लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा टोटनह्यामले आर्सनललाई २–१ ले पराजित गर्यो ।टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे । अग्रता भने आर्सनलले लिएको थियो । आर्सनलका लागि पहिलो गोल अलेक्जेण्डर लाकाजेट्ले गरेका थिए । त्यसको २ मिनेट पनि बित्न नपाउँदै सन हिउङले गोल फर्काएका थिए ।
जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीलाई ४–१ ले पाखा लगाउँदै बर्नमाउथले प्रिमियर डिभिजनमा जोगिने संभावना बलियो पारेको छ । आफ्नै मैदानमा हात पारेको जितपछि बर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ ।
बर्नमाउथ रेलीगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा रहेको वाट्फोर्डभन्दा ३ अंकले पछि रहेको छ । यो सिजन नरिच सिटी रेलिगेशनमा परिसकेको छ भने एस्टन भिल्ला रेलीगेशनको संघारमा छ ।
गएराति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ ।






