नियमित सामाजिक सञ्जाल प्रयोगकर्ता हुनुहुन्छ भने त्यो छवि तपाईंका लागि नौलो भने अवश्य होइन । बाहिरबाट देखिने एउटा सामान्य मानिसले सयभन्दा बढी तौलका फलाम जुरुक्क उचालेको दृश्य तपाईंका मानसपटलमा पक्कै छापिएको हुनुपर्छ । सामाजिक सञ्जालमा जिम तथा व्यायामसम्बन्धी भिडियो हेर्नेका लागि ‘अनातोली’ नाम ठ्याक्कै याद नभए पनि उनको असाधारण ‘लिफ्टिङ’ भिडियो भने सबैले हेरेकै हुनुपर्छ ।
जिमहलमा सफाइ कर्मचारी बनेर विश्वभर छाउने एउटा पात्र
सामान्यतया जिममा सफाइ गरिरहेको, वरिपरिका मानिसलाई खासै वास्ता नगरेको र आफैं पनि कमजोरजस्तो देखिने एक व्यक्ति अचानक अत्यन्तै भारी तौल उठाउँछन् । वरिपरिका खेलाडीले सुरुमा उनलाई सामान्य व्यक्ति ठानिरहेका हुन्छन् । कतिपय उनको क्षमतामाथि शंका गर्छन् । हाँस्छन् । सामान्य व्यक्ति सम्झन्छन् । केही क्षणमै उनी त्यही तौल सहजै उठाइदिन्छन्, जुन तौल उठाउन अनुभवी खेलाडीलाई समेत हम्मे पर्छ । त्यसपछि जिममा उपस्थित अन्यका अनुहारमा देखिने आश्चर्य भिडियोको मुख्य आकर्षण बन्न पुग्छ ।
यही असामान्य शैलीका कारण अनातोलीका भिडियो विश्वभर फैलिएका छन् । युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उनका सामग्री करोडौंपटक हेरिएका छन् । कतिपय भिडियोले १० करोडभन्दा बढीपटक हेरिएको तथ्यांकसमेत छ । सामाजिक सञ्जालमा उनको लोकप्रियता विशाल भइसकेको छ । जिम, शक्ति खेल र रमाइला प्र्यांक भिडियोको चर्चा हुँदा अहिले अनातोलीको नाम छुटाउन नहुने पंक्तिमा पर्छ ।
मोबाइल स्क्रिनमा विश्वभर छाएका ‘अनातोली वास्तवमा को हुन् त ?’ खुल्दुली बढ्नु स्वभाविक हो ।
‘के उनी साँच्चै जिमका सफाइकर्मचारी हुन् ? उनले उठाउने असाधारण तौल वास्तविक हो कि भिडियोका लागि तयार पारिएको कुनै चाल हो ? उनका अगाडि देखिने मानिस वास्तविक खेलाडी हुन् कि कलाकार ? उनका भिडियोमा देखिने आश्चर्य र प्रतिक्रिया साँच्चिकै अचानक उत्पन्न हुन्छन् कि पहिल्यै योजना बनाइएको हुन्छ ? अनि यति ठूलो लोकप्रियताबाट उनले कति कमाइरहेका छन् ?’ यी प्रश्न अनातोलीका भिडियो हेर्ने धेरै दर्शकलाई लामो समयदेखि उत्सुक बन्दै आएका छन् ।

सामाजिक सञ्जाल र उनका आफ्नै भिडियोमा उपलब्ध विवरणअनुसार अनातोलीको भित्रि वास्तविक सामाजिक सञ्जालमा देखिने केही सेकेन्डको रमाइलो दृश्यभन्दा रोचक छ । ‘अनातोली’ उनको वास्तविक भने नाम होइन । उनको वास्तविक नाम ‘भ्लादिमिर श्मोदेन्को’ हो । कतिपय स्रोतले ‘भोलोदिमिर श्मोदेन्को’ भनेर उल्लेखसमेत गरेका छन् । युक्रेनका शक्तिशाली यी खेलाडीले सामाजिक सञ्जालमार्फत विश्वव्यापी पहिचान बनाएका छन् । ‘अनातोली’ नाम उनले आफ्ना मनोरञ्जनात्मक भिडियोमा प्रयोग गर्ने पात्र हो । यही पात्र अहिले उनको व्यक्तिगत नामभन्दा पनि बढी चर्चित भइसकेको छ ।
सन् १९९९ मा जन्मिएका श्मोदेन्कोले किशोरावस्थादेखि नै ‘वेट लिफ्टिङ’ खेलतर्फ रुचि राख्न थालेका हुन् । आधुनिक र सुविधासम्पन्न व्यायामशालाबाट उनको यात्रा सुरु भएको थिएन । सीमित साधनस्रोतबीच उपलब्ध भारी तौलका वस्तु प्रयोग गरेर उनी अभ्यास गर्थे । फलामका टुक्रा, गाडीका पाङ्ग्रा तथा अन्य भारी सामग्रीलाई व्यायाम साधनका रूपमा प्रयोग गर्दै उनले आफ्नो शारीरिक क्षमता विकास गरेका हुन् ।
अनातोलीको असाधारण शक्ति सामाजिक सञ्जालमा लोकप्रिय हुनुको कारण लामो समयदेखि यही संघर्ष जोडिएको छ । किशोरावस्थामै प्रतिस्पर्धात्मक खेलमा भाग लिन थालेका उनको शक्ति वास्तविक भएको बलियो आधार भेटिन्छन् । करिब ६५ देखि ७४ किलोआसपास शरीरको तौल हुँदा नै १ सय ८५ किलोभन्दा बढी तौल उठाएर ‘डेडलिफ्ट’ अर्थात् जमिनबाट तौल उठाउने विधिमा उनले शक्ति प्रदर्शन गरेका थिए । त्यसपछि उनले २ सय किलोभन्दा बढी तौल उठाएको रेकर्डसमेत छ । एउटा सामान्य मानिसका लागि यस्तो तौल उठाउनु असाधारण कुरा हो । अझ आफ्नो शरीरको तौलभन्दा दुईदेखि तीन गुणासम्म भारी तौल उठाउन सक्ने क्षमता अद्भुत लाग्छ ।
अनातोलीका भिडियोमा देखिने भारी तौल उठाउने दृश्य अभिनय वा क्यामेराको चालमात्रै होइन, यी वास्तविक हुन् । सामाजिक सञ्जालमा चर्चित हुनुअघि नै उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका थिए । सामाजिक सञ्जालमा अनातोलीले २ सय ९० किलोसम्मको ‘डेडलिफ्ट’ गरेको चर्चा अधिक छ । उनका केही भिडियोमा पनि यस्तो तौलको उल्लेख पाइन्छ । २ सय ९० किलो तौललाई आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा कायम उनको कीर्तिमानका रूपमा भने रेडर्क छैन । प्रशिक्षणक्रममा उठाइएको व्यक्तिगत अधिकतम तौल र आधिकारिक प्रतियोगितामा उठाइएको तौल फरक विषय हुन् । त्यसैले २ सय ९० किलोको उपलब्धिलाई उनको प्रशिक्षण वा व्यक्तिगतरूपमा बुझ्न जरुरी छ ।
असाधारण शक्ति भए पनि अनातोलीको विश्वव्यापी लोकप्रियताको मुख्य कारण तौल उठाउने क्षमतामात्र भने होइन । उनको वास्तविक सफलता आफ्नो शक्ति ‘कसरी प्रस्तुत गरे ?’ भन्नेमा निर्धारित छ । सामान्यतया खेलाडी आफ्नो ठूलो शरीर, मांसपेशी र भारी तौल उठाउने क्षमताका कारण चिनिन्छन् । हामी पनि ‘ठूला शरीर भएका खेलाडी बलियो होला’ भनेर अनुमान गर्न पुग्छौं । अनातोलीले यही बाहिरी धारणा उल्ट्याइदिएका छन् । उनी आफूलाई जानाजानी सामान्य, कमजोर वा अनुभव नभएको व्यक्तिजस्तो देखाउँछन् । त्यसपछि अचानक वास्तविक क्षमता पुग्छन् ।

अनातोलीको सबैभन्दा चर्चित पात्रमध्ये एक हो– जिमको सफाइ कर्मचारी । सामान्य सफाइ कर्मचारीले लगाउनेजस्तो पोसाकमा उनी जिम पुग्ने गर्छन् । हातमा मोप हुन्छ । व्यवहार पनि त्यस्तै । जिममा उपस्थित ठूला शरीर भएका खेलाडीनजिक गएर सामान्य कुराकानी गर्छन् ।
कतिपय अवस्थामा उनी तौल उठाउने प्रयास गर्न चाहेजस्तो पनि गर्छन् । सुरुमा अरूले उनलाई खासै वास्ता गर्दैनन् । जब उनले भारी तौल सजिलै उठाइदिन्छन्, त्यसपछि सबैका नजर उनीकेन्द्रित भइदिन्छन् । सुरुमा सामान्य सफाइ कर्मचारीका रूपमा देखिएका उनी क्षणभरमै असाधारण लाग्छन् ।
यस्तो ‘प्र्यांक’ अझ प्रभावकारी बनाउन उनी कहिलेकाहीँ वृद्ध मानिस वा नयाँ खेलाडीको भूमिकामा पनि देखिन्छन् । बाहिरी रूपमा कमजोर देखिने व्यक्ति अचानक अनुभवी खेलाडीभन्दा धेरै तौल उठाउँदा उत्पन्न हुने आश्चर्य नै उनको भिडियोको मुख्य आकर्षण हुन् । यही सरल तर प्रभावकारी सूत्रकै कारण अनातोली विश्वभर चर्चित छन् । त्यसो त, उनको सामाजिक सञ्जाल यात्रा ‘जिम प्र्यांक’बाट भने सुरु भएको होइन । धेरै वर्षअघिबाटै युट्युबमा उनले व्यायामसम्बन्धी सामग्री राख्न थालेका थिए । सुरुवाती समय उनी आजजस्तो विश्वव्यापी चर्चामा थिएनन् । प्रशिक्षण र शारीरिक विकाससँग सम्बन्धित सामग्री बनाउँदै उनी सीमित दर्शकसामु चिनिँदै गए ।
पछि अनातोलीले व्यायामसम्बन्धी चुनौतीपूर्ण मनोरञ्जनात्मक सामग्री र ‘जिम प्र्यांक’लाई मुख्य पहिचान बनाउन थाले । यही ‘कन्सेप्ट’ले उनको लोकप्रियता बढायो । छोटो भिडियोको बढ्दो लोकप्रियता उनका लागि ठूलो अवसर बन्यो । टिकटक, इन्स्टाग्रामको छोटो भिडियो तथा युट्युबका भिडियोमा दर्शकको ध्यान केही सेकेन्डमै तान्नुपर्ने हुन्छ । अनातोलीको सामग्री यसका लागि स्वाभाविकरूपमा उपयुक्त थिए । उनको एउटा भिडियो बुझ्न दर्शकले अंग्रेजी भाषा जान्नैपर्ने आवश्यकता हुँदैन । दृश्य आफैं पर्याप्त हुन्छ ।
अनातोलीका मनोरञ्जनात्मक गतिविधि भाषाको सीमा पार गरिसकेका छन् । दृश्यात्मक शैली उनको विश्वव्यापी सफलताको कारण बनेको छ । अनातोलीले चर्चित खेलाडीसँग सहकार्यसमेत गरेका छन् । ल्यारी ह्विल्सजस्ता चर्चित खेलाडीसँगको सहकार्यले उनको नाम ‘वेट लिफ्टिङ’अन्तर्गत अन्तर्राष्ट्रियस्तरमा अझ बलियो बनेको छ । उनका सामग्री युरोप वा युक्रेनमै सीमित छैनन्, अमेरिका, बेलायत, मध्यपूर्व, एसिया र अन्य धेरै क्षेत्रमा उनको भिडियो हेर्ने दर्शक बढ्दै गएका छन् । आज उनको मुख्य युट्युब एकाउन्टमा ९८ लाखभन्दा बढी ‘फलोवर’ छन् । उनका भिडिया २ अर्बभन्दा बढी पटक हेरिएका छन् ।
टिकटकमा उनको पहुँच अझ ठूलो छ । ‘अनातोली प्र्यांक’ नामक खातामा २ करोड ५० लाखभन्दा बढी ‘फलोवर’ छन् । इन्स्टाग्राममा भ्लादिमिर श्मोदेन्कोको एकाउन्टमा २ करोडभन्दा बढी ‘फलोवर’ छन् । यी तीनवटै संख्या जोडेर उनका ६ करोडभन्दा बढी फरक व्यक्ति ‘फलोवर’ छन् । एउटै व्यक्तिले युट्युब, टिकटक र इन्स्टाग्राम तीनवटैमा उनलाई पछ्याएका देखिन्छन् । अनातोलीको सामाजिक सञ्जाल पहुँच असाधारणरूपमा बढ्दै गएको छ । सफाइ कर्मचारी बनेर जिममा गरिएको ‘प्र्यांक’का केही भिडियो १० करोडभन्दा बढीपटक हेरिएका छन् । यसले के देखाउँछ भने दर्शकलाई तौल उठाएको दृश्यले मात्रै आकर्षित गरेको होइन, उनीहरूलाई अन्तिम क्षणमा हुने खुलासाले पनि आकर्षित गरिरहेका छन् ।
अब अनातोलीको भिडियोसँग सम्बन्धित विवादास्पद प्रश्नतिर लागौं ।
‘उनका भिडियो वास्तविक हुन् कि बनावटी ?’ यसको उत्तर ‘पूर्णरूपमा वास्तविक’ वा ‘पूर्णरूपमा अवास्तविक’ भनेर एकै वाक्यमा दिनु अन्याय हुन जान्छ । यसका लागि सबैभन्दा पहिले अनातोलीको शक्ति वास्तविक भएको पक्ष केलाउनुपर्ने हुन्छ । उनको प्रतिस्पर्धात्मक खेलको पृष्ठभूमि पनि छ । सामाजिक सञ्जालमा प्रसिद्ध हुनुअघि नै भारी तौल उठाउने क्षमता देखाइसकेका उनका भिडियोमा देखिने शक्ति प्रदर्शनलाई अभिनय भने पक्कै होइन ।
सफाइ कर्मचारीको भेष लगाउनु, सामान्य कर्मचारीजस्तो व्यवहार गर्नु, निश्चित खेलाडीनजिक पुग्नु, क्यामेरा राख्नु र उपयुक्त क्षणमा तौल उठाउनु आफैंमा योजनाबद्ध मनोरञ्जनात्मक प्रक्रिया हुन् । केही भिडियोको विवरणमा सम्बन्धित व्यायामशालाबाट भिडियो खिच्न अनुमति लिएको उल्लेख छन् । यसबाट के बुझिन्छ भने उनका भिडियो कुनै व्यक्तिले अचानक मोबाइल निकालेर खिचेको प्राकृतिक प्रक्रियामात्र भने होइनन् ।
भिडियो निर्माणका लागि योजना, क्यामेरा, स्थान र सम्पादन हुने सम्भावना स्पष्ट छन् । यसको अर्थ उनका अगाडि देखिने मानिस कलाकार हुन् भन्ने होइन । उनीहरू वास्तविक व्यायाम गर्नै आएका हुन् । कतिपयलाई ‘भिडियो खिचिँदै छ’ भन्ने थाहा हुन सक्छ । कतिपयलाई अनातोलीको वास्तविक पहिचान थाहा नहुन सक्छ । भिडियोमा देखिने सबै सहभागीको अवस्था सार्वजनिकरूपमा प्रमाणित भने भएको पाइँदैन । अनातोलीका भिडियोमा वास्तविकता र योजनाबद्ध मनोरञ्जन दुवै मिसिएको भने पक्कै हो ।
‘अनातोली सफाइ कर्मचारी बनेर अचानक जिममा पुग्यो’ भन्ने दृश्य उनको सामाजिक सञ्जाल पात्रको हिस्सामात्रै हो । भिडियोको परिस्थिति निर्माण गरिएका हुन सक्छन् । यसपछि क्यामेरामा कैद रोचक क्षणमध्ये सबैभन्दा प्रभावकारी दृश्य छानेर दर्शकमाझ प्रस्तुत गरिन्छन् । यही कारण उनको भिडियोको वास्तविकता र अभिनयबीचको सीमा बुझ्न आवश्यक छ । उनका भिडियोको अर्को विशेषता दर्शकलाई अन्तिम क्षणसम्म जानकारी नदिनु पनि हो । यदि दर्शकलाई सुरुमै ‘यो विश्वस्तरीय खेलाडी अनातोली हो’ भन्ने थाहा भयो भने भिडियोको आधा रमाइलो हराउँछ । त्यसैले उनी वास्तविक पहिचान लुकाउँछन् । सामान्य व्यक्तिजस्तो देखिन्छन् । अगाडिका खेलाडीलाई पनि त्यही धारणा बनाउन दिन्छन् । अन्त्यमा मात्र वास्तविक क्षमता देखाउँछन् । यही नै सामाजिक सञ्जाल मनोरञ्जनको प्रभावकारी शैली हो ।
अब फर्कौं उनको आम्दानीतर्फ ।
अनातोलीले आफ्नो वास्तविक आम्दानी सार्वजनिकरूपमा बताएका छैनन् । त्यसैले उनको वार्षिक आम्दानी वा कुल सम्पत्ति’bout इन्टरनेटमा देखिने निश्चित रकमलाई आधिकारिक तथ्य मान्न सकिँदैन । विभिन्न वेबसाइटले उनको युट्युब आम्दानीको फरक–फरक अनुमान गरेका छन् । उनको मासिक विज्ञापन आम्दानी दसौं हजार डलरदेखि एकलाख डलरमाथिसम्म हुनसक्ने अनुमान गरिएका छन् । यस्तो अनुमान युट्युबको वास्तविक विवरणमा आधारित हुँदैन । भिडियोको हेराइ, दर्शकका देश, विज्ञापनको मूल्य र अन्य अनुमानित आधारमा रकम निकालिन्छन् । त्यसैले ‘अनातोलीले महिनामा यति नै कमाउँछन्’ भनेर निश्चित रकम भन्नु तथ्यगतरूपमा उपयुक्त देखिँदैन । उनको आम्दानी युट्युब विज्ञापनमै पनि सीमित नहुन सक्छ ।

करोडौं ‘फलोवर’ भएका ‘क्रियटर’ले कम्पनीसँग विज्ञापन तथा प्रायोजन सम्झौता गर्न सक्छन् । व्यायामका कपडा, प्रशिक्षण कार्यक्रम, खेलकुद सामग्री तथा अन्य उत्पादनको प्रचारबाट पनि आम्दानी हुन सक्छ । अनातोलीका भिडियो र सामाजिक सञ्जालमा यस्ता व्यावसायिक गतिविधि भेटिन्छन् । यद्यपि, उनको आम्दानी ‘भ्युज’मै सीमित छैनन् । उनको सबैभन्दा ठूलो सम्पत्ति नै विश्वव्यापी ‘भ्युज’ नै हो । कुनै कम्पनीले आफ्ना उत्पादन करोडौं मानिससम्म पु¥याउन चाहन्छन् भने अनातोलीजस्तो ठूलो पहुँच भएका व्यक्तिसँग सहकार्य गर्नु नौलो कुरा होइन । एउटा भिडियोबाट हुने विज्ञापन आम्दानीभन्दा प्रायोजन तथा व्यावसायिक साझेदारीबाट हुने आम्दानी अझ ठूलो हुन्छ । उनको कुल सम्पत्ति’bout पनि इन्टरनेटमा विभिन्न अनुमान छन् । केही वेबसाइटले करोडौं डलरको सम्पत्ति रहेको दाबी गरेका छन् । आधिकारिक वित्तीय विवरण सार्वजनिक नभएकाले त्यस्ता अनुमानलाई प्रमाणित सम्पत्तिका रूपमा लिन सकिँदैन ।
अनातोलीको सफलतालाई ‘धेरै तौल उठाउने मानिस’ भनेर व्याख्या गर्दा उनको वास्तविक उपलब्धि ओझेल पर्न सक्छ । विश्वमा उनीभन्दा बढी तौल उठाउन सक्ने हजारौं खेलाडी छन् । धेरैले अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूला कीर्तिमानसमेत बनाएका छन् । उनीहरू सबै सामाजिक सञ्जालमा करोडौं मानिसबीच भने परिचित छैनन् । अनातोलीले खेललाई मनोरञ्जनमा रूपान्तरण गरेकै कारण प्रसिद्ध छन् । आफ्नो शारीरिक क्षमता उनले मनोरञ्जनसँग जोडेका छन् । आफूलाई सामान्य देखाए । दर्शकलाई अनुमान गर्न लगाए । त्यसपछि त्यही अनुमान उल्ट्याइदिए । मानिसका प्रतिक्रिया कैद गरे । त्यसलाई छोटो र प्रभावकारी भिडियो बनाए, अनि सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विश्वभर पु-याए । उनको सबैभन्दा ठूलो क्षमता सुगठित शरीरमात्रै होइन, ‘दर्शकका ध्यान कसरी तान्ने ?’ भन्ने बुझाइ पनि हो ।
आज ‘अनातोली’ सामाजिक सञ्जालका चर्चित पात्र र मनोरञ्जन शैलीको पहिचान बनेका छन् । वास्तविक नाम भ्लादिमिर श्मोदेन्को भए पनि विश्वका करोडौं मानिस उनलाई ‘अनातोली’कै रूपमा चिन्छन् । सामान्य युक्रेनी युवा सीमित साधनबाट खेल सुरु गरेर अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको ठूलो नाम बन्न सफल भएका छन् । ‘प्रतिभा भएरमात्र पुग्दैन, त्यसलाई दर्शकले बुझ्ने, सम्झने र अरूलाई पनि देखाउन चाहने स्वरूपमा प्रस्तुत गर्न सक्नुपर्छ’ पाठसमेत पढाएका छन् । अनातोलीसँग आफूसँग भएको असाधारण शक्ति मनोरञ्जनसँग जोडे । एउटा छुट्टै पात्र खडा गरे । मानिसका स्वाभाविक जिज्ञासा र आश्चर्य भिडियोको केन्द्र बनाए । उनका छोटा भिडियोको विश्वव्यापी बन्दै गए । यही ‘कप्सेप्ट’ले उनलाई विश्वभर चिनाएको छ ।
सम्बन्धित समाचार
बझाङको बिरिजात : हिमालको काखमा जीवित आस्था
…अनि चोभार हुँदै थाइल्यान्डतिर मोडियो बाटो
जुन पर्खालमा आमाका सपना प्रतीक्षारत छन्
गुलिया स्याउ फलाउनेका तीता दुःख
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय
घटनास्थलमा क्षतिको अवस्था गम्भीर: एनआरएनए संस्थापक डा. महतो
मोबाइलमा फोटो, शवगृहमा पर्खाइ !
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा






