‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन । आज (बुधबार) प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न उठाएका हुन । उनले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको भन्दै आपत्ति समेत व्यक्त गरे । उनले भने, ‘सरकारको मुख्य नेतृत्व आज आउनु भयो केही ब्रिफिङ गर्नुभयो यस अर्थमा धन्यवाद भन्छु ।

तर अरुलाई पनि विश्वासमा लिनुपर्थ्यो । संसद्‌लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहेनत गरेको मैले चाहिँ देख्दिनँ, ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन ।

प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका ?’ उनले प्रधानमन्त्री बालेन शाहलाई ठूलो अवसर प्राप्त भएको र यसलाई गुमाउन नहुने पनि बताएका छन ।

प्रचण्डले भने, ‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ । उहाँलाई अवसर प्राप्त छ । गुम्न दिनुहुँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छ भने, यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको, धेरै लामो भाषण होइन ‍नेतृत्व खोजेको छ देशले । जनताले आश्वासन खोजेका छैनन् ।

हरेक ठाउँमा सरकारको उपस्थित खोजेका छन्,’ उनले थपे, ‘सोसल मिडियामा पोस्ट हैन । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन ।’

आज देश संकटमा रहेकोले सबैको एकता आवश्यकता रहेको प्रचण्डको भनाइ छ । सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे । उनले भने, ‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस् । एकजुट त मैले पारेर हुँदैन । हिजो त हुने जमाना थियो । अहिले अर्को जमाना आएको छ तपाईंहरूको ।

तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो,’ उनले भने, ‘उहाँले गम्भीर भएर सबैको विश्वासको जित्न सक्नु भएन भने समयले नपर्खिनसक्छ उहाँलाई पनि । यति ध्यान रहोस् ।’

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह