उदयपुर । कुनै समय युद्धको मोर्चा, सैनिक बङ्कर र सुरक्षा संयन्त्रले भरिएको ऐतिहासिक उदयपुरगढी यतिबेला नयाँ स्वरूपमा सजिएर पर्यटकको पर्खाइमा छ । दुई सय ५० वर्ष भन्दा पुरानो भग्नावशेषलाई पुनर्जीवन दिँदै उदयपुरगढी गाउँपालिकाले पुनर्निर्माण गरेपछि ऐतिहासिक गढीले आङ्खनो मौलिक स्वरूपको झल्को दिन थालेको हो ।
उदयपुरको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढी गाउँपालिका–५ मा अवस्थित यो गढी नेपालको एकीकरणकालीन इतिहाससँग जोडिएको महत्वपूर्ण स्थल हो । गाउँपालिकाको वर्तमान केन्द्रबाट करिब एक किलोमिटर उत्तरमा रहेको गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणसँगै गढी अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने सम्भावनायुक्त ऐतिहासिक स्थल बनेको छ ।
गढी परिसरमा तत्कालीन सैनिक बङ्कर, कोतखाना, युद्धका क्रममा प्रयोग हुने सुरक्षा संरचना लगायतका संरचनालाई पुरानै स्वरूपको झल्को दिने गरी निर्माण गरिएको छ । गढीको केन्द्र भागमा भगवतीको मन्दिर समेत निर्माण गरिएको छ । मन्दिरमा नियमित पूजा हुँदै आएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ । गढी पुनर्निर्माणका लागि गाउँपालिका र पर्यटन मन्त्रालयको गरी दुई करोड ७५ लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । उनका अनुसार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुरानो गढीलाई पुनर्जीवन दिइएको हो ।
पुरानो गढीको भग्नावशेषलाई आधार बनाएर करिब १३० मिटर गोलो बङ्कर निर्माण गरिएको छ । बङ्करको बीचमा करिब पाँच सय मिटर व्यासको गोलाकार अग्लो भागमा अष्टकोण आकारको गढी निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारूले बताए । बङ्कर पार गरेर गढीको अष्टकोण क्षेत्रमा प्रवेश गर्न फलामे पुल निर्माण गरिएको छ । गढीभित्र कोतखाना र इनार समेत निर्माण गरिएको छ । गढीको बाहिरी घेरामा करिब ६ फिट र भित्री घेरामा १४ फिट उचाइका ढुङ्गाका ब्लक प्रयोग गरी बङ्करको पर्खाल निर्माण गरिएको छ ।
गढी परिसरमा बगैँचा, सार्वजनिक शौचालय, कार्यक्रम सञ्चालनका लागि मञ्च तथा फलामे भ्यु टावर, घोडा सवार तत्कालिन शासकको प्रतिमा समेत निर्माण गरिएको उदयपुरगढी गाउँपालिकाका अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । भ्यु टावरबाट आसपासका पहाडी भूभागको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकका लागि थप आकर्षण बन्ने गाउँपालिकाको अपेक्षा छ । गढी पुनर्निर्माणमा प्रयोग भएका ढुङ्गालाई समेत प्राचीन संरचनाको झल्को दिने गरी कलात्मक रूपमा तयार पारिएको छ । गाउँपालिकाका अधिकृत श्रेष्ठका अनुसार काँचो ढुङ्गालाई चिल्लो र निश्चित आयताकार आकारमा ढालेर गढीको संरचनामा प्रयोग गरिएको छ ।
आधुनिक मेसिन तथा उपकरणको प्रयोग गरेर ढुङ्गालाई आकर्षक ढङ्गले तयार पारिएकाले गढी अहिले निकै सुन्दर देखिएको उनको भनाइ छ । ऐतिहासिक संरचना र आधुनिक निर्माण प्रविधिको संयोजनले गढीलाई पर्यटकीय दृष्टिले थप आकर्षक बनाएको गाउँपालिकाको दाबी छ ।
उदयपुरगढीको इतिहास नेपालको एकीकरण अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको इतिहासकार तथा लेखक कौशल चेम्जोङ बताउ्रँछन । उनका अनुसार करिब २५० वर्ष अघि बाइसे–चौबिसे राज्य अन्तर्गत रहेको उदयपुरगढी र चौदण्डीगढीलाई पृथ्वीनारायण शाहका सेनाले नेपाल एकीकरणका क्रममा आङ्खनो नियन्त्रणमा लिएका थिए ।
पूर्व तर्फका किराँत राज्यहरू—वल्लो किराँत, पल्लो किराँत र माझ किराँततर्फ अघि बढेको पृथ्वीनारायण शाहको सेनाले विजयपुरगढी, हतुवागढी र चौदण्डीगढी कब्जा गर्ने क्रममा उदयपुरगढीमा युद्धका लागि संरचना निर्माण गरी लडाइँ गरेको इतिहास रहेको चेम्जोङको भनाइ छ ।
यही ऐतिहासिक पृष्ठभूमिका कारण उदयपुरगढीलाई नेपालको एकीकरणकालीन इतिहास अध्ययन तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । नेपाल सरकारले केही वर्ष अघि घोषणा गरेको देशका एक सय पर्यटकीय गन्तव्यमा उदयपुरगढीलाई समेत समावेश गरेको थियो । तत्कालीन सरकारले ‘पर्यटन वर्ष २०२०’ घोषणा गर्दै देशभरका एक सय पर्यटकीय गन्तव्य छनोट गर्दा उदयपुरगढी पनि त्यसमा परेको थियो ।
त्यसपछि गाउँपालिकाले उदयपुरगढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको हो । सोही योजना अन्तर्गत ऐतिहासिक गढीको पुनर्निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । उदयपुरगढी उदयपुरको पुरानो सदरमुका मसमेत हो । २०२८ साल जेठ ९ गते जिल्लाको सदरमुकाम उदयपुरगढीबाट गाईघाट सारिएको थियो । सदरमुकाम स्थानान्तरण भए पनि उदयपुरगढीले जिल्लाको राजनीतिक, प्रशासनिक तथा ऐतिहासिक पहिचान बोकेको स्थानीय बताउँछन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मौलिक पहिचान बोकेको यो ऐतिहासिक स्थलकोे पुनर्निर्माण भएपछि गढीले आङ्खनो वास्तविक आकार लिएको हो । २००७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा उदयपुरगढी कब्जा गरेको ईतिहास भेटिन्छ ।
नेपालटारस्थित मदन भण्डारी राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा रहेको उदयपुरगढीसम्म सडक पहुँच समेत पुगेकाले पर्यटकका लागि यात्रा सहज रहेको गाउँपालिकाले जनाएको छ । ऐतिहासिक महत्व, पुनर्निर्मित संरचना, प्राकृतिक दृश्य र सहज सडक पहुँचका कारण उदयपुरगढीलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । इतिहासको साक्षी बनेर उभिएको गढी भने अब आङ्खनो कथा सुनाउन पर्यटकको आगमन पर्खिरहेको पाईन्छ ।
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सीमामा पर्यटकलाई स्वागत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै





