काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर र रोशनसिंह राउतसँगै चार जना खेल पत्रकारसहित १० जना पत्रकारलाई सम्मानित गरेका छन् ।
अन्य खेल पत्रकारमा पोखराका केशव पाठक र प्रियालक्ष्मी कार्की रहेकी छन् । तुलाधर कान्तिपुर दैनिकमा, राउत अन्नपूर्ण पोस्टमा तथा कार्की नेपाल टेलिभिजनमा कार्यरत छिन् । यस्तै, पाठक पोखराबाट सञ्चालित पोखरा स्पोर्ट्स वेभका सम्पादक हुन् । मन्त्रालयले सोमबार चारजनालई जनही ५० हजारसहित पुरस्कृत गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्षसमेत रहेका तुलाधरले यसअघि नागरिक दैनिक र नेपाल समाचारपत्रमा पनि कार्य गरेका थिए । यस्तै, अन्नपूर्ण पोस्टका खेलकुद ब्युरो प्रमुख रहेका राउतले हिमालय टाइम्स र राष्ट्रिय समाचार समिति (रासस)मा काम गरिसकेको अनुभव छ ।
यस्तै, युवा पुरस्कारतर्फ खगेन्द्र अधिकारी, गीता चिमोरिया, गंगा खड्का, निरज न्यौपाने, रत्नकुमारी चौधरी र सुष्मा बराइली छन् । सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार), सचिव रामप्रसाद थपलिया र सहसचिव मानबहादुर विकेले सम्मानित गरेका थिए ।
कार्यक्रम दौरान नै मन्त्रालयले नेपाली खेलकुदका विषयमा सम्पूर्ण डाटा समेटिने एन्टी डोपिङ एप शुभारम्भ गरेको छ ।






