८० करोड लगानीमा बनेको काठमाडौ–गोसाईंकुन्ड पैदलमार्ग सुचारु गर्न के गर्नुपर्छ ?

तराइका फराकिला फाँट, त्यस्तै फराकिला पहाडका छाती र माथि उत्तरैभरि फैलिएका हिमाली शीर र जहाँबाट जता उकालो लागे पनि पदयात्रा सुरु भइहाल्ने भुगोल । समुन्द्री सतहबाट ५९ मि. देखि विश्वशीर सगरमाथा (८८४८ मि.) सम्म फैलिएको ‘पदयात्रा स्वर्ग’का रुपमा विश्वपरिचित यो भुस्वर्गमा पहिल्याउनु पर्ने, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्ने असँख्य पदमार्गहरु छन् । तिनको पहिचान, प्रवद्र्धन र प्रचारप्रसारले मात्र नेपाल यो पुस्ताको मात्र नभई आगामी पुस्ताको समेत कहिल्यै नभुल्ने अनुपम पदयात्रा अनुवभ गन्तव्य रहिरहनेछ ।

चिरपरिचित गन्तव्य गोसाईंकुन्ड पुग्ने वैकल्पिक, विशिष्ट र आकर्षक तेस्रो पदमार्ग (बुढानिलकण्ठ–गोसाईंकुन्ड) ले नेपालको पर्वतिय पर्यटनमा एउटा मौलिक स्वरुपसहित खास पदमार्गको पहिचान बनाउने यथेस्ट यसका आधार छन्

सन् ६० को दशकमा कोर्नेल जिम्मी रोबर्ट्ले नेपालमा पहिलोपल्ट व्यवसायिक रुपमा पर्यटकलाई पदयात्रा गराएपछि सुरु भएको पदयात्राको स्वरुप र छनोटहरु समयसँगै विस्तार भएका छन् र पदयात्रीहरुका रोजाइहरु पनि बदलिएका छन् । पटकपटक आइसकेका पदयात्रीमात्र होइन, नयाँ आउनेहरु समेत नयाँ पदमार्गको खोजीमा छन् । सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधतालाई संरक्षण, विकास र प्रबद्र्धन गर्दै नयाँ–नयाँ गन्तव्यहरुको खोजी त आवश्यक छ नै, एकै गन्तव्यबाट बहुआयामिक लाभ लिन सो गन्तव्यमा पुग्न समेत फरकफरक पदयात्रा मार्गको पहिचान र प्रवद्र्धन पनि उत्तिकै जरुरी छ । यसै सन्दर्भमा यहाँ बुढानिलकन्ठ–गोसाईंकुन्ड पदमार्गको चर्चा गरिएको छ । ८ देखि १० दिनसम्मको यो पदमार्ग काठमाडौंबाटै पदयात्रा सुरु भई गोसाईंकुन्ड पुग्ने अति विशिक्ष्ट पदयात्रा मार्ग हो । धुन्चे–गोसाईंकुन्ड र सुन्दरीजल–गोसाईंकुन्ड गरी दुई अरु दुई पदयात्रा मार्ग पहिलेदेखि नै प्रयोगमा छन् ।

यो सिंगो मार्गको पदयात्रा, अवलोकन, स्थानीय र जनप्रतिनिधीसहरुसँग अन्तरकृया, वान टु वान सम्वाद र अन्य विभिन्न सन्दर्भ सामाग्री समेतको अध्ययनबाट यो पदमार्ग बहुसम्भाव्य मार्गको रुपमा देखापर्दछ । देशको राजधानीको बुढानिलकण्ठदेखि सुरु भएर सिक्रे–मानेभञ्ज्याङ–समुन्द्रटार–बाघमारा–सागरकुन्ड–राउचुली–गोसाईंकुन्ड हुँदै धुन्चेसम्म पुग्ने यो पदमार्गको अथाह पूर्वाधार पहिल्यै बनिसकेकोे छ । नेपाल सरकारले बहुबर्षिय योजना अनुरुप झन्डै ८० करोड रुपियाँ खर्चेर बुढानिलकन्ठदेखि गोसाईंकुन्डसम्मै ढुँगे सिंढी पदमार्ग निर्माण गरेको हो । सम्भवत नेपालमै सरकारले यो सबैभन्दा बढी रकम लगानी गरी निर्माण गरेको पदमार्ग हो । तर, प्रवद्र्धन, प्रचारप्रसार र अद्यावधिक कर्मको अभावमा यो यसै जीर्ण हुने अवस्थामा समेत पुगेको स्थिति छ । समयमै पदमार्गको उपयोग नभएको र बिग्रे, भत्केका भागहरुमा आवश्यक मर्मतसम्भार नभएको स्थिति रहेको सन्दर्भमा यसलाई तत्काल वा सकेसम्म चाँडो सुचारु गर्नका लागि केही आधारभूत सुविधाहरुको व्यवस्था र केही मर्मतसम्भार तथा पुर्ननिर्माणकोे काम गरिदिनेबित्तिकै यो पदमार्ग गन्तव्य र पदमार्ग दुवैका हिसाबले पूर्ण रुपमा सफल, सवल र विशिस्ट हुने देखिन्छ ।

गोसाईकुण्ड–धुन्चे, गोसाईंकुण्ड–हेलम्बु–मेलम्ची, लाङटाङ, फिकुरी, तामाङ हेरिटेज, रुबी, गणेश हिमाललगायत अन्य गन्तव्य तथा पदमार्गसँग यो पदमार्गको अन्तरसम्वद्ध रहेको छ । बुढानिलकन्ठ, शिवपुरी, दुप्चेश्वर, तादी, नौकुन्ड र गोसाईंकुन्ड नगर/गाउँपालिका हुँदै अगाडि बढ्ने यो पदमार्गले काठमाडौं, नुवाकोट र रसुवा जिल्लालाई समेटेको छ । शिवपुरी नागर्जुन र लाङटाङ राष्ट्रिय निकुञ्ज समेटिएको पदमार्गले तल्लो सतहदेखि ४६०० मिटरसम्मको उचाई तय गर्दछ ।

पदमार्गका विशेषता

१) दुई राष्ट्रिय निकुञ्ज ।

२) अनगिन्ती पवित्र हिमाली ताल ।

३) विविध जातजाति, उनीहरुको जनजीवन, चाडपर्व र संस्कृतिको अवलोकन ।

४) सुगम राजधानी शहरबाट सुरु भएर अति दुर्गम स्थानसम्म समेटिएको ।

५) प्राकृतिक, जैविक, भौगालिक र साँस्कृतिक विविधताले भरिपूूर्ण ।

६) १४०० मिटरबाट ४६०० मिटरसम्मको उचाइगत विविधता ।

७) बौद्ध र हिन्दु धर्मावलम्बीहरुको लागि धार्मिक रुपले प्रसिद्ध क्षेत्र ।

८) भ्रमण गन्तव्यहरुमा सर्किटको महत्व, आकर्षण र प्रभावकारिता बढिहरको सन्दर्भमा शिव सर्किट
पशुपतिनाथ–दुप्चेश्वर–गोसाईकुन्ड) को रुपमा विकास गर्न सकिने ।

९) महत्वूर्ण पौरारणिक ग्रन्थहरु हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिवकथा, किंवदन्ती र विश्वासले भरिएको मार्ग ।

१०) गुफा, ओडार, भ्युप्प्वाइन्टहरको प्रचुर उपलब्धता ।

११) चौंरीगोठ, भेडीगोठ अवलोकनबाट हिमाली गोठ र गोठालो जीवन’bout जानकारी लिन सकिने ।

१२) साहसिक पर्यटनका लागि पनि उपयुक्त ।

१३) टाढाटाढासम्मको उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकन अवसर प्राप्त हुने भएकोले पर्यटकको रोजाइको पदमार्ग हुने ।

१४) यस पदमार्गलाई प्रयोग गर्दा रसुवा जिल्लाको अतिरिक्त नुवाकोट जिल्लाका भुभागहरुले पनि पर्यटन व्यवसायबाट लाभान्वित हुने अवसर प्राप्त गर्ने ।

सुझाव

देशको राजधानीको बुढानिलकण्ठदेखि सुरु भएर सिक्रे–मानेभञ्ज्याङ–समुन्द्रटार–बाघमारा–सागरकुन्ड–राउचुली–गोसाईंकुन्ड हुँदै धुन्चेसम्म पुग्ने यो पदमार्गको अथाह पूर्वाधार पहिल्यै बनिसकेकोे छ

१) बुढानिलकन्ठ गोसाईकुन्ड पदमार्गको तल्लोबेल्ट (खासगरी अल्छेदेखि बाघमारासम्म)का पदमार्गमा धेरै ढुँगाहरु हिनामिना भएको, बगाएको, अतिक्रमित भएको पाइयो । त्यसको पुनर्निमाण आवश्यक ।

२) निकुञ्ज क्षेत्रमा नसमेटिएका पदमार्गहरु (खासगरी नुवाकोट जिल्लाको अल्छेदेखि बाघमारासम्म)लाई गाउँगाउँमा विस्तारित सडक संजालले अतिक्रमित गरेको पाइयो । तिनलाई व्यवस्थित बनाउन खास योजना तर्जुमा गरी सोही अनुसारको तरिका अपनाउनु पर्ने ।

३) समग्र पदमार्गमा (बुढानिलकन्ठदेखि गोसाईंकुन्डसम्मैं) साइनेज नदेखिएकाले त्यसको व्यवस्था गर्नुपर्ने ।

४) पदमार्गमा ठाउँठाउँमा (खासगरी निकुञ्ज क्षेत्रभित्र) खानेपानीको व्यवस्था गर्नुपर्ने ।

५) ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्ने ।

६) ‘फोहोर मलाई’ डस्टविनको व्यवस्था गर्नुपर्ने ।

७) ठाउँठाउँमा टिब्रेक स्टेसन (जहाँ पानी र ओतको पनि व्यवस्था होस्) को व्यवस्था गर्नुपर्ने ।

८) खासखास ठाउँहरुमा आवश्यकता र सुरक्षाको कोणबाट अध्ययन गरी क्याम्पिङ स्टेसन तोकिनुपर्ने ।

९) स्याउरेको भीरमा पनि बाटो मर्मत गर्नुपर्ने ।

१०) ठाउँठाउँमा आरामगृह बनाउनुपर्ने ।

११) ठाउँठाउँमा धर्मशाला बनाउनुपर्ने ।

१२) स्वास्थ्य शिविरको व्यवस्था गर्नुपर्ने ।

१३) आपतकालीन उद्धारको लागि खासखास ठाउँमा हेलिप्याड बनाउनुपर्ने ।

१४) सम्भाव्यता अध्ययन भ्रमण सम्पन्न भइसकेको र ‘जीआइएस’ म्यापिङ पनि अध्ययन भ्रमणको सार्थ
पुरा गरिएकोले ट्रेकिङ म्याप प्रकाशन गरिहाल्न अत्यावश्यक देखिन्छ ।

१५) पुरै पदमार्ग क्षेत्रमा सहज सुचनासम्पर्क सहज होस् भनी सम्बन्धित निकायसँग समन्वय गरी फोन नेटवर्कलाई पहुँचयोग्य बनाउनुपर्ने ।

१६) ठाउँठाउँमा सोलार चार्जिङ स्टेसनहरु बनाउनुपर्ने ।

१७) निकुञ्ज क्षेत्रबाहेकको पदमार्ग क्षेत्रमा पर्ने गाउँबस्तीमा होमस्टे तालिम दिई यो पदमार्गलाई होमस्टे पदमार्गको रुपमा पनि विकास गर्न सकिनेछ ।

१८) यो पदमार्गमा हाल सम्भव रहेको क्याम्पिङ ट्रेकिङलाई टीहाउस ट्रेकिङको रुपमा विकास गर्न पदमार्ग क्षेत्रमा आवश्यकता अनुसार निजी होटल स्थापनाको लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर अनुमति आवश्यक रहेको भन्ने स्थानीयको मागलाई सम्बोधन गर्नका लागि यथोपहल गर्नुपर्ने ।

१९) फोहोर व्यवस्थापनको लागि पदमार्गका विभिन्न ठाउँमा ‘मलाई फोहोर’ ट्ंयाकीको व्यस्थापन हुनुपर्ने ।

२०) ताल संरक्षण योजना खासगरी सागरकुन्डका लागि र प्रत्येक तालमा त्यसको नाम र अन्य जानकारीसहितको सुचना बोर्ड राखिनुपर्ने । त्यसो गर्दा त्यहाँकै स्थानीय ढुँगालाई प्रयोग गर्ने ।

२३) ठाउँठाउँमा सुरक्षा पोस्टहरुको व्यवस्था गर्नुपर्ने ।

२४) केही ठाउँमा सूचना केन्द्र राख्नुपर्ने ।

२५) क्याम्पिङ साइटहरु बनाउनुपर्ने ।

२६) होरोहोमा १ किलोमिटर पैरो र सिंढी पनि बगाएकोले पदमार्ग पुर्ननिर्माण गर्नुपर्ने ।

२७) राउचुलीदेखि झ्याकुमचुली हुँदै छेराडाँडासम्म पुग्ने बैकल्पिक पदमार्गलाई पनि चलायामान बनाउने हो भने त्यहाँ पदमार्ग निर्माण गर्नुपर्ने । त्यही खण्डको खुकुरीधारलगायत कतिपय ठाउँ निकै जोखिमयुक्त भएकोले केही ठाउँमा रेलिङबार अनिवार्य देखिन्छ । हावा बेस्सरी चल्ने हुनाले झ्याकुमचुली भ्युप्वाइन्टमा सेल्टर बनाउनुपर्ने । र, यो तलुनात्मक रुपमा छोटो र दृश्यावलोकनका लागि निकै आकर्षक रहेको छ ।

अन्त्यमा, चिरपरिचित गन्तव्य गोसाईंकुन्ड पुग्ने वैकल्पिक, विशिष्ट र आकर्षक तेस्रो पदमार्ग (बुढानिलकण्ठ–गोसाईंकुन्ड) ले नेपालको पर्वतिय पर्यटनमा एउटा मौलिक स्वरुपसहित खास पदमार्गको पहिचान बनाउने यथेस्ट यसका आधार छन् ।

(लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल रसुवा नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भर्खरै सम्पन्न बुढानिलकन्ठ–गोसाईंकुन्ड पदमार्ग सम्भाव्यता अध्ययन भ्रमणबाट फर्केका हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए