धनगढी । धनगढी उपमहानगरपालिकाले ‘हरियाली धनगढी’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका–१३, श्रीलंका स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा १४९ वटा बिरुवा रोपेको छ ।
वातावरण संरक्षण, विद्यालय परिसरको सौन्दर्यकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयमा विभिन्न प्रजातिका बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरका अनुसार वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै गर्मी मौसममा शीतलता बढाउने र विद्यालयको भौतिक वातावरणलाई थप आकर्षक तथा वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘हरियाली धनगढी’ अभियानअन्तर्गत उपमहानगरपालिकाले यसअघि पनि सडक किनार, सार्वजनिक स्थल, विद्यालय परिसर तथा खाली जग्गामा निरन्तर वृक्षारोपण गर्दै आएको छ ।
उपमहानगरपालिकाले आगामी दिनमा पनि धनगढीका अन्य विद्यालय तथा सार्वजनिक क्षेत्रमा वृक्षारोपण अभियानलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।






