असार । शनिबार रातीदेखि परेको भारी बर्षातले कर्णाली राजमार्गको दैलेख सडकखण्डको जाक्सीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ भने भरखरै किसानले रोपेको खेतवारी पहिरोले पुरिएका छन् ।
कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका ३ जाक्सी खोलामा पहिरो जाँदा सडक बन्द भएको हो । सडक बन्द हुँदा गर्भवती महिलासहित खाद्यान्न बोकेर बोकेर कालिकोट, जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् । राजमार्गबाटै निर्माण गरिएको सहायक सडकका कारण पहिरो गएको जाक्सीका स्थानीयबासी बताउँछन् । गलत ठाउँमा वातावरण अध्ययन नगरि सडक खन्नाले पहिरो गएको हो ।
पहिरोले राजमार्ग पुरिएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यात्रुवाहक सवारी साधनको चाप नभए पनि मालबाहक गाडीहरु रोकिएका छन् । पहिरो पन्छाउन कुनै पहल नभएको स्थानीय बासिन्दाले बताए ।
नयाँ सहर आयोजना राकम कर्णालीले निर्माण गरेको जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिगौडी जाने सडक खन्दा पहिरो गएको स्थानीय सुरेन्द्र कार्कींले बताए । ‘आयोजनाले गुणस्तरहिन सडक निर्माण गरेका कारण वर्षा सुरु हुने वित्तिकै पहिरो गएको हो । ‘फाउन्डेसन तयार नगरेरै ग्याविन जाली भरिएको थियो, लगातारको बर्षातले तीनै ग्यावीन जाली बगायो र पहिरो गयो ।’
त्यसैगरि पहिरोले भर्खरै रोपाइँ गरेको खेत समेत पुरिएका छन् । स्थानीय १३ जना व्यक्तिको झण्डै २० रोपनी बढी खेत पुरेको जनाइएको छ ।’ केही दिनअघि मात्रै ती खेतवारीमा रोपाई गरिएको थियो । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा राजमार्गमा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
त्यसैगरी जाक्सी खोलामा आएको बाढीले निर्माणधिन पुलको सेटिङको सम्पुर्ण समान बगाएको छत्रबहादुर माझीले जानकारी दिए । पहिरो खुल्ने अवस्था छैन । बर्षातसँगै जाक्सी खोलामा आएको बाढीले पुलको सेटिङको समान बगाउँदा यातायातका साधन खोला वारिपारी नै रोकिएका छन् ।
नवजात शिशुको अवस्था गम्भिर
सडक अवरुद्ध हुँदा कालिकोट रिफर गरिएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था गम्भिर देखिएको छ । शनिवार राती कालिकोट जिल्ला अस्पतालबाट सुरक्षित सुत्केरी गराएकी खाडाचक्र गाउपालिका १ की २५ बर्षीय बसन्ती शाही नवजात शिशुमा स्वासप्रश्वासको समस्या देखिएपछि थप उचारको लागि सुर्खेत रिफर गरिएको थियो ।
पहिरोले सडक कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुत्केरी महिला र नवजात शिशु जाक्सी गाउँको गोठमा बसेका छन् । बच्चालाई दिएको अक्सिन सकिदा अवस्था गम्भिर बन्दै गएको बसन्ती शाहीका श्रीमान राजकुमार शाहीले बताए । उनले भने, ‘अक्सिन सकियो । राकमकर्णाली सात्तला हेल्थ पोष्ट अक्सिन नै छैन । कालिकोटबाट आएको एम्बुलेन्समा दही खोलामा पहिरो रोकियो । पानी परिरहेको सडक खुल्ने अवस्था छैन् । नवजात अवस्था थप गम्भिर हुँदै गएको छ ।’






