काठमाडौं । विनाशकारी भोटेकाशी बाढीपछि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।
एनसेलले गत बुधबारदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको हो।
कम्पनीका अनुसार बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहक निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको छ। सुरुमा बुधबारदेखि तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो।
ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य आइतबारसम्ममा १ करोड रुपैयाँभन्दा बढी पुगेको एनसेलले जनाएको छ। डाउन भएका मोबाइल टावरको संख्या क्रमशः घट्दै गएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीको भनाइ छ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेका एक–एक वटा तथा नुवाकोटको त्रिशूली, विदुरमा रहेको एउटा टावरमा भौतिक क्षति पुगेको आशंका गरिएको छ।
यसैबीच, संकटको समयमा ग्राहक निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सेवा पुनः सक्रिय गरिदिएको छ। ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ तथा इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई कम्पनीले पुनः सक्रिय गरिदिएको हो।
सेवा पुनः सक्रिय गरिएका ग्राहकले पनि एनसेलले उपलब्ध गराएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन्।
कम्पनीका अनुसार यसबाट विपद्को कठिन अवस्थामा प्रभावित ग्राहकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सहज भएको छ।
सम्बन्धित समाचार
साउनमा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री, बजारमा अभाव उस्तै
प्रधानमन्त्री कार्यालयको अनुरोध : खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिनूस्
दुई दिनमा तोलाको १२ हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ आज कारोबार ?
कमजोर बन्दै अमेरिकी डलर, मजबुत बन्दै थाई भाट
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
सुनको मूल्य २ हजार ४ सयले घट्यो, चाँदीको स्थिर
माटोमुनि पुरिएकी बालिकाको उद्धार
विपद्मा धनगढीको ऐक्यबद्धतास् बाढीपीडितका लागि ४१ लाख सहयोग






