बार्सिलोना । इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार प्यानिचको अनुबन्धन जानकारी दिएको हो ।
प्यानिचले २०२०-२१ को सिजन बार्सिलोनाबाट खेल्ने भएपछि जारी सिजन अन्त्य नहुन्जेलसम्म भने उनी युभेन्टसमै रहने छन् । उनले यसअघि लियोन र एएस रोमाबाट खेलेका थिए । ३० वर्षीय मिडफिल्डर प्यानिचले बार्सिलोनासँग चार वर्षको सम्झौता गरेका हुन् । उनलाई बार्सिलोनाले ६० मिलियन युरोमा अनुबन्ध गरेको बुझिएको छ । उनको प्रदर्शनको आधारमा थप ५ मिलियनसम्म युभेन्टसले प्राप्त गर्नेछ । बार्सिलोनाले आर्थिक रूपमा सबल बन्नका लागि यो साझेदारी गरेको आरोप पनि लाग्दै आएको छ । युवा आर्थरलाई युभेन्टस पठाएर अनुभवी तर उमेरले ३० वर्ष पुगेका प्यानिच अनुबन्ध गर्दा समर्थकहरू असन्तुष्ट रहेको बताइएको छ ।
यसअघि बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्टसले ७२ मिलियन युरो तिरेर खरिद गरेको थियो । बार्सिलोनाको वेबसाइटका अनुसार आर्थर पनि यो सिजन समाप्त भएपछि मात्र युभेन्टस जाने छन् । २३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परीक्षण गरेका थिए ।
बार्सिलोनाका लागि आर्थरले ७२ म्याच खेले । ब्राजिलियन क्लब ग्रेमिओबाट उनी २०१८मा बार्सिलोना आएका थिए । उनी रहँदा टिमले स्पेनिस लिग र स्पेनिस सुपर कप जितेको थियो ।






