भोटेकोशी बाढी: ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ ।

परराष्ट्र मन्त्री शिशिर खनालले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरू’bout औपचारिक जानकारी दिएको हो । परराष्ट्र मन्त्री खनालकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ सय ८७ विदेशी नागरिकसहित ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । विपद्मा परी हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने करिव २ हजार ४ सय व्यक्ति अझै बेपत्ता छन् । खोजी र प्रमाणीकरणको कार्य जारी रहेकाले हताहती र क्षतिको संख्यामा फेरबदल हुनसक्ने भन्दै मन्त्रालयले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाहरूमा सुरक्षा निकाय, प्रादेशिक तथा स्थानीय सरकार र स्वास्थ्यकर्मीहरूको टोली निरन्तर खटिएको छ । जटिल भौगोलिक अवस्था र सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले छिमेकी मुलुकहरूसँग विशेष प्रविधि र जनशक्ति माग गरेको छ ।

यसै क्रममा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य शुरु गरिसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली शीघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिए। भारतबाट हालसम्म ५७ टनसभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ । चीन, जापान र अष्ट्रेलिया लगायतका मुलुकहरूले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भनी केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गरे । उनले भने, ‘विनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुन:स्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ ।’

विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोडमार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, नेपाल भ्रमणका लागि असुरक्षित रहेको भन्ने भ्रमलाई चिर्दै मन्त्री खनालले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, जनकपुरका साथै अन्नपूर्ण र एभरेष्ट क्षेत्र लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र सञ्चालनमा रहेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अर्थतन्त्र सबल बनाउन पर्यटनमार्फत सहयोग गर्न अपिल गरे ।

सरकारले बाढी र हिम पहिरोको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना अघि सारेको छ । भोटेकोशी र अन्य नदी प्रणालीहरूमा पूर्व सूचना प्रणाली जडान गर्ने र यस्ता प्राकृतिक प्रकोप’bout विस्तृत अनुसन्धान गरिने मन्त्री खनालले बताए । यसका लागि त्रिभुवन विश्वविद्यालय र चिनियाँ एकेडेमी अफ साइन्सेसबीचको संयुक्त संयन्त्रमार्फत अनुसन्धान कार्य अघि बढाइने उनको भनाइ छ ।

मन्त्रालयले विदेशी नागरिकहरूको पहिचान र सम्पर्कका लागि ‘डेडिकेटेड इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरेको छ र कूटनीतिक नियोगहरू मार्फत निरन्तर समन्वय गरिरहेको छ । विपद्को यस घडीमा प्राप्त अन्तर्राष्ट्रिय सद्भाव र सहयोगप्रति सरकारले विशेष आभार प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट