काठमाडौं । नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को घुस र भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा घुस, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
विमानस्थल तथा हेलिप्याड निर्माण तथा विभिन्न आयोजनाका बस्तु तथा सेवा खरिद र निर्माण प्रक्रियामा भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । यस अघि पनि अधिकारीविरुद्धका विभिन्न मुद्दा विशेष अदालतमा विचाराधीन छन् । प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीले वस्तु तथा सेवा खरिदमा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रुपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको हो ।
प्राधिकरणको महानिर्देशक छँदा ओहोदाको दुरुपयोग गरी विभिन्न ठेक्काहरू स्वीकृत गर्न, रेखदेख गर्न र भुक्तानी दिने कार्यमा सेटिङ गरिदिए बापत १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अभियोगमा मंगलबार अर्को मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । आयोगले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट घुस कमिसन लिएको प्रमाणसहित मुद्दा दायर गरेको हो ।
प्राधिकरणका महानिर्देशक अधिकारीले घुसबापत प्राप्त भएको अवैध रकम लुकाउन ललितपुर महानगरपालिका–५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेको भेटिएको आयोगको अनुसन्धानमा उल्लेख छ । अधिकारीले घुसको रकमबाट १३ आना जग्गा खरिद गरेको पाइएको अनुसन्धानमा उल्लेख छ । सरकारी लिखतमा जम्मा ९१ लाख रुपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाएको पनि आयोगले अभियोजन पत्रमा उल्लेख गरेको छ ।
आयोगको अनुसन्धानबाट अधिकारीले १ करोड ७१ लाख रुपैयाँ अवैध स्रोतबाट प्राप्त भएको देखिएको दाबी गरेको छ । अधिकारीले आफ्नो कारोबार वैध देखाउन सरकारी लिखत सच्याउने तथा बैङ्क खाताहरूबाट अस्वाभाविक कारोबार देखाउने कार्य गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अख्तियारको ठहर छ ।
दुवै कसुरमा आयोगले अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई प्रतिवादी बनाएको छ । ढकाललाई घुस दिने र सम्पत्ति शुद्धीकरणमा सघाउने कार्यमा संलग्न रहेको आरोप छ ।
अधिकारीसँग दुवै मुद्दामा १ करोड ७१ लाख रुपैयाँ दरले बिगो कायम गरी सोही बराबरको जरिमाना र कैद सजायको माग गरेको छ । साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुर ५ को १३ आना जग्गा समेत जफत गर्न माग दाबी गरिएको छ ।






