ट जडान गरिएका हुन् । नगर उपप्रमुख जोगराम चौधरीका अनुसार गोबरग्यास प्लान्ट जडानका लागि कूल लागतको १४ प्रतिशत रकम नगरपालिकाले, १३ दशमलव ६६ प्रतिशत लाभग्राहीले र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७६ प्रतिशत सहयोगमा व्यवस्थापन गरिएको छ ।
अनुदान कार्यक्रमअन्तर्गत पशुपालन गर्ने किसानलाई प्राथमिकतामा राखेर गोबरग्यास प्लान्ट जडान गरिएका हुन् । नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्कअनुसार वडा नं १० मा ७०, वडा नं १ मा ३८, वडा नं ५ मा २८ र वडा नं ७ मा १९, वडा नं ४ मा ११, वडा नं ८ मा १०, वडा नं २ मा चार, वडा नं ३ मा एक, वडा नं ६ मा तीन, वडा नं ९ मा तीन वटा गोरबग्याँस प्लान्ट जडान गरिएका छन् । गत वर्ष वडा नं ५ मा २८ वटा गोबरग्याँस प्लान्ट जडान गरिएको थियो ।
गोबरग्याँस प्लान्ट जडान गरेका केही किसानले त्यससँगै सौचालय पनि जडान गरेका छन् । सौचालय भने किसानले आफ्नै लगानीमा जडान गरेको उपप्रमुख चौधरीको भनाइ रहेको छ ।
“गोबरग्यासले खाना पकाउन आवश्यक स्वच्छ इन्धन उपलब्ध गराउने भएकाले वनबाट दाउरा सङ्कलन गर्ने क्रममा कमी आउँछ”, उनले भने, “यसले वन संरक्षणमा सहयोग पुग्नुका साथै महिलाले दाउरा सङ्कलनमा खर्चिने समयको बचत हुने, धुवाँरहित चुलोमा खाना पकाउँदा आँखा पोल्ने, श्वासप्रश्वाससम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जोखिमसमेत कमी हुन्छ ।”
गोबरग्यास प्लान्टबाट निस्कने जैविक मल रासायनिक मलको उत्कृष्ट विकल्पका रूपमा प्रयोग हुने भएकाले तरकारी, फलफूल तथा खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ रहेको छ ।
यसले माटोको उर्वराशक्ति कायम राख्न, रासायनिक मलको प्रयोग घटाउन तथा कृषि उत्पादन बढाउन सहयोग पुरयाउने कृषि विकास शाखाका प्राविधिक हरिश सेठीले बताए ।
“गोबरग्यास नवीकरणीय र वातावरणमैत्री ऊर्जा स्रोत हो”, उनले भने, “यसले दाउराको प्रयोग घटाएर वन विनाश न्यूनीकरण गर्नुका साथै हरितगृह ग्यास उत्सर्जन कम गर्न महत्वपूर्ण योगदान पु¥याउँछ, गोबर र अन्य जैविक फोहोरको उचित व्यवस्थापन हुने भएकाले घरको सरसफाइमा समेत सुधार आउने गर्दछ ।”
बेलौरी नगरपालिकाले आगामी आवमा पनि पशुपालन गर्ने थप घरधुरीमा गोबरग्यास प्लान्ट विस्तार गर्ने योजना अघि सारेको छ ।
सम्बन्धित समाचार
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा
अजयको चलचित्र ‘चौहान’ विवादमा
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ






