
नेपाली राजनीतिको आकाशमा विश्वेश्वरप्रसाद कोइराला (बीपी) एउटा यस्तो नक्षत्र हुन्, जसको प्रकाश समयसँगै धमिलो होइन, झन् चम्किलो बन्दै गएको छ। नेपाली राजनीतिको मियो र वैचारिक धरातलका रूपमा बीपीलाई स्मरण गर्नु भनेको केवल इतिहासको एउटा पाना पल्टाउनु वा एउटा व्यक्तिको गुणगान गाउनु मात्र होइन, बरु वर्तमानको अन्योल चिर्न विगतको आलोकमा भविष्यको बाटो पहिल्याउनु हो। समयको निरन्तर बहावसँगै व्यवस्था बदलिए, पात्रहरू फेरिए र पुस्ताहरू परिवर्तन भए, तर बीपीको विचार, दर्शन र आदर्श आज पनि उत्तिकै जीवन्त छन्। उहाँ नेपाली राजनीतिका त्यस्ता दुर्लभ र सर्वकालीन राजनेता हुनुहुन्छ, जसले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम मात्र बनाउनुभएन, बरु त्यसलाई स्पष्ट वैचारिक दिशा, नैतिक उचाइ र मानवीय संवेदनाले समृद्ध बनाउनुभयो। ४४औँ स्मृति दिवसको सन्दर्भमा उहाँको योगदानलाई पुनः स्मरण गर्नु इतिहासप्रतिको सम्मान मात्र होइन, वर्तमान र भविष्यप्रतिको उत्तरदायित्व पनि हो।
नेपाली कांग्रेसको गौरवशाली इतिहास बीपीको सङ्घर्ष, दूरदृष्टि र नेतृत्वसँग अविच्छिन्न रूपमा जोडिएको छ। २००७ सालको प्रजातान्त्रिक क्रान्तिले नेपाललाई शताब्दी लामो जहानियाँ राणाशासनबाट मुक्त गराउँदा बीपी त्यस आन्दोलनका वैचारिक, सङ्गठनात्मक र राजनीतिक मेरुदण्ड हुनुहुन्थ्यो। उहाँका लागि क्रान्ति केवल शासन परिवर्तनको नाम थिएन; क्रान्ति भनेको नागरिक स्वतन्त्रता, जनअधिकार, सामाजिक न्याय र विधिको शासनमा आधारित आधुनिक नेपालको निर्माण थियो। त्यसैले २००७ सालको आन्दोलन केवल राजनीतिक परिवर्तनको घटना नभई नेपाली जनताको लोकतान्त्रिक चेतनाको ऐतिहासिक जागरण बन्यो। आज नेपाली समाजमा लोकतन्त्रको जुन आधार निर्माण भएको छ, त्यसको जगमा बीपीको त्याग, सङ्घर्ष र दृष्टि गहिरोसँग स्थापित छ।
त्यस सङ्घर्षको स्वाभाविक परिणामस्वरूप २०१५ सालको आमनिर्वाचन सम्पन्न भयो र नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्यो। बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। उहाँको नेतृत्वमा बनेको सरकारले केवल अठार महिनाको छोटो अवधिमा पनि आधुनिक नेपालको विकासदर्शनको बलियो खाका प्रस्तुत गर्यो। शिक्षाको विस्तार, प्रशासनिक सुधार, बिर्ता उन्मूलन, भूमि सुधार, कृषिमुखी अर्थनीति र जनमुखी शासनका प्रयासले उहाँको दूरदर्शी नेतृत्वलाई प्रमाणित गर्यो। “हलो जोत्ने किसानको पनि एउटा घर होस्, दुहुनो गाई होस् र छोराछोरीले पढ्न पाऊन्” भन्ने उहाँको सपना कुनै भावनात्मक अभिव्यक्ति मात्र थिएन, त्यो उत्पादन, श्रम, समान अवसर र सामाजिक न्यायमा आधारित समृद्ध नेपालको विकासदर्शन थियो।
तर नेपालको लोकतान्त्रिक यात्रा लामो समय सहज रहन सकेन। २०१७ सालको शाही कदमले जननिर्वाचित सरकारलाई अपदस्थ गर्यो, संविधान निलम्बन गरियो र बीपीसहितका नेताहरू जेल परे। इतिहासको त्यो कठिन मोडमा बीपीले एउटा असाधारण राजनीतिक र नैतिक उदाहरण प्रस्तुत गर्नुभयो। उहाँको शरीर बन्दी बनाइयो, तर विचारलाई कैद गर्न सकिएन। सुन्दरीजल जेलको कठोर जीवन होस् वा निर्वासनको पीडादायी समय, उहाँले कहिल्यै आफ्नो लोकतान्त्रिक विश्वास र सिद्धान्तसँग सम्झौता गर्नुभएन। उहाँका लागि लोकतन्त्र कुनै सत्ता प्राप्तिको साधन थिएन, त्यो मानव स्वतन्त्रताको आधार थियो। जेलमा लेखिएका ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ आज पनि एउटा राजनेताको आत्मसङ्घर्ष, राष्ट्रिय जिम्मेवारी र वैचारिक दृढताको अनुपम दस्तावेज बनेका छन्।
बीपीको राजनीतिक जीवनको सबैभन्दा उच्च बिन्दु २०३३ सालको राष्ट्रिय मेलमिलापको नीति हो। तत्कालीन दक्षिण एसियाको बदलिँदो शक्ति सन्तुलन, नेपालको राष्ट्रिय सुरक्षामाथिको चुनौती र आन्तरिक विभाजनको सम्भावित जोखिमलाई सूक्ष्म ढङ्गले विश्लेषण गरेर उहाँले लोकतन्त्र र राष्ट्रियतालाई एउटै सिक्काका दुई पाटा भएको स्पष्ट गर्नुभयो। स्वदेश फर्कने उहाँको निर्णय व्यक्तिगत राजनीतिक स्वार्थका लागि थिएन; त्यो राष्ट्रको अस्तित्व र भविष्यप्रतिको गहिरो जिम्मेवारीको अभिव्यक्ति थियो। “मेरो गर्धन र राजाको गर्धन एउटै किलामा बाँधिएको छ” भन्ने उहाँको भनाइले व्यक्तिको होइन, राष्ट्रको सुरक्षालाई केन्द्रमा राखेको थियो। आज नेपाल जटिल भू–राजनीतिक प्रतिस्पर्धाको बीचमा उभिएको अवस्थामा बीपीको राष्ट्रिय मेलमिलापको दर्शन झन् गहिरो रूपमा सान्दर्भिक देखिन्छ।
बीपी कोइराला केवल इतिहासको एउटा कालखण्ड मात्र नभई नेपाली राजनीतिको कहिल्यै ननिभ्ने वैचारिक आलोक हुन्। वर्तमानको वैचारिक खडेरी र नैतिक संकट चिर्न उनको ‘लोकतान्त्रिक समाजवाद’ र ‘राष्ट्रिय मेलमिलाप’ नै आजको निर्विकल्प दिशाबोध हो।
बीपीको लोकतान्त्रिक समाजवाद आजको आर्थिक र सामाजिक बहसको केन्द्रमा पुनः फर्किनुपर्ने विचार हो। उहाँ न त राज्यद्वारा पूर्ण नियन्त्रण गरिएको समाजवादको पक्षमा हुनुहुन्थ्यो, न त अनियन्त्रित पुँजीवादको। उहाँले सामाजिक न्याय, उत्पादन वृद्धि, उद्यमशीलता, श्रमको सम्मान, अवसरको समानता र लोकतान्त्रिक स्वतन्त्रताबीचको सन्तुलनलाई प्राथमिकता दिनुभयो। उहाँका लागि विकासको अर्थ केवल ठूला भवन, सडक वा भौतिक संरचना निर्माण होइन; विकास भनेको सामान्य नागरिकको जीवनस्तरमा आएको सकारात्मक परिवर्तन हो। आज बेरोजगारी, गरिबी, कृषि उत्पादनको ह्रास, युवा पलायन र आर्थिक असमानता बढिरहेका बेला बीपीको उत्पादनमुखी, श्रममुखी र जनमुखी आर्थिक सोच नेपालको दीर्घकालीन समाधानका रूपमा पुनः अध्ययन गर्नुपर्ने आवश्यकता छ।
बीपीको अर्को विशिष्ट योगदान उहाँको साहित्यिक व्यक्तित्व हो। उहाँ केवल राजनीतिका सफल नेता मात्र होइन, नेपाली साहित्यका युगान्तकारी स्रष्टा पनि हुनुहुन्थ्यो। ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’ लगायतका कृतिमार्फत उहाँले नेपाली समाज, मानवीय संवेदना, प्रेम, यौनमनोविज्ञान, अस्तित्व र स्वतन्त्रताको गहिरो विश्लेषण गर्नुभयो। उहाँको साहित्यले राजनीतिभन्दा पर मानवताको दर्शन प्रस्तुत गर्छ। राजनीतिमा उहाँले सामूहिक मुक्ति खोज्नुभयो भने साहित्यमा व्यक्तिगत स्वतन्त्रताको गहिरो अर्थ उजागर गर्नुभयो। यही कारण उहाँको साहित्य आज पनि समकालीन र प्रेरणादायी छ।
बीपीले पार्टी सञ्चालनमा पनि एउटा उच्च लोकतान्त्रिक संस्कार स्थापित गर्नुभयो। उहाँले नेपाली कांग्रेसलाई कुनै व्यक्तिको निजी सम्पत्ति वा व्यक्तिपूजामा आधारित सङ्गठन बनाउनुभएन। कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शमशेरलगायत समकालीन नेताहरूलाई समान सम्मान दिँदै सामूहिक नेतृत्वको परम्परा विकास गर्नुभयो। विचारको बहस, आन्तरिक लोकतन्त्र, असहमतिको सम्मान र संस्थागत निर्णय प्रक्रियालाई उहाँले सधैँ प्राथमिकता दिनुभयो। आज जब अधिकांश राजनीतिक दलहरू व्यक्तिकेन्द्रित बन्दै गएका छन् र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ, बीपीको त्यो सङ्गठनात्मक संस्कार अझ बढी अनुकरणीय बनेको छ।
तरुण पुस्ताप्रतिको बीपीको विश्वास पनि असाधारण थियो। उहाँका दृष्टिमा युवाहरू कुनै राजनीतिक भीडका सदस्य मात्र थिएनन्, उनीहरू परिवर्तनका संवाहक, राष्ट्र निर्माणका अग्रदूत र भविष्यका नेतृत्वकर्ता थिए। अध्ययन, विश्लेषण, प्रश्न गर्ने साहस, नैतिकता र सामाजिक उत्तरदायित्वका आधारमा राजनीति गर्नुपर्ने उहाँको आग्रह आज पनि उत्तिकै सान्दर्भिक छ। आजको समयमा राजनीतिप्रति निराशा, वैदेशिक पलायन र अवसरको खोजीमा देश छोड्ने प्रवृत्ति बढिरहेका बेला बीपीको विचारले युवालाई राष्ट्रप्रतिको दायित्व र मूल्यमा आधारित नेतृत्वको प्रेरणा दिन्छ।
आज नेपाली कांग्रेस र समग्र नेपाली राजनीतिले गम्भीर वैचारिक चुनौती सामना गरिरहेको छ। राजनीति सेवाको माध्यमभन्दा सत्ता, स्वार्थ र अवसरको खेलजस्तो देखिन थालेको छ। यस्तो अवस्थामा बीपीको स्मृति दिवस केवल औपचारिक कार्यक्रमको विषय बन्नु हुँदैन। कांग्रेसले आफ्नै इतिहाससँग इमानदार भएर आत्मसमीक्षा गर्नुपर्छ। बीपीको लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, राष्ट्रियता, संस्थागत नेतृत्व र जनमुखी शासनको मार्गलाई व्यवहारमा उतार्न सके मात्र कांग्रेसले आफ्नो ऐतिहासिक औचित्य जोगाउन सक्छ। अन्यथा वैचारिक पहिचान गुमाउँदै जाने खतरा अझ बढ्नेछ।
बीपी कोइराला एउटा व्यक्ति मात्र होइनन्; उहाँ एउटा विचार, एउटा युग, एउटा नैतिक आदर्श र एउटा लोकतान्त्रिक संस्कार हुनुहुन्छ। उहाँले देखाएको बाटो कठिन अवश्य छ, तर त्यही बाटोले मात्र समृद्ध, न्यायपूर्ण, स्वाभिमानी र लोकतान्त्रिक नेपाल निर्माण गर्न सक्छ। बीपीप्रति सच्चा श्रद्धाञ्जली उहाँको तस्बिरमा फूल चढाउनु वा औपचारिक कार्यक्रम गर्नु मात्र होइन; उहाँले देखाउनुभएको सत्य, नैतिकता, लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र जनसेवाको मार्गलाई व्यवहारमा उतार्नु हो।
आज देश राजनीतिक सङ्क्रमण, आर्थिक चुनौती, सामाजिक निराशा र वैचारिक अन्योलको मोडमा उभिएको छ। यस्तो बेला बीपीका विचारहरू केवल इतिहासका दस्तावेज होइनन्, वर्तमानका मार्गदर्शक र भविष्यका दिशासूचक हुन्। यदि हामीले उहाँको विचारलाई स्मृतिमा सीमित नराखी व्यवहारमा रूपान्तरण गर्न सक्यौँ भने नेपाली लोकतन्त्रले नयाँ ऊर्जा प्राप्त गर्नेछ। बीपी सधैँ स्मरणका पात्र मात्र होइन, प्रेरणाका स्रोत, आचरणका आदर्श र राष्ट्र निर्माणका शाश्वत पथप्रदर्शकका रूपमा हाम्रो चेतनामा जीवित रहिरहनुहुनेछ।
खत्री नेपाल तरुण दलको निवर्तमान केन्द्रीय सदस्य हुन् ।











