प्रसूतिको पीडाभन्दा अपमानको भारी गह्रुँगो

काठमाडौं । प्रसव पीडाले शरीर थिचिरहेको थियो । पेटभित्र बच्चा चलिरहेको थियो । यस्तो बेला बबिताकुमारी पासवानलाई अस्पतालभित्र सुरक्षित ठाउँ, स्वास्थ्यकर्मीको साथ र केही आश्वासन चाहिएको थियो । तर ३० वर्षीया बबिताले बच्चा जन्माउने सुरक्षित ठाउँ प्रसूति कक्षमा होइन, अस्पतालको गेटबाहिर सडक पेटीमा खोज्नुप¥यो ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता प्रसव पीडा सुरु भएपछि बिहान करिब २ बजे श्रीमान् हरेराम पासवान र एक छिमेकी महिलासहित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् ।

अस्पताल पुगेपछि परीक्षणका लागि ३ हजार २ सय रुपैयाँ लाग्ने जानकारी पाएको उनले बताइन् । दैनिक ज्यालादारी गरेर परिवार चलाउने हरेरामसँग त्यतिबेला २ हजार रुपैयाँ मात्रै थियो । थप पैसा जुटाउन उनी अस्पतालबाट बाहिरिए ।

तर पैसा जुटाउने प्रयास भइरहेकै बेला बबिताको प्रसव पीडा बढ्यो । अस्पतालभित्र प्रसूति गराउने अवस्था बनेन । उनी अस्पतालको गेटबाहिर आइन् । त्यहीँ सडक पेटीमा उनले बच्चा जन्माइन् ।

बच्चा जन्माउने क्षण एउटी आमाका लागि जीवनकै संवेदनशील क्षणमध्ये एक हो । बबिताका लागि भने त्यो क्षण सुरक्षित प्रसूति कक्षसँग होइन, अस्पतालको गेट, सडक पेटी र पैसा अभावसँग जोडियो ।

बबिताले अस्पतालमा आफूलाई नराम्रो व्यवहार गरिएको र पैसा नहुँदा उपचार नपाएको बताएकी छन् । बबिताको भोगाइ बच्चा अस्पतालको गेटबाहिर जन्मिएको घटनामा मात्रै सीमित छैन । प्रसवअघि र बच्चा जन्माइसकेपछि आफूले भोगेको व्यवहारले प्रसूतिको समयमा महिलाले सामना गर्नुपर्ने अर्को पीडा पनि देखाउँछ ।

बबिताका अनुसार अस्पताल पुगेपछि उनलाई ‘रिपोर्ट देखाउनुहोस्’ भनिएको थियो । यसअघि नियमित जाँच गराउन नसकेको र अस्पतालमै जाँच गराउन आएको उनले बताइन् । अस्पतालबाट थप परीक्षण गर्नुपर्ने भनियो ।

आफूले आवश्यक जाँच गराउने बताएपछि गाली गरिएको बबिताको भनाइ छ । उनलाई एउटा कोठामा लगेर केही कुरा भनियो र अन्ततः बाहिर जानुपर्ने अवस्था आयो ।

त्यस क्रममा बच्चा छ कि छैन भन्ने विषयमा पनि प्रश्न गरिएको उनले बताइन् । ‘बच्चा मेरो पेटभित्र चलिरहेको छ । मलाई थाहा छ, बच्चा छ,’ उनले भनेकी छन् ।

त्यसपछि कागजमा हस्ताक्षर गर्न लगाइएको र केही परीक्षण लेखिएको उनको भनाइ छ । श्रीमान्ले थप पैसा जुटाउनुपर्ने अवस्था बताए । पैसा जुटाउने प्रयास सफल भएन । चिनजानका डाक्टरबाट जाँच गराउने सोच पनि पूरा भएन । क्लिनिक बन्द थियो । बबिताको प्रसव पीडा तीव्र भयो र उनले अस्पतालको गेटबाहिरै बच्चा जन्माइन् ।

बच्चा जन्मिएपछि ससुराले नवजात शिशुलाई अस्पतालभित्र लगे । बबितालाई पनि पछि अस्पताल लगियो । तर त्यहाँ पनि उनको पीडा सकिएन ।

बबिताका अनुसार उनलाई बेडमा सुत्न भनियो । टाउको र पेट दुखिरहेको तथा तत्काल आफैं सफा गर्न नसक्ने अवस्थामा रहेको उनले बताइन् । तर आफूलाई सफा गर्न दबाब दिइएको र अस्पतालबाट निस्कन भनिएको उनको भनाइ छ । ‘म अहिले कहाँ जाऊँ ?’ उनले प्रश्न गरिन् ।

बिहान ४–५ बजेसम्म बस्न दिन आग्रह गरे पनि एक मिनेट पनि बस्न नदिने भनिएको उनको दाबी छ । अन्ततः बच्चा जन्माइसकेकी बबिता अस्पतालबाट बाहिरिन बाध्य भइन् ।

१३ दिनपछि रौतहटमा उस्तै दृश्य
बबिताले अस्पतालको गेटनजिकै बच्चा जन्माएको घटनाको करिब १३ दिनपछि रौतहटमा पनि यस्तै घटना भयो । गरुडा नगरपालिका–६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा सुत्केरी गराउन लगिएकी एक महिलाले सेन्टरभित्र होइन, गेटबाहिरै बच्चा जन्माउनुप¥यो ।

११ असोज बिहान करिब साढे १० बजे उनलाई बर्थिङ सेन्टर पु¥याइएको थियो । तर प्रसूति गराउने स्वास्थ्यकर्मी उपलब्ध नभएको जानकारी परिवारले पायो । महिलाकी सासु अटो रिक्सा खोज्न बाहिर निस्किइन् । त्यही क्रममा प्रसव पीडा बढ्यो र महिलाले बर्थिङ सेन्टरको गेटबाहिरै बच्चा जन्माइन् ।

बच्चा जन्मिएपछि कर्मचारीलाई घरबाट बोलाएर आमा र नवजात शिशुलाई सेन्टरभित्र लगिएको थियो । वडाध्यक्ष रामबाबु चौधरीका अनुसार सेन्टरमा दरबन्दी रहेका दुई महिला स्वास्थ्यकर्मी करिब ६ महिनाअघि सरुवा भएका थिए । त्यसपछि दक्ष जनशक्तिको अभावमा नियमित प्रसूति सेवा प्रभावित हुँदै आएको थियो ।

दक्ष स्वास्थ्यकर्मी हुँदा त्यही सेन्टरमा दैनिक तीन–चार महिलाले सुरक्षित रूपमा प्रसूति सेवा लिने गरेको चौधरीले बताए । दुवै घटनाको कारण भने एउटै छैन । बबिताको घटनामा आर्थिक कठिनाइ र आफूले भोगेको व्यवहार मुख्य प्रश्न बनेको छ भने पोठियाहीको घटनामा दक्ष स्वास्थ्यकर्मीको अभाव देखिन्छ ।

तर दुवै घटनाले एउटै प्रश्न उठाउँछन्—महिलाले बच्चा जन्माउने समयमा सुरक्षित र सम्मानजनक सेवा पाउने अधिकार व्यवहारमा कहाँ छ ?

सम्मानजनक प्रसूति सेवा भनेको सुत्केरी महिलासँग राम्रो बोली बोल्नु मात्र होइन । यो महिलाको स्वास्थ्य तथा प्रजनन अधिकारसँग जोडिएको विषय हो ।

प्रसूतिको समयमा महिलामाथि दुव्र्यवहार, गालीगलौज वा हिंसा नगर्नु, गोपनीयता कायम गर्नु, उपचार वा परीक्षणअघि आवश्यक जानकारी दिनु र सहमति लिनु, आर्थिक वा सामाजिक अवस्थाका आधारमा भेदभाव नगर्नु तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु यसको आधारभूत पक्ष हुन् ।

महिलाले प्रसूतिको समयमा आफूले चाहेको व्यक्ति साथमा राख्न पाउने, आफ्नो स्वास्थ्य अवस्था’bout स्पष्ट जानकारी पाउने तथा दक्ष स्वास्थ्यकर्मीबाट निरन्तर र गुणस्तरीय सेवा पाउने अधिकार पनि सम्मानजनक प्रसूति सेवाकै हिस्सा हुन् ।

यो समस्या बबिताको व्यक्तिगत अनुभवमा मात्र सीमित छैन । उपलब्ध अध्ययनले पनि प्रसूतिको समयमा महिलाले असम्मान र दुव्र्यवहार भोग्ने अवस्था गम्भीर रहेको देखाउँछन् ।

महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सन् २०२६ मा नेपालका सातै प्रदेशका १४ जिल्ला र २८ पालिकाका १ हजार ६ सय ८० महिलामा गरेको तथ्य अन्वेषणमा गर्भवतीमध्ये ३८.४ प्रतिशत, प्रसूतिपछि ४२ दिनभित्रका ३७.९ प्रतिशत र प्रसूतिपछि तीन महिनासम्मका ३५.९ प्रतिशत महिलाले हिंसा भोगेको उल्लेख छ ।

त्यस्तै, जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०२६ मा पोखरामा २९० महिलामाथि गरेको अध्ययनमा ६२.४ प्रतिशत महिलाले प्रसूतिका क्रममा कम्तीमा एक प्रकारको असम्मान वा दुव्र्यवहार भोगेको बताएका थिए । अध्ययनमा ४९.७ प्रतिशतले सहमति नलिई सेवा दिइएको र ३५.२ प्रतिशतले शारीरिक दुव्र्यवहार भएको उल्लेख छ ।

सन् २०२२ मा ११ अस्पतालमा ६२ हजार ९२६ महिलालाई समेटिएको अध्ययनमा ८४.३ प्रतिशतले आफ्ना चिन्ता वा समस्या व्यक्त गर्ने अवसर नपाएको र ८०.४ प्रतिशतले उपचारअघि पर्याप्त जानकारी नपाएको बताएका थिए ।

नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार दिएको छ । महिलामाथि शारीरिक, मानसिक, यौनजन्य वा अन्य प्रकारको हिंसा गर्न नहुने व्यवस्था पनि संविधानमा छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलालाई प्रसूतिको समयमा सम्मानजनक, सुरक्षित र गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गरेको महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।

उपचार वा परीक्षणअघि जानकारी दिएर सहमति लिनुपर्ने, गोपनीयता कायम गर्नुपर्ने र भेदभाव गर्न नहुने व्यवस्था पनि ऐनमा रहेको उनले बताए । ‘यदि सम्मानजनक सेवा दिइएन भने के कसुर हुन्छ भन्ने कुरा ऐनमा उल्लेख छैन,’ श्रेष्ठले भने ।

उनका अनुसार कानुनले अधिकार सुनिश्चित गरे पनि ती अधिकार अस्पतालको बेडसम्म व्यवहारमै पुग्ने अवस्था फरक विषय हो ।

संशोधन विधेयकमा प्रसूति हिंसा
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ मा प्रसूति हिंसा र सम्मानजनक प्रसूति सेवालाई थप स्पष्ट बनाउने व्यवस्था प्रस्ताव गरिएको एफडब्लुएलडीकी अधिवक्ता बिनु लामाले बताइन् ।

‘प्रस्तावित व्यवस्थाले गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि शारीरिक, मानसिक वा यौनजन्य हिंसा गर्न नपाइने व्यवस्था गर्न खोजेको छ,’ लामाले भनिन्, ‘आर्थिक वा अन्य कारण देखाएर गर्भवती महिलालाई प्रसूति सेवा दिन अस्वीकार गर्न नपाउने व्यवस्था पनि प्रस्तावमा छ ।’

बबिताको घटनामा यी कानुनी अधिकार उल्लंघन भए–नभएको विषयमा भने अहिलेसम्म निष्कर्ष सार्वजनिक भएको छैन । उनको अनुभवले भने एउटा गम्भीर प्रश्न उठाएको छ—अस्पतालमा सेवा उपलब्ध हुनु र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध हुनु एउटै कुरा हो कि होइन ?

बबिताको बच्चा जन्मियो । बच्चा उनको काखमा आयो । तर त्यो क्षणसँग जोडिएको अनुभवमा अस्पतालको गेट, सडक पेटी, पैसाको अभाव र आफूले भोगेको व्यवहार पनि जोडिएर बसेको छ ।

पोठियाहीकी महिलाको अनुभव फरक थियो । उनले प्रसवको अन्तिम क्षणमा अस्पतालभित्रको सुरक्षित ठाउँ खोजिन्, तर दक्ष स्वास्थ्यकर्मीको अभावका कारण गेटबाहिर बच्चा जन्माउनुप¥यो । यी दुई घटनाले स्वास्थ्य सेवा उपलब्ध हुनु र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध हुनुबीचको फरक देखाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व