इलाम । ठेक्का लिएर निर्माण कम्पनीले काम नगरेका कारण लामो समयदेखि अलपत्र पारेपछि भन्ज्याङ–बेलासे सडकमा स्थानीयले विरोध स्वरुप रोपाइँ गरेका छन् ।
सडक हिलाम्मे बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध गरेका छन् । इलामबाट झापा पुग्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको मेची कोरिडोर अन्तर्गत भन्ज्याङ–बेलासे सडक निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौँदेखि अलपत्र परेको छ ।
सडक हिलाम्मे बनेपछि स्थानीयले सडकमा धान रोपेर सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् । भन्ज्याङदेखि बेलासे सम्मको सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे बन्दै आएको छ ।
भन्ज्याङदेखि बेलासे सम्मको खण्ड ९.४ किलोमिटरको ठेक्का २७ करोड २१ लखमा ठेक्का लागेको थियो । २९ असार २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी कृष्ण–सक्षम जेबीसँग ठेक्का सम्झौता गरिएको उक्त सडक पाँच वर्ष बितिसक्दा आधा पनि काम भएको छैन ।
सडकको प्रगति ४६ प्रतिशत रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ठेक्काको म्याद २०८० पुससम्म थियो । तर, काम नसकिएपछि १८ असार २०८२ मा सक्ने गरी म्याद थपिएको थियो । त्यसपछि २०८२ फागुनमा पुनः २०८३ असोजमा काम सक्ने गरी म्याद थप गरिएको थियो । पटक–पटक म्याद थप, लिखित तथा स्पष्टीकरण माग्दा पनि निर्माण कम्पनीले अटेर गर्दै सडक अलपत्र बनाएको हो । उक्त निर्माण कम्पनीका प्रमुख डम्बर खड्का इलामका प्रभावशाली नेता हुन् । आफ्नै जिल्लाको महत्ववपूर्ण आयोजना समयमै सम्पन्न गर्न नसक्दा इलामेलेले नै भोग्नुपरेको भन्दै स्थानीय धान रोप्न बाध्य छन् ।
कालोपत्रेसम्मको काम सक्ने गरी ठेक्का लागेकामा ५ वर्ष बित्न लाग्दा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको डिभिजनले जनाएको छ । ‘सडक चौडा बनाउने, नाली, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब बेस, बेस र कालोपत्रे गर्ने काम ठेक्कामा रहे पनि एक फिट पनि कालोपत्रेको काम भएकै छैन । न त बेस नै बनेको छ,’ डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘अहिलेसम्म ५–६ किलोमिटर सब बेससम्म बनाइएको छ, त्यो पनि कामको ढिलाइले पानीले बगाएर क्षतविक्षत बनाउँदै छ ।’
काम अघि नबढाएपछि सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएपछि कृष्ण–सक्षम जेबीका अर्का व्यक्ति रत्न बहादुर खड्का काम गर्ने भन्दै सम्पर्कमा आएपछि तत्काललाई ठेक्का तोड्ने काम रोकिए पनि काम सुरु हुन सकेको छैन ।
एक महिनामा बेसको काम गर्ने भनेर आएका रत्न खण्डकाले अहिले सम्म काम नथाल्नु म्याद थपको खेल मात्रै देखिएको स्थानीयको गुनासो छ । समयमा काम नगरेको निर्माण कम्पनीले वर्षा, पहिरो, आन्दोलन, विद्युत् पोल स्थानान्तरण र कामदार अभावजस्ता कारण देखाउँदै आएको थियो । भन्ज्याङ–बेलासे सडक समयमै सम्पन्न भएको भए राज दुवाली क्षेत्रमा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध हुँदा पनि इलामको यातायात सहज सञ्चालन हुने पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए ।
उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार हाल राज दुवाली खण्डबाट कुनै पनि सवारीसाधन वारपार गर्न सक्ने अवस्था छैन । निरन्तर वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालन हुने सम्भावना पनि नरहेको र सिमल गोलाई–तिल्केनी वैकल्पिक सडकको अवस्था पनि उस्तै जटिल छ । ‘अन्य ढुवानीको कुरा त परै जाओस्, अहिले बिरामीलाई समेत स्ट्रेचरमा बोकेर वारपार गराउनुपर्ने अवस्था छ’, पौडेलले भने ।
२७ दिन यता मेची राजमार्गको माई खोलास्थित राज दुवाली सडक अवरुद्ध छ । पानी परिसक्दा जमिन नै बग्ने र सडक भासिने समस्याले अहिले यातायात पूर्ण रूपमा बन्द गरेर मर्मतको काम भइरहेको छ । माई खोलामा काम भइरहेपनि राजमार्ग नै चुट्टिएको कारण सडक सञ्चालन हुन सकेको छैन । अहिले खोलाबाटै कङ्क्रिट वाल उठाउने काम र सडकफिलिङ भइरहेको सडक डिभिजन इलामले जनाएको छ । जति सक्दो चाँडो सडक खुलाउने गरी काम भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए ।
सम्बन्धित समाचार
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
झापा जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट
नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
धिमाल समुदायको मातृभाषा संरक्षणमा जोड
झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता
नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात






