मृत्युको पासो बन्दै बझाङका ग्रामीण सडक

बझाङ । असार बिहान आकाश घना बादलले ढाकिएको थियो । निरन्तर वर्षाले पहाडका भीर चिप्ला बनेका थिए । जंगल कुहिरोले ढाकिएको थियो । प्रकृतिले मानौं ‘कुनै अनिष्टको संकेत’ गरिरहेको थियो । दुर्गाथली गाउँपालिका–६, चुवाबनका एक परिवारका लागि भने त्यो दिन आशाको नयाँ बिहानी बनेर आयो ।

बारम्बार दोहोरिने दुर्घटनाले उठायो गम्भीर प्रश्न– आखिर किन सुरक्षित छैनन् बझाङका पहाडी सडक ?

एक महिनाअघि श्रीमान् गुमाएकी ६५ वर्षीया केलादेवी महत घाँस काट्न जंगल गएकी थिइन् । त्यसपछि उनी घर फर्किन सकिनन् । बाक्लो जंगल, लगातारको वर्षा र कुहिरोका कारण उनी बाटो बिराएर बेपत्ता भइन् । दुई दिनसम्म स्थानीय बासिन्दा, आफन्त र सुरक्षाकर्मीले जंगलका विभिन्न क्षेत्रमा खोजी गरे । परिवार निराश हुँदै गयो । धेरैले उनलाई जीवित भेटिने आशासमेत त्यागिसकेका थिए । तर, नियतिले अर्को मोड लियो । छिमेकी केदारस्युँ गाउँपालिकाको जंगलमा उनी जीवितै भेटिइन् ।

यो खबर गाउँभरि फैलिनासाथ परिवारमा खुसी छायो । खोजीमा सहभागी स्थानीयले राहतको सास फेरे । उनलाई घरसम्म सुरक्षित पु¥याउने तयारी भयो । कसैले बोकेर लैजाने प्रस्ताव गरे पनि उनकी छोरी विमला धामीले जिपमै घर फर्कने निर्णय गरिन् । त्यतिबेला कसैले कल्पना गरेको थिएन, ‘जुन जिपले सुरक्षित घर पु-याउनुपर्ने थियो, त्यही केही मिनेटमै मृत्युको सवारी बन्ने छ ।’

दिउँसो करिब साढे तीन बजेतिर केदारस्युँ गाउँपालिका–७, सुगुरेको साँघुरो घुम्तीमा चालकले जिप ‘ब्याक’ गरेर मोड काट्ने प्रयास गरिरहेका थिए । पछाडिबाट यात्रुले ‘ठाउँ छ, ठाउँ छ’ भन्दै बाटो देखाइरहेका थिए । एक्कासि जिपको नियन्त्रण गुम्यो । जिप करिब ३ सय मिटर भीरबाट खस्यो ।

केही क्षणअघिसम्म हाँसोले भरिएको गाडी एकाएक चिच्याहट, रुवाबासी र पीडाले भरियो । दुर्घटनामा केलादेवी महत, उनकी छोरी विमला धामी र चक्र महतको घटनास्थलमै मृत्यु भयो । अन्य यात्रु भीरभरि घाइते अवस्थामा छरिए ।

दुर्गम भूगोलका कारण उद्धार टोली घटनास्थल पुग्न करिब आधा घण्टा लाग्यो । प्रहरी पुग्दा साँझ परिसकेको थियो । स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी हेलिकोप्टर परिचालन प्रयास गरियो । हेलिकोप्टर बझाङसम्म आइपुग्यो, तर प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेन ।

उता, जिल्ला अस्पतालमा रक्तदान गर्ने युवाको भीड लाग्यो । घाइतेको ज्यान जोगाउने प्रयास भयो । तीन परिवारका लागि त्यो प्रयास पर्याप्त हुन सकेन । तीन घरका चुल्हा सधैंका लागि निभे । यो दुर्घटना एउटा परिवारको मात्र पीडा थिएन, यसले फेरि एकपटक बझाङका ग्रामीण सडकको सुरक्षा, सडक निर्माणको गुणस्तर र राज्यको तयारीमाथि गम्भीर प्रश्न उठायो ।

सुगुरेको दुर्घटना कुनै अपवाद थिएन । पछिल्ला वर्ष बझाङका पहाडी सडकमा यस्ता दुर्घटना बारम्बार दोहोरिएका छन् । सडक गाउँ–गाउँसम्म पुगे, सवारी पहुँच विस्तार भयो, तर सुरक्षित सडक निर्माण र प्रभावकारी नियमन त्यही गतिमा अघि बढ्न सकेन । परिणामस्वरूप बझाङमा सडक विकाससँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

दुर्घटना हुन्छ । केही दिन शोक मनाइन्छ । राहत घोषणा हुन्छ । छानबिनको प्रतिबद्धता व्यक्त गरिन्छ । त्यसपछि समय बित्दै जाँदा सबै कुरा सेलाउँछ । जोखिम भने जस्ताको त्यस्तै रहन्छ । केही समयपछि अर्को दुर्घटनाले फेरि अर्को परिवारलाई शोकमा डुबाउँछ ।

उद्धारभन्दा रोकथाम किन महत्वपूर्ण ?
हालैको सुगुरे दुर्घटनापछि गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने प्रयास गरियो । स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय भयो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटनास्थलमा अवतरण गर्न भने सकेन । दुर्घटनापछि उद्धारका लागि सबै निकाय सक्रिय हुनु सकारात्मक पक्ष हो । गम्भीर घाइतेको जीवन बचाउन तत्काल उद्धार र उपचार अपरिहार्य हुन्छ । हरेक ठूलो दुर्घटनापछि उठ्ने प्रश्न उही हो, ‘यदि सडक सुरक्षामा समयमै लगानी गरिएको भए, यस्ता दुर्घटना कति हदसम्म रोक्न सकिन्थ्यो ?’

बझाङमा अधिकांश दुर्घटनापछि उद्धार, राहत र छानबिन प्रक्रिया सुरु हुन्छ । दुर्घटना हुनुअघि जोखिम न्यूनीकरणमा अपेक्षित ध्यान पुग्न सकेको देखिँदैन । जोखिमयुक्त घुम्ती सुधार, सुरक्षा रेलिङ, रिटेनिङ वाल, नियमित मर्मत, सवारी साधनको प्राविधिक परीक्षण र प्रभावकारी ट्राफिक निगरानीजस्ता विषयमा निरन्तर लगानी हुन सके दुर्घटना जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने देखिन्छ ।

हेलिकोप्टरले घाइतेलाई अस्पताल पु¥याउन सक्छ, दुर्घटना रोक्न सक्दैन । दुर्घटना रोक्ने आधार भने सुरक्षित सडक, जिम्मेवार सवारी सञ्चालन, प्रभावकारी नियमन र दीर्घकालीन पूर्वतयारी नै हो । त्यसैले सडक सुरक्षामा गरिएको लगानी दुर्घटनापछिको उद्धारभन्दा धेरै प्रभावकारी र दिगो उपाय मानिन्छ ।

तथ्यांकले देखाएको चिन्ता
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जिल्लाभर २४ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु र ३६ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८१–८२ मा दुर्घटनाको संख्या १४ मा झरे पनि ६ जनाले ज्यान गुमाए । चालू आर्थिक वर्ष २०८२–८३ मा भने दुर्घटना संख्या पुनः बढेर २३ पुगेको छ । ती दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भए । यी तथ्यांकले दुर्घटना संख्यामात्र होइन, मानवीय क्षति पनि गम्भीर बन्दै गएको देखिन्छ । ग्रामीण सडकमा सुरक्षा सुधार नगरे आगामी वर्ष जोखिम अझ बढ्न सक्ने निश्चितप्रायः छ ।

मृत्युको कालक्रम : एउटै पीडा
सुगुरे दुर्घटना कुनै आकस्मिक घटना थिएन । यो बझाङका ग्रामीण सडकमा वर्षौंदेखि दोहोरिँदै आएको दुःखद शृंखलाको पछिल्लो कडीमात्र थियो । पछिल्ला केही वर्षका सडक दुर्घटनाको इतिहास पल्टाउँदा सडक फरक, सवारी फरक, चालक फरक र यात्रु फरक भए पनि दुर्घटनाका कारण भने लगभग उस्तै देखिन्छन् । २३ असोज २०७५ मा बुंगल नगरपालिका–ठिमीबगरमा यात्रुजिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो भने १२ जना घाइते भए । त्यो दुर्घटनाले पहिलोपटक बझाङका ग्रामीण सडकको जोखिमलाई राष्ट्रियस्तरमा चर्चा गरायो । त्यसबाट सिक्नुपर्ने पाठ दीर्घकालीनरूपमा कार्यान्वयन हुन सकेन । त्यसको एक वर्षपछि, ३ असार २०७६ मा डौठीमा भएको जिप दुर्घटनाले बझाङलाई स्तब्ध बनायो ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको जिप भीरमा खस्दा १० जनाको घटनास्थलमै मृत्यु भयो । मृतकमध्ये सात जना एउटै गाउँका थिए भने एउटै परिवारका श्रीमान्, श्रीमती र १२ वर्षीय छोरा एकै दुर्घटनामा परे । त्यो दिन कोटदेवल गाउँमा एउटै घरमात्र रोएको थिएन, पूरै गाउँ शोकमा डुब्यो । स्थानीयका अनुसार सो दुर्घटनाले गाउँको सामाजिक र आर्थिक संरचनामै गहिरो असर पारेको थियो । त्यही वर्ष फागुनमा खप्तडछान्ना गाउँपालिका लामाखेतमा अर्को जिप दुर्घटना भयो । नौ जना घाइते भए । यसपटक ठूलो मानवीय क्षति ट¥यो, दुर्घटनाको जोखिम भने यथावत् रहेको स्पष्ट भयो ।

३० चैत २०७८ मा छविसपाथिभेरा गाउँपालिकाको किन्द्राला भीरमा माथिबाट खसेको ठूलो ढुंगाले जिपलाई सेती नदीतर्फ धकेल्यो । चालक जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भयो । यो दुर्घटनाले पहाडी सडकमा प्राकृतिक जोखिम र कमजोर सडक संरचनाको दोहोरो चुनौतीलाई उजागर ग¥यो ।

२ कात्तिक २०७९ मा मष्टा गाउँपालिकाको तुफानडाँडामा फेरि रगत बग्यो । सदरमुकाम चैनपुरबाट खेतकोटतर्फ जाँदै गरेको जिप दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गयो । उनीहरू सिलदेवी मेला हेरेर घर फर्किरहेका थिए । उत्सवको खुसी केही घण्टामै शोकमा बदलियो । त्यसपछि राष्ट्रिय सञ्चारमाध्यमले बझाङका ग्रामीण सडकलाई ‘मृत्युको पासो’ भन्दै प्रश्न उठाए । केही समय सडक सुरक्षा’bout बहस पनि चल्यो, त्यो बहस व्यवहारमा रूपान्तरण हुन सकेन ।

१९ पुस २०८१ मा जिल्लाले फेरि अर्को पीडादायी दिन भोग्यो । तलकोट गाउँपालिका र मष्टा गाउँपालिकामा एकै दिन दुई छुट्टाछुट्टै जिप दुर्घटना भए । ती दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । एकै दिन भएका दुई दुर्घटनाले जिल्लाभर एउटै प्रश्न उठायो, ‘के सडक दुर्घटना अब बझाङको नियति बनिसकेको हो ?’

त्यसको केही महिनापछि २३ माघ २०८२ मा बित्थडचिर गाउँपालिकामा जन्ती बोकेको बस दुर्घटनामा प¥यो । दुलही लिन गएको जन्ती शवयात्रामा परिणत भयो । दुर्घटनामा १३ जनाको मृत्यु भयो भने ४५ जना घाइते भए । विवाहको उत्सव एकैछिनमा शोकसभामा बदलियो । गाउँमा बज्नुपर्ने मादलको धुन मलामीको सन्नाटामा परिणत भयो ।

यी दुर्घटनापछि सुगुरेको दुर्घटनाले फेरि अर्को परिवारको कथा अधुरो बनायो । हराएकी आमालाई सकुशल भेटिएको खुसी मनाउन नपाउँदै जिप भीरमा खस्यो । दोस्रो जीवन पाएजस्तो देखिएकी केलादेवी महतले त्यो अवसर एक दिन पनि उपभोग गर्न पाइनन् । आमा र छोरी एउटै दुर्घटनामा सधैंका लागि बिदा भए । यस्ता दुर्घटनाबाट सवारीसाधन फरक, चालक फरक, यात्रु फरक भए पनि दुर्घटनाको पृष्ठभूमि लगभग उस्तै थिए । मापदण्डविहीन सडक, साँघुरा घुम्ती, सुरक्षा संरचना अभाव, क्षमताभन्दा बढी यात्रु, वर्षायामको जोखिम, कमजोर ट्राफिक निगरानी र दुर्घटनापछि मात्रै देखिने सरकारी सक्रियता अधिकांश घटनामा समानता देखिन्छन् । ‘यदि दुर्घटनाका कारण वर्षौंदेखि सबैलाई थाहा छन् भने तिनको समाधान किन हुन सकेको छैन ?’ यसले गम्भीर प्रश्न उठाएको छ ।

मृत्यु नियति होइन, व्यवस्थाको परीक्षा
बझाङका पहाड सुन्दर छन् । यहाँका गाउँ आत्मीय छन् । सडकले शिक्षा, स्वास्थ्य, कृषि र व्यापारमा पहुँच विस्तार गरेको छ । विकासका यी उपलब्धि अस्वीकार गर्न सकिँदैन । यदि यही सडक हरेक वर्ष नागरिकको ज्यान जाने माध्यम बन्छ भने त्यसलाई पूर्ण विकास भन्न सकिँदैन । सुगुरे, डौठी, तुफानडाँडा, ठिमीबगर, तलकोट वा बित्थडचिर—स्थान फरक भए पनि अधिकांश दुर्घटनाले एउटै सन्देश दिएका छन् । सडक निर्माणसँगै सुरक्षा सुनिश्चित नगरिए विकास अधुरो रहन्छ ।

दुर्घटनाको सम्पूर्ण दोष चालकमाथि थोपरेर मात्र समस्या समाधान हुँदैन । सडक मापदण्डविहीन छ, सुरक्षा संरचना छैन, प्रभावकारी अनुगमन कमजोर छ र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण हुन सकेको छैन भने जिम्मेवारी पनि सामूहिक हुन्छ । यसमा योजना बनाउने, निर्माण गर्ने, अनुगमन गर्ने, नियम कार्यान्वयन गराउने र सडक प्रयोग गर्ने सबै पक्षको भूमिका जोडिन्छ । दुर्घटना भएपछि शोक मनाउनु स्वाभाविक हो । राहत घोषणा र उद्धार पनि आवश्यक छन् । तर त्योभन्दा ठूलो आवश्यकता दुर्घटना हुन नदिनु हो । रोकथाममा गरिएको लगानीले मात्र भविष्यका दुर्घटना रोक्न सक्छ । बझाङका सडकले आज पनि एउटा प्रश्न सोधिरहेका छन्, ‘ अझै कति दुर्घटनापछि सुरक्षित सडक निर्माण हाम्रो प्राथमिकता बन्छ ?’ यस प्रश्नको उत्तर भाषण वा प्रतिबद्धताले होइन, सुरक्षित सडक, प्रभावकारी कार्यान्वयन र जिम्मेवार नीतिबाट मात्र दिन सकिन्छ ।

मृत्यु नियति होइन, व्यवस्थाको परीक्षा हो । यदि अहिले पनि सिक्न नसकियो भने अर्को दुर्घटना समयको प्रतीक्षामात्रै हुनेछ । बझाङका नागरिकलाई दुर्घटनापछि उड्ने हेलिकोप्टरभन्दा दुर्घटना नै हुन नदिने सुरक्षित सडक चाहिएको छ । अब शब्दभन्दा कामलाई प्राथमिकता दिने बेला आएको छ । दुर्घटनापछि उद्धार गर्नु पनि बझाङमा सजिलो छैन । दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार टोली घटनास्थल पुग्नै लामो समय लाग्ने गर्छ । धेरै ठाउँमा एम्बुलेन्स पुग्न सक्दैन । कतिपय क्षेत्रमा मोबाइल नेटवर्कसमेत प्रभावकारी छैन ।

हेलिकोप्टर परिचालन गरिए पनि खराब मौसमका कारण अवतरण गर्न नसक्ने अवस्था पटक–पटक देखिन्छ ।

चिकित्सक दुर्घटनापछिको पहिलो एक घण्टालाई ‘गोल्डेन आवर’ मान्छन् । यही समयमा उपचार नपाउँदा धेरै घाइतेको ज्यान जोखिममा पर्ने सम्भावना बढ्छ । यी सबै घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएका छन् । दुर्घटनापछि राज्य सक्रिय देखिन्छ । राहत घोषणा हुन्छ । छानबिनको प्रतिबद्धता व्यक्त गरिन्छ । केही दिन सडक सुरक्षा’bout बहस पनि चल्छ । समय बित्दै जाँदा ती प्रतिबद्धता सेलाउँछन् । जोखिमयुक्त सडक उस्तै रहन्छन्, निगरानी उस्तै कमजोर रहन्छ र अर्को दुर्घटनाले फेरि त्यही कमजोरी दोहोरिएको पुष्टि गर्छ । यसैले बझाङका सडक दुर्घटनालाई केवल चालकको लापरबाही वा खराब मौसमको परिणाम भनेर मात्र व्याख्या गर्न मिल्दैन । यो समस्या सडक निर्माणको गुणस्तर, नियमन, पूर्वतयारी र कार्यान्वयनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । जबसम्म यी पक्षमा सुधार हुँदैन, दुर्घटनाको चक्र तोड्न कठिन हुनेछ ।

यसकारण बारम्बार मृत्युका पासो बन्छन् सडक ?
सडक दुर्घटना संयोगमात्र होइन, धेरै अवस्थामा संरचनागत कमजोरी, कमजोर नियमन, मानवीय त्रुटि र प्राकृतिक जोखिमको संयुक्त परिणाम हो । बझाङमा हुने अधिकांश दुर्घटनाको प्रकृति हेर्दा कुनै एउटा कारणलाई मात्र दोष दिन सकिँदैन । सडक निर्माणको गुणस्तर, सवारी सञ्चालनको अवस्था, ट्राफिक व्यवस्थापन, चालक र यात्रुको व्यवहार तथा उद्धार प्रणालीका सीमा एकअर्कासँग गाँसिँदा दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

पछिल्लो डेढ दशकमा बझाङका अधिकांश गाउँमा सडक पुगे । सडकले गाउँलाई बजार, अस्पताल, विद्यालय र सरकारी सेवासँग जोड्यो । किसानले उत्पादन बजारसम्म पु¥याउन थाले, बिरामी अस्पताल पुग्न सहज भयो र दुर्गम गाउँको आवागमनमा उल्लेखनीय परिवर्तन आयो । तर सडक विस्तारको गति र सडक सुरक्षास्तरबीच सन्तुलन कायम हुन सकेन ।

धेरै ग्रामीण सडक प्राविधिक मापदण्डअनुसार निर्माण भएका छैनन् । कतै सडक साँघुरा छन्, कतै घुम्ती अत्यन्त जोखिमपूर्ण छन् । आवश्यक स्थानमा रिटेनिङ वाल, साइड वाल, नाली वा सुरक्षा रेलिङ छैन । कतिपय सडकको बाहिरी किनार सिधै गहिरो भीरतर्फ खुल्छ । यस्तो अवस्थामा सवारी मोड्न चालकले पटक–पटक ब्याक गर्नुपर्ने अवस्था आउँछ । हालैको सुगुरे दुर्घटना पनि यस्तै साँघुरो घुम्तीमा भएको थियो ।

सडक निर्माणमा देखिएको अर्को समस्या ‘डोजर संस्कृति’ हो । धेरै ठाउँमा विस्तृत प्राविधिक अध्ययन, भूगर्भीय परीक्षण वा वातावरणीय मूल्यांकनबिनै पहाड काटेर सडक खोल्ने प्रवृत्ति देखिएको छ । सडक खुलेपछि केही समय यातायात सञ्चालन हुन्छ, वर्षा सुरु भएसँगै पहिरो, सडक भासिने, ढुंगा खस्ने र सडक चिप्लिने समस्या दोहोरिन्छ । यसले सडकलाई दीर्घकालीन रूपमा असुरक्षित बनाउँछ ।

सार्वजनिक सवारी अभावले पनि दुर्घटना जोखिम बढाएको हो । ग्रामीण क्षेत्रमा एउटा जिपमै क्षमताभन्दा दोब्बर वा त्योभन्दा बढी यात्रु चढ्ने अवस्था सामान्यजस्तै बनेको छ । छतमा बसेर, पछाडि झुन्डिएर वा सामानमाथि बसेर यात्रा गर्ने दृश्य अझै पनि धेरै सडकमा देख्न सकिन्छ ।

यात्रु र चालक दुवैलाई जोखिमको जानकारी हुँदाहुँदै पनि विकल्प अभावले यस्तो अवस्था दोहोरिइरहेको छ । ट्राफिक व्यवस्थापन पनि अर्को चुनौती बनेको छ । जिल्लाका अधिकांश ग्रामीण सडकमा ट्राफिक प्रहरीको नियमित उपस्थिति छैन । सवारी साधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य, मादक पदार्थ सेवन, ब्रेक, टायर तथा यात्रु संख्याको प्रभावकारी अनुगमन हुन नसक्दा दुर्घटनाको जोखिम बढ्ने गरेको छ । सीमित जनशक्ति र दुर्गम भूगोलका कारण सबै सडकमा नियमित निगरानी गर्न कठिन हुने गरेको सरोकारवालाको भनाइ छ ।

मनसुन सुरु भएपछि बझाङका सडकको जोखिम अझ बढ्छ । धुलाम्मे सडक हिलोमा परिणत हुन्छन् । कतै पहिरोले सडक अवरुद्ध गर्छ भने कतै ढुंगा खस्छ । कतिपय स्थानमा खोलाले सडक बगाउँछ । यस्ता अवस्थामा पनि आवतजावत रोकिँदैन । दैनिक जीवनका आवश्यकता र सार्वजनिक यातायातको सीमितताले मानिसलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाउँछ ।

अब के गर्नुपर्छ ?
बझाङमा सडक दुर्घटनाको चक्र तोड्न सामान्य प्रतिबद्धताले मात्र पुग्दैन । सबैभन्दा पहिले जिल्लाभरका ग्रामीण सडकको प्राविधिक सुरक्षा परीक्षण (सेफ्टी अडिट) गरी ‘कुन सडक र कुन घुम्ती सबैभन्दा जोखिमयुक्त छन् ?’ भन्ने वैज्ञानिकरूपमा पहिचान गर्न आवश्यक छ । बारम्बार दुर्घटना हुने स्थानलाई ‘ब्ल्याक स्पट’ घोषणा गरी त्यस्ता क्षेत्रमा तत्काल सुधारका काम अघि बढाउनुपर्छ ।

जोखिमयुक्त घुम्ती फराकिला बनाउने, आवश्यक स्थानमा रिटेनिङ वाल, नाली र सुरक्षा रेलिङ निर्माण गर्ने तथा वर्षायाममा पहिरो र ढुंगा खस्ने सम्भावना भएका सडकमा विशेष निगरानी व्यवस्था गर्नुपर्छ । सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई कडाइसाथ नियन्त्रण गर्नुका साथै सवारी साधनको नियमित प्राविधिक परीक्षण र चालकका लागि पुनर्तालिमलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

यससँगै दुर्गम क्षेत्रमा ट्राफिक व्यवस्थापन विस्तार, स्थानीय तहमा उद्धार टोलीको क्षमता विकास, एम्बुलेन्स सेवा सुदृढीकरण र सञ्चार पहुँच सुधारमा पनि लगानी आवश्यक छ । सडक सुरक्षा केवल सरकारको दायिइभ्वमात्र होइन । चालक, यात्रु, यातायात व्यवसायी, स्थानीय तह र सुरक्षा निकाय सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेमात्र दुर्घटना जोखिम कम गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फाले युवक, सशस्त्र प्रहरीद्वारा १३० मिटर तलबाट शव निकालियो