काठमाडौं । तल्लोवर्गका मानिसको संघर्षको कथालाई समेटिएको चलचित्र ‘धुलो’ १६ फागुनबाट सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति तयसँगै यो चलचित्रको फस्र्टलुक्सका रूपमा पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लुक्समा चलचित्रका चरित्रको संघर्ष देखाइएको छ ।
चलचित्र धुलोलाई सञ्चारकर्मी प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । पछिल्लो समय सम्पन्न व्यक्तिको कथा मात्र सिनेमामा आउने गरेकाले आफूले यसपटक गरिब नेपालीको संघर्षको कथालाई समेटेर सामाजिक चलचित्र धुलो निर्माण र निर्देशन गरेको निर्देशक मिश्रले राजधानीलाई बताए,‘ रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरेर धुलो निर्माण गरेको छु ,’ उनले भने ।
यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की, नीर शाह, सुशील पोखरेल, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि चयन भएको निर्देशक मिश्रले बताएका छन् ।
सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ । यो चलचित्रको प्रस्तुतकर्ता सिके वाग्ले हुन् । जसमा लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता तथा दीपा धरेल सहनिर्माताका रूपमा छन् ।