रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलघन अभियुक्तको बयान सुरु भएको छ ।
अभियुक्त ३४ मध्ये ९ जनाले आज रुकुम जिल्ल्ला अदालतमा बयान दिएका छन् । ३४ जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाइको छ । बाँकी एक जनालाई मतियारको अभियोग सहित जिल्ला सरकारी वकिलको कार्यालय रुकुम पश्चिमले आईतबार जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।
अभियुक्त मध्ये दुई जना नाबालकको थुनछेक बहस पश्चात पुर्पक्षका लागि बालसुधार गृहमा पठाउने आदेश सोमबार नै गरिसकेको छ । अभियुक्त मध्ये ५ जना अझै फरार छन् ।
फरार ५ जना र २ जना नाबालक तथा आज बयान सकिएका ९ जना बाहेक बाँकी १८ जनाको पनि पर्सिसम्म बयान सक्ने रुकुम जिल्ल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बताए ।
चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीका प्रेमी सहित जाजरकोटबाट आएका युवा गत जेठ १० गते स्थानीयको आक्रमणमा परेका थिए । जसमा किशोरीका प्रेमी भनिएका नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।






