रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ।

यस घटनाले हिमताल विस्फोट मात्रै नभई हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षाजस्ता कारणबाट पनि हिमाली क्षेत्रमा एक्कासि ठूलो विपद् निम्त्याउन सक्ने देखाएको छ।

सगरमाथाको जिल्ला सोलुखुम्बु पनि यस्ता जोखिमबाट अछुतो छैन। जिल्लाको खुम्बु क्षेत्रमा विगतमा हिमताल विस्फोट तथा त्यसबाट उत्पन्न बाढीका घटना भइसकेका छन्।

सन् १९८५ मा डिग छो हिमताल विस्फोटबाट आएको बाढीले मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो भने सन् १९९८ मा ताम पोखरीमा पनि हिमताल विस्फोट भएको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अध्ययनले डिग छो र ताम पोखरीलाई दूधकोशी जलाधारमा विगतमा हिमताल विस्फोट भएका महत्वपूर्ण उदाहरणका रूपमा अभिलेख गरेको छ।

त्यसपछि २०८१ साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा आएको बाढीले सोलुखुम्बुको हिमाली भूभागमा विपद्को जोखिम कति गम्भीर छ भन्ने पुनः देखायो।

जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२४ अगस्त १६ मा थामे खोलामा आएको बाढी दुई आपसमा जोडिएका हिमतालमध्ये माथिल्लो तालमा गएको सानो पहिरोका कारण तल्लो तालमा पानीको बहाव बढेर ताल फुटेको हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो।

विभागका अनुसार घटनापछि थामेदेखि ओखलढुङ्गासम्मका तल्लो तटीय क्षेत्रमा करिब एक लाख ४२ हजार मानिसलाई मोबाइलमार्फत पूर्वसूचना सन्देश पठाइएको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को पछिल्लो अध्ययनले भने थामे घटनालाई अझ जटिल भौगोलिक प्रक्रियाको परिणामका रूपमा व्याख्या गरेको छ।

अध्ययनअनुसार करिब चार हजार नौ सय मिटर उचाइमा चट्टानी पहिरो हिमतालमा खस्दा ठूलो छाल उत्पन्न भएको र त्यसपछि तालको बाँध भत्किँदा करिब एक लाख ५६ हजार घनमिटर पानी बाहिरिएको थियो।

इसिमोडले सगरमाथा क्षेत्रलाई हिमनदी तथा हिमतालसँग सम्बन्धित विपद्को दृष्टिले संवेदनशील क्षेत्रका रूपमा उल्लेख गर्दै जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएको छ।

यस दृष्टिले रसुवाको पछिल्लो बाढी सोलुखुम्बुका लागि पनि एउटा महत्त्वपूर्ण चेतावनी बनेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाको भनाइ छ।

हिमाली क्षेत्रमा विपद्को स्वरूप परिवर्तन हुँदै गएको अवस्थामा जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी, पूर्वसूचना प्रणाली र स्थानीय समुदायको तयारीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

सोलुखुम्बुमा हिमतालको अवस्था

सोलुखुम्बु हिमनदी तथा हिमतालका दृष्टिले नेपालको महत्त्वपूर्ण हिमाली जिल्ला हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०२४ मा नेपालका हिमनदी तथा हिमतालको तथ्याङ्क समेटिएको छ।

उक्त प्रकाशनमा सोलुखुम्बुसँग सम्बन्धित सम्भावित खतरनाक हिमतालको विवरण राख्दा सन् २०१० को राष्ट्रिय अनुकूलन कार्यक्रमलाई स्रोतका रूपमा प्रयोग गरिएको छ।

सरकारी अभिलेखमा लुम्दिङ छो, डिग छो, इम्जा छो, तामपोखरी, दूधपोखरी, हुङ्गु, इस्ट हुङ्गुका विभिन्न ताल, वेस्ट चाम्जाङ तथा केही नाम नदिइएका ताललगायतका हिमताल सूचीकृत छन्।

उक्त अभिलेखमा सोलुखुम्बुका १२ वटा हिमतालको नाम प्रविष्टि देखिन्छ। तर हिमतालको जोखिमसम्बन्धी तथ्याङ्कलाई समयसँगै अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिन्छ।

नेपालमा रहेका २१ वटा सम्भावित खतरनाक हिमतालमध्ये नौवटा दूधकोशी उपजलाधारमा रहेको अध्ययनले देखाएको छ।

दूधकोशी उपजलाधारका हिमताल’bout इसिमोडका विभिन्न अध्ययनले हिमनदीको पछाडि हट्ने क्रमसँगै केही हिमताल विस्तार हुँदै गएको देखाएका छन्।

सन् २००९ मा प्रकाशित अध्ययनमा दूधकोशी बेसिनमा १२ वटा सम्भावित खतरनाक हिमताल पहिचान गरिएको थियो। थप स्थलगत अध्ययनपछि केही ताललाई जोखिम सूचीबाट हटाउन सकिने र केहीको आकारमा खासै परिवर्तन नभएको पाइएको थियो भने केही ताल निरन्तर बढिरहेको उल्लेख थियो।

सो अध्ययनले इम्जा छो, लुम्दिङ, वेस्ट चाम्जाङ, हङ्गु तथा ताम पोखरीलगायतका ताललाई विभिन्न तहमा अध्ययन तथा निगरानी गर्नुपर्ने देखाएको थियो।

सन् २००९ को अध्ययनमा इम्जा छो तीव्र गतिमा विस्तार भइरहेका हिमतालमध्ये एक रहेको उल्लेख छ। इम्जा छोमा जोखिम न्यूनीकरणका कामसमेत भएका छन्। हिमतालको पानीको सतह घटाउने तथा जोखिम न्यूनीकरणका लागि संरचनात्मक काम गरिएको थियो।

यसबाट जोखिम पहिचानपछि नियमित अध्ययन, निगरानी र आवश्यकताअनुसार जोखिम न्यूनीकरणका उपाय अपनाउन सकिने देखिन्छ।

तर अबको प्रश्न एउटै तालमा गरिएको कामलाई अन्य सम्भावित जोखिमयुक्त क्षेत्रमा कसरी विस्तार गर्ने भन्ने हो।

तथ्याङ्क अध्यावधिक गर्नुपर्ने प्रश्न

हिमतालसम्बन्धी विभिन्न समयका अध्ययनमा तालको क्षेत्रफल र अवस्था’bout फरक–फरक तथ्याङ्क भेटिन्छन्। यस्तो फरक देखिनुको कारण अध्ययनको वर्ष, प्रयोग गरिएको मापन विधि र तालको मौसमी अवस्थालगायत हुनसक्छ।

इसिमोडको सन् २०२० को हिमताल सूचीकरणले पनि हिमताल पहिचानका लागि उपग्रह प्रविधि प्रयोग गरेको थियो।

उक्त अध्ययनले तालको विशेषता, तालको बाँध, स्रोत हिमनदी तथा ’roundको भूआकृतिलाई आधार बनाएर सम्भावित खतरनाक हिमताल पहिचान गरेको थियो।

यस कारण सोलुखुम्बुका हिमतालको जोखिम मूल्याङ्कनमा पुरानो सूचीलाई आधार मात्र बनाउनुको सट्टा नियमित स्याटलाइट मोनिटरिङ, आवश्यक स्थानमा स्थलगत अध्ययन, तालको पानीको मात्रा तथा बाँधको अवस्था र सम्भावित बाढीको मार्गको अद्यावधिक अध्ययन आवश्यक रहेको यस क्षेत्रका विज्ञहरुको सुझाव छ।

जिल्लामा हिमतालजन्य बाढीको जोखिम बुझ्न विगतका घटना महत्त्वपूर्ण आधार हुन सक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

वडाध्यक्ष अधिकारीका अनुसार सन् १९८५ मा डिग छो हिमताल फुट्दा दूधकोशी क्षेत्रमा ठूलो बाढी आएको थियो।

इसिमोडको पछिल्लो प्रतिवेदनले उक्त घटनाबाट नाम्चे जलविद्युत् आयोजनालगायतका संरचनामा क्षति पुगेको र आर्थिक क्षति भएको अभिलेख गरेको छ।

थप अध्ययनपछि डिग छोको हालको अवस्था भने विगतको जस्तो उच्च जोखिमयुक्त नभएको निष्कर्षसमेत प्रकाशित भएको छ।

जोखिम बस्तीमा मात्र सीमित छैन

हिमाली क्षेत्रमा हिमताल वा हिमपहिरोबाट उत्पन्न आकस्मिक बाढीको असर बस्तीमा मात्र सीमित हुँदैन। पदमार्ग, पुल, सडक, खानेपानी, विद्युत्, सञ्चार, विद्यालय, स्वास्थ्य संस्था तथा पर्यटनसँग सम्बन्धित संरचनासमेत प्रभावित हुन सक्ने खुम्बुका स्थानीय सोनाम दोर्जी शेर्पाको भनाइ छ।

सन् २०२४ को थामे बाढीले घर तथा अन्य संरचनासँगै विद्यालय, स्वास्थ्यचौकी र होटलमा क्षति पुर्‍याएको इसिमोडको अध्ययनले देखाएको छ।

उक्त घटनामा मानवीय क्षति हुनबाट बचेँ पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको तत्कालिन घटनाको उद्धारमा संलग्न प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको अनुभव छ।

‘दिनको समयमा बाढी आएकाले उद्धार र मानिसलाई सुरक्षित स्थानमा लैजान सहज भयो। तर घटनाले हिमाली क्षेत्रमा यस्ता जोखिमका लागि पूर्वतयारी कति महत्त्वपूर्ण रहेछ भन्ने देखायो’, प्रनाउ घिमिरेले भने।

सोलुखुम्बुको अर्थतन्त्र पर्यटनसँग निकट रूपमा जोडिएकाले विपद् जोखिम व्यवस्थापनलाई मानवीय सुरक्षासँगै पर्यटन पूर्वाधार र स्थानीय अर्थतन्त्रको सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने कीर्तिमानी सगरमाथा आरोही स्पिडकाजी शेर्पाको भनाइ छ।

‘पर्यटन क्षेत्रका पदमार्ग, पुल, होटल तथा अन्य संरचनाको जोखिम मूल्याङ्कन गरी आवश्यक सुरक्षा तथा पूर्वतयारीमा ध्यान दिनुपर्छ’, उनले भने।

पूर्वसूचना प्रणालीमा थप सुधार

थामे घटनापछि जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा पूर्वसूचना सन्देश पठाएको अनुभवले हिमाली क्षेत्रमा पूर्वसूचना प्रणालीको महत्व देखाएको छ।

विभागका अनुसार प्रारम्भिक सूचना प्राप्त भएपछि थामेदेखि ओखलढुङ्गासम्मका तल्लो तटीय बस्तीमा करिब एक लाख ४२ हजार मानिसलाई मोबाइलमार्फत निःशुल्क पूर्वसूचना पठाइएको थियो।

विपद्को जोखिम न्यूनीकरणका लागि सूचना समयमै पहिचान गरी जोखिममा रहेका समुदायसम्म तत्काल पुर्‍याउने र उनीहरूलाई सुरक्षित स्थानतर्फ जान सक्ने व्यवस्था आवश्यक हुन्छ।

यही उद्देश्यले खुम्बुको थामेदेखि सुर्केसम्मको क्षेत्रमा करिब आठ स्थानमा पूर्वसूचना साइरन प्रणाली जडान गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।

उनका अनुसार करिब छ महिनाअघि जडान गरिएको उक्त प्रणालीले नदीको पानीको सतह खतराको तह पार गरेपछि एकैपटक सबै स्थानमा सतर्कता साइरन बजाउनेछ।

साइरन बजेसँगै स्थानीय बासिन्दा तथा पर्यटकलाई सम्भावित जोखिम’bout तत्काल जानकारी प्राप्त हुने र सुरक्षित स्थानतर्फ जान पर्याप्त समय उपलब्ध हुने उनले बताए।

यता खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ अन्तर्गत दिङ्बोचे, पाङ्बोचे र छुगिटागा लगायतका स्थानमा यसअघि नै बाढीको पूर्वसूचना दिन साइरन जडान गरिएका छन् तर ती उपकरण अहिले सञ्चालनमा छन् कि छैनन् भन्ने यकिन नभएको वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

‘मेरो वडाका तीन ठाउँमा धेरै वर्षअघि साइरन राखिएका हुन्। अहिले ती सञ्चालनमा छन् कि छैनन् भन्ने कुनै यकिन छैन। साइरन छ, तर त्यसको सक्रियता र अवस्था’bout जानकारी छैन’, उनले भने।

वडा कार्यालयका अनुसार ती साइरन तत्कालीन इम्जा लेक लोअरिङ परियोजनाले जडान गरेको थियो तर त्यसपछि नियमित सञ्चालन, मर्मत तथा परीक्षण नभएकाले हाल ती उपकरण प्रयोगयोग्य अवस्थामा छन् वा छैनन् भन्ने स्पष्ट हुन सकेको छैन।

खुम्बुको छुकुममा सन् २००७ मा आएको बाढीले ठूलो होटलसमेत बगाएको थियो। पछिल्ला वर्षमा सगरमाथा क्षेत्रका विभिन्न स्थानमा साना हिमताल तथा हिमनदी फुटेर आउने बाढीले पदमार्गमा बनाइएका काठे साँघु र पुल बगाउने घटना पनि दोहोरिँदै आएका छन्।

यस्तो घटना खुम्बु क्षेत्रमा बर्सेनीजसो हुने सामान्य जोखिमका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष अधिकारीको भनाइ छ।

रसुवा घटनाले सिकाएको पाठ

रसुवाको पछिल्लो घटनाले सोलुखुम्बुसहित हिमाली जिल्लालाई डराउनुभन्दा तयार रहनुपर्ने पाठ दिएको कीर्तिमानी सगरमाथा आरोही स्पीडकाजी शेर्पा बताउछन्।

रसुवामा भदौ १० गते आएको बाढीको कारण’bout अध्ययन जारी रहे पनि प्रारम्भिक विवरणले हिमपहिरो, नदी थुनिने र अचानक ठूलो पानीको बहाव आउनेजस्ता प्रक्रियाबाट हिमाली क्षेत्रमा आकस्मिक विपद् निम्त्याउन सक्ने देखाएको छ।

नेपाल रेडक्रसको प्रारम्भिक विवरणमा समेत हिमपहिरोले लेन्दे खोला थुनेर अचानक पानीको बहाव बढेको हुनसक्ने उल्लेख छ।

यसकारण अब हिमतालको जोखिम मूल्याङ्कन गर्दा ताल मात्र हेर्नेभन्दा त्यससँग जोडिएको हिमनदी, हिमपहिरो सम्भावित क्षेत्र, चट्टानी भू–भाग र नदी प्रणालीलाई समेत समेटेर अध्ययन गर्नुपर्ने मत आरोही शेर्पाको छ।

पर्यटनविद् आङछिरिङ शेर्पा हिमाली जिल्लाले पुराना जोखिम सूचीलाई आधार बनाएर मात्र नबस्ने र पछिल्लो भू–उपग्रह तथ्याङ्क तथा स्थलगत अध्ययनका आधारमा जोखिमको पुनर्मूल्याङ्कन गर्नुपर्ने बताउछन्।

‘कुन तालको आकार परिवर्तन भएको छ, कुन क्षेत्रमा नयाँ ताल बनेका छन्, कुन तालको बाँध वा ’roundको भू–भागमा परिवर्तन आएको छ र कुन क्षेत्रमा सम्भावित असर बढी पर्न सक्छ भन्ने विषयमा नियमित अध्ययन आवश्यक छ’, उनले भने।

उनका अनुसार जोखिम नक्सा अद्यावधिक गर्ने, नदी तथा मौसम मापन केन्द्र विस्तार गर्ने, सम्भावित बाढीको मार्ग पहिचान गर्ने र स्थानीय समुदायलाई पूर्वसूचना प्राप्त भएपछि अपनाउनुपर्ने उपाय’bout नियमित अभ्यास गराउनुपर्ने आवश्यकता छ।

हिमाली क्षेत्रमा सबै प्राकृतिक विपद् रोक्न सम्भव नहुन सक्छ। तर जोखिमको पहिचान, नियमित निगरानी, सम्भावित असरको पूर्वानुमान, प्रभावकारी पूर्वसूचना र समुदायको तयारीबाट मानवीय तथा भौतिक क्षति भने घटाउन सकिने छुकुमका स्थानीय जानकार तेन्जिङ जाङ्बु शेर्पाको भनाइ छ।

रसुवा र थामेले हिमाली जिल्लालाई दिएको मुख्य सन्देश विपद् आएपछि उद्धार र राहतमा केन्द्रित हुनुभन्दा विपद् आउनुअघि जोखिम बुझ्ने, निगरानी गर्ने र तयारी गर्ने प्रणालीलाई बलियो बनाउनु आवश्यक रहेको यस क्षेत्रका जानकारहरुको सुझाव छ।-रासस

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा