रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० का किसानले करिब १४० क्विन्टल (एक क्विन्टलमा १०० किलो) लसुन उत्पादन गरेका छन्। गाउँमै लसुन किन्न लसुन ब्यापारी पुगेपछि लसुन खेती गर्न किसानहरु उत्साहित भएको बताउछन । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुन खेती गरिन्छ। उत्पादित लसुन जिल्लाबाहिर निर्यात भएको छ।
वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्लाबाहिर निर्यात हुँदा १३ लाख रुपैयाँ भित्रिएको जानकारी दिए। यसबाट किसानले २०/२५ हजार रुपैयाँदेखि सवा लाखभन्दा बढीसम्म आम्दानी गरेका छन्। वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ। यो वर्ष किसानले लसुनमा प्रतिकिलो १०० रुपैयाँ पाएका छन्।
गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेका थिए।उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन्। दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन्। दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन्।
वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिए। ‘उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ,’ उनले भने, ‘गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ।’ उनले एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए।
यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ। यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ। स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए।






