अविरल वर्षासँगै नालीमा बगेका आमाछोरीको मृत्यु

पोखरा । पोखरामा शुक्रबार दिउँसो परेको अविरल वर्षासँगै सडकको नाली बगेर गम्भीर घाइते भएका आमाछोरी दुबैको मृत्यु भएको छ ।
पोखरा–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीकाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

आमा सुष्माको राति ९ बजेर ४० मिनेटमा र छोरीको शनिबार बिहान १ बजेर २१ मिनेटमा गण्डकी मेडिकल कलेज, नयाँबजारमा निधन भएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

बिरौटादेखि पृथ्वीचोकतर्फ जाने क्रममा ग १३ प २८५९ नम्बरको स्कुटर बिग्रिएपछि रोक्ने क्रममा पोखरा–१७, एयरपोर्ट नजिकै हर्क मेयर चोकमा एक्कासि छोरी नालीमा खसेकी थिइन् । छोरीलाई बचाउने क्रममा आमा सुष्मा पनि सँगै नालीमा बगेकी हुन् । उनीहरु करिब ५ सय मिटर तलसम्म बगेकामा बिरौटामा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । स्कुटर सुष्माका पतिले चलाएको बताइएको छ ।

घाइते उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । बाहिरी चोट केही नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको थियो । उनीहरुले धेरै पानी खाएको तथा निसास्सिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पोखरामा ठूलो वर्षा हुनासाथ सडक तथा नाली भरिदाँ सर्वसाधारणलाई हिँडडुल तथा सवारी चलाउन निकै समस्या पर्दछ । विगतमा पनि यसप्रकारका घटनाले धेरैले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा