सोचौं, धुरीखाँबो भाँचिए घरै भत्कन्छ

विगत केही समययता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवादका कारण देशैभरका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तक अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भंग गर्दै दुई मुख्य कम्युनिस्ट पार्टीको एकीकरणपश्चात् निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भनेझैं हुने त होइन ? यस प्रश्नले सिंगो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौं तर ढुक्क हुन सकेका छैनौं ।

धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरूको बीचमा एकथान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको मात्र होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणालीसहितको संघीयताकै भविष्य पनि जोडिएको छ । अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियतासमेत अविभाज्य ढंगले आबद्ध छ । कुनै पनि निर्णय गर्नुअघि कमरेडलाई यस यथार्थलाई मनन गरिदिनुहुन आग्रह गर्दछु ।

३१ महिनाअगाडि हामी जनतासमक्ष पुगेका थियौं, मुख्यतः दुईवटा प्रतिबद्धता लिएर । हामीले भनेका थियौं– हामीलाई मत दिनुहोस्, हामी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्छौं । हामीलाई मत दिनुहोस्, हामी मुलुकलाई समृद्धि दिन्छौं । ‘सुखी नेपाली र समृद्ध नेपाल’को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो । सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झन्डै दुई तिहाइ मत दिनुभयो । सम्झौं ती मतदातालाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पंक्तिबद्ध भएर, पालो कुरेर मत खसाउनुभयो । सम्झौं ती मतदातालाई, जसले खाली खुट्टा शीत टेक्दै आएर मत खसाउनुभयो ।

राज्यको नेतृत्व गर्ने अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नको सामना गर्न बाध्य हुनुपर्नेछ

सम्झौं ती मतदातालाई, जसले बिमारी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम बेहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो । हाम्रो पक्षमा खसेका मतहरू कागजका टुक्रा मात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भर्पाइ थिए । कुनै पनि निर्णय गर्नुपूर्व एकपटक ती मतदाताको आँखामा छचल्किएको उज्यालो सपना र कथम्कदाचित् कुनै अप्रिय दुर्घटना भएमा त्यसका कारण ती सपना भंग हुँदा भरिने निराशा र विषादका आँसु सम्झिनुहोस् ।

हाम्रो यात्रा त भर्खर सुरु भएको छ । राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौं, त्यो पनि अझै अधुरो–अधुरो र कमजोर छ । यी उपलब्धिको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ । समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ । समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा । यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने शहीदहरूका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ । परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ । बेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरूलाई सम्बोधन गर्न बाँकी नै छ । आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरूको अन्योलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ ।

अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौंलाख प्रवासीको मनमा विश्वास भरिदिन बाँकी नै छ । नेताहरू भन्नुस् त † यी सबै काम अधुरै छाडेर, मानौं गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर, कहिले पदका विवादमा त कहिले वरीयताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र ? कुनै पनि निर्णय गर्नुपूर्व, एकचोटि झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकलाई हेरेर, यी प्रश्नहरूमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु ।

मुलुकमाथि बहुआयामिक संकटहरू थपिँदै छन् । विश्वव्यापी रूपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ । हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौं, यससँगै यसलाई कमजोर गर्ने, मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ । विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई सम्बोधन गर्न सकिएन भने त्यसले थपिदिने संकट पनि हाम्रासामु छ । हाम्रो युगकै सबैभन्दा गम्भीर स्वास्थ्य चुनौती र आर्थिक धक्का बोकेर आएको कोरोना महामारीले निम्त्याउने बहुआयामिक संकटको सामनाको तयारी गर्नु बाँकी नै छ । आँखैअगाडिका यी चुनौतीलाई नदेखेझैं आँखा चिम्लेर या केही होइनझैं गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन । कुनै पनि निर्णय गर्नुअगाडि सम्मुख मडारिरहेको संकटलाई गम्भीरतापूर्वक नियाल्नु र विचार गर्नुपर्ने आवश्यकता छ ।

आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको । पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यस’bout केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन । हाम्रा बैठक मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्बाह या निरपेक्ष रहँदा जनताको खबरदारीको आंैला हामीतिर सोझिने स्थिति बनिरहेको छ । अघिल्लो पुस्ताका नेताहरूप्रति उच्च सम्मान छ । तपाईंहरूले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलब्धि उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाईंहरूको अवस्थितिप्रति सहमति छ ।

तर, आफ्ना असमझदारीको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने, हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरूको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न बाध्य हुनुपर्नेछ । यसो भयो भने इतिहासले तपार्इंका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिजोको तपार्इंहरूको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ? कुनै पनि निर्णयमा पुग्नुपूर्व कमरेडले एकचोटि आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुधाउनुहुन अनुरोध छ ।
(फेसबुक वालबाट)

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर