गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्र निर्माण भएका घरहरुको बीमा गरिदिने भएको छ । विभिन्न कारणबाट हुने क्षतिबाट पुननिर्माणमा सहयोग पुग्ने उदेश्यले घरबीमा कार्यक्रम अगाडी बढाइएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कच्ची घर, पक्की घर, व्यापारिक प्रयोजनका लागि बनाइएका भवन, गोठ लगायतका संरचनाको आवश्यक कागजपत्र वडा कार्यालयमा पेश गर्न आग्रह गरेको प्रशासन शाखा प्रमुख राम प्रसाद ज्ञवालीले जानकारी दिए । यो कार्यक्रमका लागि पालिकाले चालु आर्थिक बर्षमा पाँच लाख बजेट बिनियोजन गरेको छ ।
हाल रुरुक्षेत्र गाउँपालिकामा कच्ची र पक्की गरी करिब चार हजार दुई सय घरहरु रहेका छन् । जसमध्ये बीमा कम्पनीले पाँच लाखसम्म मूल्याकंन गर्दा आउने प्रिमियम गाउँपालिकाले तिरिदिने र त्यो भन्दा बढीको मूल्याकंन भएमा पाँच लाखभन्दा बढीको मूल्यांकन रकमको प्रिमियम घरधनीले तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ । अहिले निर्जिवन बीमा कम्पनीहरुबाट आशय पत्र लिने काम र सम्बन्धित घरधनीका आवश्यक कागजपत्र संकलन गर्ने काम एकसाथ भइरहेको ज्ञवालीले बताए ।
घरबीमा गर्नको लागि पालिकाले ‘रुरुक्षेत्र गाउँपालिकाभित्रका अभिलेखिकृत घरबीमा कार्यक्रम संचालन–२०८३’ कार्यपालिकाबाट स्वीकृत गरेको छ । बाढी, पहिलो, भूकम्प, आगलागी, चट्याङ जस्ता प्राकृतिक तथा गैर–प्राकृतिक विपतको उच्च जोखिमलाई ध्यानमा राख्दै पालिकाले घरबीमा कार्यक्रम अगाडी बढाएको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
‘विभिन्न कारणले नागरिक घरबारबिहीन हुने अवस्था छ, संघीय र प्रदेश सरकारले मनसुनजन्य पीडितका रकम पनि पठाएका छैनन् ।’ उनले भने, ‘घरबीमा गरायौँ भने त्यो झन्झट पनि हटेर जानेछ ।’











