सिन्धुली । आनीहरुलाई बेपत्ता बनाएको र हत्या सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ । प्रहरीले दुईवटा तालिम प्राप्त कुकुर परिचालन गरेर खोजी गरे पनि बम्जनलाई भने फेला पार्न सकेन ।
केन्द्रीय अनुसन्धान व्युरोको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रम क्षेत्र शिल गरेर खोजतलास गरेको थियो । यसअघि पनि प्रहरीले यो आश्रममा छापा मारेको थियो ।
उनको खोजी भईरहे पनि प्रहरीले फेला पार्न सकेको छैन । बम्जन विरुद्ध आश्रममा आनीहरू बेपत्ता बनाएको, हत्या गरेको जस्ता अभियोग लागेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनलाई पक्रन आएको टोलीलाई खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सहयोग गरेको सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले बताइन् ।
उता बोधि श्रवण धर्म संघले भने प्रहरीले खोजतलासका नाममा पटक–पटक दुःख दिएको आरोप लगाउँदै बमजन तीन वर्षका लागि ध्यानमा रहेको जनाएको छ । सिन्धुलीमा करिब ४२ बिगाहामा बम्जनको आश्रम रहेको छ । जसमा २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको छ ।






