सुनसान टिमुरेमा बेपत्ताको खोजी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ । सडक तथा सञ्चार सञ्जाल विच्छेद भएपछि बाढीमा बेपत्ता भएकाको खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली निरन्तर खटिरहेको छ ।

९७ शव फेला, २ हजार बढी अझै बेपत्ता

बाढीले टिमुरे क्षेत्रका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि दुई हजार एक सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । प्रतिकूल भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरीले बाढी आएकै दिनबाट निरन्तर खोज तथा उद्धार अभियान जारी राखेको छ ।

सशस्त्र प्रहरीले हालसम्म टिमुरे क्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारेको जनाएको छ । बाढीमा स्थानीय बासिन्दाका साथै सुरक्षाकर्मी, नेपाली तथा विदेशी पर्यटकसमेत सम्पर्कविहीन छन् ।

खोजी कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ड्रोन क्यामेरा र तालिमप्राप्त केनाइन डगसमेत प्रयोग गरिरहेको छ । प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राईको कमान्डमा ३० जनाभन्दा बढी सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिएको छ । टोलीमा गोताखोर, रोप रेस्क्यु तथा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त सुरक्षाकर्मीसमेत छन् ।

खोज तथा उद्धारमा खटिएको प्रहरी टोलीले टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेपछि थपको जिवित उद्धारको प्रयास जारी छ ।

स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डसहितका मुख्य सडकमा बाढी तथा पहिरोले करिब ४१ वटा पुल बगाएपछि प्रभावित क्षेत्रमा आवतजावत र उद्धार सामग्री पु¥याउन थप कठिनाइ भएको सुरक्षाकमीृहरु बताउँछन् ।

१३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट संकलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोंगा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव संकलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लगिएको छ ।

जलविद्युत् गृहमा फसेकाको उद्धारमा कठिनाइ
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन ।

स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।

विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज, उद्धार तथा राहत जारी राखेको छ । भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीसमेत नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी परिचालन भएका छन् ।

चार देशका उद्धार टोली
भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीसमेत नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी परिचालन भएका छन् ।

भारतको सुरुङ उद्धार टोली रसुवाको लाङटाङ र चिलिमे क्षेत्रमा खटिएको छ । सुरुङभित्र माटो र ढुंगा भरिएकाले उद्धारका लागि थप काम गर्नुपर्ने अवस्था रहेको सरकारले जनाएको छ । चिनियाँ टोली अपर त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा खटिएको छ भने दक्षिण कोरियाली टोली अपर त्रिशूली–१ को सुरुङमा उद्धार कार्यमा संलग्न छ ।

बाढीमा परी बेपत्ता भएकाको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीसमेत परिचालन भएका छन् । नेपाल प्रहरीसँगको सहकार्यमा १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले डीएनए परीक्षण गरिरहेको छ ।

चीनबाट आएको पाँच सदस्यीय टोलीले समेत काम थालेको छ । सिंगापुरबाट विपद् पीडित पहिचानसम्बन्धी टोली आएको छ ।

नेपाल फर्काउन चीनको सहजीकरण
चीन सरकारले विदेशी नागरिकलाई अन्य सीमा नाकामार्फत फर्काउन सहजीकरण गरिरहेको सरकारले जनाएको छ । कैलाश यात्रामा रहेका अनुमानित ३ हजारमध्ये करिब २ हजार ५ सय जना हिल्सा र तातोपानी नाकाबाट फर्किसकेका छन् । केरुङमा करिब १ हजार ५ सय नेपाली रहेको र उनीहरूलाई चाँडै फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको सरकारले जनाएको छ ।

केरुङमा रहेका १ सय ७६ नेपाली ट्रक तथा कन्टेनरलाई उपयुक्त नाकाबाट पुनः सञ्चालन हुने गरी रुट व्यवस्थापन गर्न पनि चीनसँग समन्वय भइरहेको छ । बाढीको दिन चिनियाँ सीमातर्फ करिब १ सय नेपाली नागरिक सम्पर्कविहीन रहेको सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाएका जवान कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली अर्पण