वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरका भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ ।
यति हुँदा हुँदै पनि ठोरीबासी भने उत्साहित भएका छन् ‘सीता गुफा’ वाल्मिकी आश्रम, सुमेरु पर्वत, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पुगेपछि सुन्न पाइने ठाउँका नाम हुन् । त्रेतायुगमा सीता वनवासमा जाँदा बसेको सीता गुफा ठोरीकै वडा नम्बर २ मा नै रहेको छ । बाल्मिकी आश्रम र अयोध्यापुरी भने ठोरीको नजिकै हालको चितवनमा पर्छ । वि.सं.२०३२ साल यता माडी ठोरी अलग भएपछि चितवनमा अयोध्यापुरी गाविस नै थियो । हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ ।
माडीबाट नेपाल भारत सीमा छेउसम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा रहेको मान्यता छ । ‘यसको सामुन्नेमा चीता र ठुटे खोलाको पवित्र संगमस्थल छ । त्यो दुई नदिको संगमस्थलमा सीतामाताले स्नान गर्ने गरेको सुन्दै आएका छौं ।’ साविकको ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले भने ‘ठोरीभन्दा थोरै पश्चिम चितवनमा बाल्मिकी आश्रम छ । जहाँ लव र कुशको जन्म भएको, शिक्षा दिक्षा लिएको र रामले छोडेको अश्वमेध घोडा समेत लवकुशले पक्रेर बाँधेको सुनेका छौं ।’ घोडा बाँधेको खम्बा अझै त्यहाँ रहेको छ । त्यो जोसुकैले देख्न सक्छ । उक्त कुरा रामायणमा पनि उल्लेख छ ।
त्रेतायुगमा सीता वनवासमा जाँदा बसेको सीता गुफा ठोरीकै वडा नम्बर २ मा नै रहेको छ । बाल्मिकी आश्रम र अयोध्यापुरी भने ठोरीको नजिकै हालको चितवनमा पर्छ
ठोरीकै हालको वडा नम्बर ३ साविकको निर्मलवस्ती गाविसमा रामनगर भन्ने ठाउँ पनि छ । यी ठाउँका नाम परापूर्वकालबाट नै सुन्दै र भनिदै आएको सापकोटाको भनाई छ । ‘पहिले जहाँ जहाँ राम त्यहाँ अयोध्या भनिन्थ्यो । पेटभरी खान समेत नपुग्ने नेपालीहरुले ऐतिहासिक ठाउँको अध्ययन अनुसन्धान र प्रवद्र्धन गर्न सकेनौं ।’ उनले भने ।
प्रमको कुरामा सत्यता
रामायणमा वर्णन गरिएको कुरा जनकपुर र अयोध्याको सम्बन्ध अनि रथ र दूरीको विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरामा सत्यता रहेको माडीबासीको भनाई छ । सापकोटाका अनुसार बाल्मिकी आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार ( कुवा ) सबै छ । ‘अयोध्यापुरी चाँही माडीमा पर्छ । अयोध्यापुरी ठोरीभन्दा करिब १५ किलोमिटर टाढा चितवन पर्छ ।’ ठोरीको सरस्वती मा.वि.का प्रधानाध्यापक केशव प्रसाद रेग्मीले भने ‘बाल्मिकी आश्रम नारायणी, रेवा र रापती नदिको छेउमा नै छ । रामायणमा बाल्मिकी आश्रम तीनवटा नदिको छेउमा पर्छ भनी उल्लेख गरिएको छ । यस्तो संयोग अरु ठाउँमा छैन ।’
बाल्मिकी आश्रम यहाँ भएपछि त्यसैको आसपासमा अयोध्या हुने कुरा रामायणमा पनि उल्लेख हुनुले ठोरी आसपासको स्थान ऐतिहासिक हो । यसको गम्भिर अध्ययनको खाँचो रहेको रेग्मीको भनाई छ ।
अयोध्यापुरी ठोरी छेवैमा
‘माडी नगरपालिकाको वडा नम्बर ७ र ८ भएको ठाउँ साविकको अयोध्यापुरी गाविस हो । अहिले नयाँ संरचनामा त्यो माडी नगरपालिकामा पर्छ’ ठोरीका स्थानीय तथा शिक्षक प्रेम लामाले बताए । पहिले वेतियासम्म नेपाल थियो । इण्डियाको रामनगरमा नेपालीको बस्ती अझै पनि छ । तर त्यो अहिले भारतमा पर्छ । ‘नेपालको बाल्मिकी आश्रम छेउमा भएको भारतको जंगललाई उनीहरुले पनि बाल्मिकी टाइगर नाम राखेका छन् । त्यो रामनगरसँग पनि जोडिएको छ’ उनले भने ।
सीता गुफामा मन्दिर बनाउन बजेट विनियोजन
ठोरी गाउँपालिकाले सोमबार जारी गरेको पालिकाको नीति तथा कार्यक्रममा पनि सीता गुफामा मन्दिर बनाउने र मेला लगाउने भनी बजेट विनियोजन भएको छ । प्रधानमन्त्रीले बोल्नु पूर्व कार्यक्रममा पारित भइसकेको ठोरीका अध्यक्ष पीएल श्रेष्ठले बताए । ठोरी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि सीता गुफामा मन्दिर बनाउन ७ लाख र त्यहा प्रचारप्रसारका लागि मेला लगाउन डेढ लाख विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताए ।
आगमी बर्ष धार्मिक पर्यटकलाई सीता गुफामा आउन जान सहज होस् भनी झोलुंगे पुल पनि बनाउने योजना बनाइसकिएको छ । ‘सम्भव भए चालुसम्म जति सक्दो चाँडो झोलुंगे पुलको पनि काम अगाडी बढाइन्छ’ उनले भने । गाउँपालिकाले बजेट छुट्याएकै दिन मुलुकका प्रधानमन्त्रीले समेत ठोरीको चर्चा गरेपछि ठोरीवासीको मंगलबार नै सीतागुफामा भिड लागेको छ । धार्मिक पर्यटकको अहिले नै भिड बढेको स्थानीय प्रेम लामाले बताए ।
रामायणमा उल्लेख भएका ती ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिका र यसको आसपास छन् । त्यसको अध्ययन अनुसन्धान भएको छैन । न त राज्यले नै यता तर्फ ध्यान दिएको छ । त्रेता युगका राजा जनककी पुत्री जानकी ( सीता ) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरु सीता र रामको महिमा सुनाउँछन् । बाल्मिकी आश्रम पनि नजिकै छ । अनि अयोध्यापुरी त छिमेकमा गाविस नै थियो । यो सबैकुरा एक आपसमा मेलखाने भएकोले यसमा सत्यता हुन सक्ने ठोरीबासीको भनाई छ ।