‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

झापा । अर्जुनधारा–९ स्थित शनिश्चरे नगर अस्पताल निःशुल्क आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै मातृ तथा शिशु स्वास्थ्य सेवाको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

गुणस्तरीय सेवा, दक्ष चिकित्सक, निःशुल्क शल्यक्रिया तथा एम्बुलेन्स सुविधाका कारण अस्पतालमा सुरक्षित सुत्केरी गराउने गर्भवतीको संख्या निरन्तर बढिरहेको अस्पतालले जनाएको छ।

विसं २०७७ देखि नगर अस्पतालका रूपमा सेवा सुरु गरेको अस्पतालले २०८१ असार २० गतेदेखि नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काका अनुसार कार्यक्रम सुरु भएयता हालसम्म ५५५ महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। तीमध्ये २२४ जनाको शल्यक्रियामार्फत र बाँकीको सामान्य प्रसूति गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै २६० गर्भवतीले अस्पतालबाट प्रसूति सेवा लिएका छन्। तीमध्ये १०० जनाको शल्यक्रिया तथा १६० जनाको सामान्य प्रसूति भएको अस्पतालले जनाएको छ।

शाखा प्रमुख खड्काले नियमित गर्भजाँचदेखि निःशुल्क प्रसूति, आवश्यक परे शल्यक्रिया, औषधि, परामर्श तथा निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइँदै आएकाले सेवाग्राहीको विश्वास बढ्दै गएको बताए।

अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दिप्ती कुँवरको नेतृत्वमा प्रसूति सेवा सञ्चालन भइरहेको छ। सुत्केरी हुन आउने महिलालाई अस्पताल आउँदा वा फर्कँदा एकपटक निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइँदै आएको छ।

अर्जुनधारा नगरपालिकासहित मेचीनगर, बिर्तामोड, कन्काई, बुद्धशान्ति तथा इलामका सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाबाट समेत गर्भवती महिलाहरू सेवा लिन आउने गरेका छन्। यसले अस्पतालको सेवा क्षेत्र क्रमशः विस्तार हुँदै गएको देखाएको छ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरस्तरबाट निःशुल्क सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने अभियान देशकै नमूना बन्दै गएको दाबी गरे। दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार र निःशुल्क सेवाका कारण अस्पतालप्रति नागरिकको विश्वास बढेको उनले बताए।

१५ शय्याको स्वीकृति प्राप्त शनिश्चरे नगर अस्पतालले हाल ६० शय्यासम्म सेवा विस्तार गरिसकेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। योगेश चेम्जोङका अनुसार दैनिक ५०० भन्दा बढी बिरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन्। आगामी दिनमा दन्त सेवा, फिजियोथेरापी तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

अस्पतालले आर्थिक वर्ष २०८२/८३ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८१ अंक प्राप्त गर्दै झापा जिल्लामै उत्कृष्ट अस्पताल बन्न सफल भएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रालयले मुलुककेन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल