बाजुराका ठाउँठाउँमा बाढी पहिरोको वितण्डा

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बेपत्ता बनेकी बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुकी २० वर्षीया प्रतीक्षा थापालाई घरभित्रै मृत फेला पारिएको छ ।

पहिरोमा परी सोही ठाउँका करिब ४० वर्षीय धर्म थापा घाइते भएका छन् । उनको बायाँ खुट्टा तथा शरीरमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

त्यस्तै, डम्म थापाकी छोरी करिब ४० वर्षीया धौलीदेवी रावल पनि घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको छ ।

स्थानीय टेकबहादुर थापाले घटना’bout प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी बडीमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । तर, ताम्सुखोलामा पानीको बहाव अत्यधिक बढेका कारण प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न सकेन ।

स्थानीयसँग टेलिफोनमार्फत गरिएको जानकारीअनुसार ताम्सुमा बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परेर क्षति भएको छ । पहिरोमा परेका सोही परिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि आज बिहान करिब ४ बजे प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी बेश क्याम्पबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो ।

हिजो राति नै गौमुल गाउँपालिका–२ स्थित गताडीमा दुई घरमा क्षति पुगेको छ । बिहीबार बेलुकीदेखि लगातार परेको वर्षाका कारण गताडीमा घरमाथिबाट पहिरो खसेर स्थानीय जोगी विकको घरसहित दुई घरमा क्षति पुगेको हो । पहिरोका कारण घर जोखिममा परे पनि मानवीय क्षति भने नभएको वडाध्यक्ष देवबहादुर रोकायाले बताए ।

पहिरोपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको वडाध्यक्ष रोकायाले बताएका छन् ।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन आज शुक्रबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।

ताम्सु क्षेत्र प्रहरी चौकी बडीमालिकाबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीको बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको खोजी तथा पहिरोमा क्षति पुगेका घरपरिवारको उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको छ । प्रहरीले स्थानीयलाई समेत सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै